PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीले खोजेका झापाका विश्वदीप के गर्दैछन् अहिले?



प्रकाश भण्डारी

ओलीले खोजेका झापाका विश्वदीप के गर्दैछन् अहिले?

काठमाडौं : संविधान सभा सदस्य निर्वाचन २०६४ को परिणाम संसदीय राजनीतिका खेलाडी कांग्रेस र नेकपा (एमाले) का लागि अपेक्षित थिएन। जनयुद्धको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीका लागि पहिलो थियो - संविधान सभाको निर्वाचन। फस्ट एटेम्टमै २२० ठाउँमा जितेर पहिलो दल बन्यो माओवादी। कांग्रेसले ११० र नेकपा एमालेले १०३ सिटमै चित्त बुझाए।

२०६४ चैत २८ गते भएको निर्वाचनमा एमाले र कांग्रेस नराम्ररी पराजित त भए नै, शीर्ष नेतालेसमेत हार बेहोरेर फर्कनुपर्‍यो काठमाडौं। पार्टीको लज्जास्पद हार भएको भन्दै एमालेका तत्कालीन महासचिव माधव नेपालले पदबाटै राजीनामा दिए। एमालेका तत्कालीन शीर्ष नेता केपी ओली पनि पराजितहरुको सूचीमा समेटिए।

ओली त्यतिबेलासम्म एमालेभित्रको एक खेमाको नेतृत्वमा पुगिसकेका थिए। किनभने २०६५ फागुनमा भएको नेकपा एमालेको आठौं महाधिवेशनमा तत्कालीन अध्यक्ष झलनाथ खनालका प्रत्यासी थिए ओली।

डेढ दशकअघिको त्यो हार

संसदको निर्वाचनमा मात्रै होइन ओलीका लागि वर्ष दिनपछि भएको पार्टी महाधिवेशन पनि अर्को हार थियो। संविधानसभा २०६४ को निर्वाचनमा ओली तत्कालीन माओवादीका उम्मेद्वार विश्वदीप लिङ्देनसँग पराजित भए। लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीको पक्षमा १४ हजार ९ सय ५९ मत आयो।

ओलीले भने यो १५ वर्षअघि भएको पराजयलाई फेरि स्मरण गरेका छन् प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ अघि। साउन १२ गते झापाको दमकमा पुगेका ओलीले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डेढ दशक अघिको चुनावी परिणामलाई कार्यकर्तामाझ ताजा गराइदिए।  ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ?’ ओलीले कार्याकर्तालाई व्यङ्ग्यात्मक शैलीमा सोधे।

ओलीका विरुद्धमा अहिले पाँच दलीय सत्ता गठबन्धन छ। स्थानीय तह निर्वाचनमा एमालेलाई सन्तोषजनक मत नआएपछि ओली पछिल्लो समय पार्टीभित्रको अन्तर्घातलाई पराजयको कारण देखाइरहेका छन्। माओवादी केन्द्रसँग पार्टी एकता गरेर चुनावी गठबन्धनका साथ २०७४ को निर्वाचनमा होमिएका ओलीले झापा ५ बाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीको भन्दा दोब्बर बढी मत ल्याए। अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउँदा ओलीको पक्षमा ५७ हजार १ सय ३९ मत आएको थियो।

तत्कालीन नेकपा पहिलो पार्टी बन्यो २०७४ को निर्वाचनमा। हाल भने ओलीको राजनीतिक अवस्था २०७४ सँग मेल खादैन। नेकपा विभाजन भएर एमाले र माओवादी अलगअलग मात्रै भएका छैनन् एमाले पनि विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको छ। सत्ता गठबन्धनका कारण हुनसक्ने पराजयलाई ओलीले नकारेका छैनन्। त्यसैले पनि ओ‌लीले कार्यकर्तालाई सम्झाउने गरेका छन् पार्टीको हारबारे। पार्टी घेराबन्दीमा परेको आरोप त ओलीले लगाइरहेका छन् नै स्थानीय तह निर्वाचनको परिणाम लगतै उनले सत्ताको दुरुपयोग गरेर गठबन्धनले चुनाव जितेको अभिव्यक्ति दिएका थिए।

ओलीले खोजेका लिङ्देन अहिले के गर्दै छन् त? ‌

ओलीलाई २०६४ को चुनावमा हराएका लिङ्देनको राजनीतिमा ब्यापक फेरबदल आइसकेको छ, यो डेढ दशकमा। माओवादीबाट उम्मेदवार बनेर लिङ्देनले ओ‌लीलाई हराएका थिए। तर,उनी अहिले माओवादी केन्द्रमा भने छैनन्।

बरु कम्युनिस्ट बिचार नै परित्याग गरिसकेका छन् लिङ्देनले। अझ रोचक त के छ भने उनी यसबिचमा सोझै कम्युनिस्ट विचार त्यागेर कांग्रेसमामात्रै पुगेका छैनन् - बिचमा मधेश केन्द्रित दलहरुको लसपसमा समेत पुगे। तर लिङ्देन भने त्यसलाई स्वीकार्दैनन्। माओवादीपछि अरु पार्टीमा नलागेर आफू सीधै कांग्रेस प्रवेश गरेको उनको दाबी छ।

किन छाड्नुभयो त माओवाद? पार्टी परित्यागबारे खुल्न चाहदैनन् लिङ्देन। बरु उनी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबारे जोडतोडले बोल्न चाहन्छन्।

हुन त उनले २०६४ को संविधानसभाको निर्वाचनपछि भएका प्रतिनिधि सभाका निर्वाचनमा भाग नै लिएनन्। ‘मैले त्यसपछि संसदीय निर्वाचन नै लडिनँ, त्यो अरु साथीहरुलाई छोड्दिएँ,’ उनले भने। २०७४ को प्रतिनिधि सभाको निर्वाचनका बेला संघीय समाजवादी फोरमले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीविरुद्ध लिङ्देनलाई उम्मेदवार तोकेको थियो। त्यही बेला उनी नेपाली कांग्रेस प्रवेश गरे। लिङ्देन यो बेलाको आफ्नो राजनीतिक अदलबदललाई सम्झन चाहदैनन्। ‘पार्टीको जिम्मेवारीमा बसेर काम गरे। तपाइँ यति बुझ्नुस् न - अहिले म नेपाली कांग्रेसमा छु। नेपाली कांग्रेसको जिल्ला तहको नेता छु। म फोरमसोरम कहीँ पनि गइनँ,’ संघीय समाजवादी फोरम प्रवेश गरेकोबारे सीधै अस्वीकार गरे लिङ्देनले।  

अहिले उम्मेदवारीका लागि आफू तयारी गरिरहेको लिङ्देनको भनाइ छ। झापा ५ बाटै उम्मेदवारीको घोषणा गर्ने उनले बताए। भने, ‘पार्टीमा आकांक्षा राख्ने धेरै अग्रजहरु हुनुहुन्छ। म पनि उम्मेदवारीको तयारी गर्दै छु।' फेरि ओलीविरुद्धै उम्मेद्वारी? प्रश्न खस्न नपाउँदै उनको जवाफ थियो, 'मेरो उम्मेदवारी त्यही क्षेत्रमा हो। मेरो देवीदेवता नै यही छन् अनि म कहाँ जानु त?’

डेढ दशकअघिको परिणाम दोहोर्‍याउने दाउ

ओलीसँगै प्रतिस्पधार्धाका लागि लिङ्देन कांग्रेसबाट चुनावी मैदानमा आउने तयारीमा लागेका हुन्। डेढ दशक अघिका आफ्ना निकटतम प्रतिद्वन्द्वी ओलीलाई लिङ्देनले भने माफियाको नाइके भएको आरोप लगाए। ‘पुरानै प्रतिस्पर्धी हुन्छौ होला। अहिले समयले त्यस्तै बताइरहेको छ। माफियाका नाइकेहरुलाई पराजित गर्न मेरो उम्मेदवारी हो,’ उनले भने। लिङ्देन १५ वर्षअघिको चुनावी नतिजालाई दोहोर्‍याउन चाहन्छन्।

ओलीले चुनाव जितेर उटपट्याङ गफ गरेको आरोप छ लिङ्देनको। गर्नै नसकिने काम गर्छु भनेर जनतालाई भ्रममा पारेर चुनाव जितेको र यसपटक आफूले हराएर देखाइदिने लिङदेनले बताए। ‘उट्पट्याङ गफ गरेर मतदाता ठग्नेहरुलाई। यिनीहरुको ठगीधन्दा सधैंका लागि बन्द गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनको तर्क छ। ओलीले २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते गरेको प्रतिनिधि सभाको विघटनलाई पनि लिङ्देन चुनावी नारा बनाउन चाहिरहेका छन्। संसदको हत्यारा भएको भन्दै लिङ्देन ओलीको आलोचना गर्छन्। ‘लोकतन्त्रका हत्याराहरुलाई/संसदको हत्यारालाई पराजित गर्न। झापा ५ का सचेत मतदाताको साथ लिएर मंसिर ५ को चुनावमा मेरो उम्मेदवारी दर्ता गर्ने बाटोमा जाँदै छु,’ उनी पुन दृढ सुनिए।

केन्द्रमा बसेर जहिल्यै ओलीले जनतालाई ‘गफ’दिएको लिङ्देनको आरोप छ। काठमाडौंबाट आएर 'टुरिस्ट'को रुपमा ओली झापामा उम्मेदवार हुने बाटो बन्द गर्नु आफ्नो उद्देश्य भएको उनको भनाइ छ। ‘बालकोट बसेर राजनीतिको आवरणमा झापा ५ मा आएर सधैं जनता लुट्नेहरुलाई मतदाताले दण्डित गर्न मंसिर ४ पर्खेर बस्नुभएको छ,’ लिङ्देनले थप तर्क पेश गरे।

शीर्ष दलका शीर्ष नेतालाई जिताउने नेपाली राजनीतिको परम्परा नै छ। त्यसैले ओलीको क्षेत्रमा कांग्रेसको जित त्यति सहज छैन। त्यसो त पाँच दलीय गठबन्धन तालमेल गरेर चुनावमा जाँदैछन्। यस्तो अवस्थामा लिङ्देनले टिकट पाउनै महाभारत हुनसक्छ। टिकट पाएमा ओलीविरुद्ध उनको उपस्थिति रोचक हुने देखिन्छ। यद्यपि जिल्लाकै कांग्रेसका शीर्ष नेताले भने लिङ्देनले टिकट नपाउने दाबी गरे।  'उनी कांग्रेसमा छन्। अहिले त्यस्तो प्रभाव छैन,' झापा कांग्रेसका एक नेताले नाम नखुलाउने शर्तमा भने।

ओलीको मनोदशा : अघिल्लो निर्वाचनमा देउवाको जस्तै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell