PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

सिट बाँडफाँटबारे पाँच दलीय कार्यदलको बैठक : आन्तरिक 'वर्कआउट'पछि सोमवार 'फाइनल'



पहिलोपोस्ट

सिट बाँडफाँटबारे पाँच दलीय कार्यदलको बैठक : आन्तरिक 'वर्कआउट'पछि सोमवार 'फाइनल'
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनले टिकट बाँडफाँडको लागि पहिले अआफ्नो दलभित्र आन्तरिक तयारी गर्ने भएको छ। बिहीवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको कार्यदलको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा छलफल भएको कार्यदलका सदस्य देव गुरुङले जानकारी दिए। 'सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा छलफल भएको छ। आज यसबारे सकारात्मक हिसाबले कुराकानी भयो,' बैठकपछि गुरुङले भने।

यसका लागि पहिले पाँचै दलले आन्तरिक तयारी गर्ने अनि अर्को बैठकले टुङ्ग्याउने गरी अघि बढ्ने सहमति बैठकमा भएको गुरुङले बताए। सत्ता गठबन्धनले टिकट बाँडफाँटका लागि गठन गरेको कार्यदलको तेस्रो बैठक सोमवारका लागि तोकिएको छ।

'सैद्धान्तिक मान्यताको आधार मोटामोटी टुंगिने गरी अघि बढ्ने छ। आफ्नोआफ्नो दलमा वर्कआउट गरेर आगामी बैठकमा छलफल गर्ने कुरा भयो। त्यही मिटिङबाट फाइनालइज गर्ने कुरा भएको छ,' गुरुङले भने, 'आउँदो मिटिङ साउन ३० गते बस्ने छ।'

सिट बाँडफाँटको आधार अघिल्लो निर्वाचनको परिणामदेखि अहिलेको अवस्थासम्मलाई मान्ने गरी अघि बढ्ने उनको भनाई रह्यो। 'संसदमा पोजिसन के छ, विगतको निर्वाचनको अवस्था कस्तो छ?' गुरुङले भने। एकीकृत समाजवादीको बारेमा फरक प्रकृतिको मोडालिटी बन्न सक्ने उनको भनाई थियो। 'एकीकृत समाजवादीको अहिले अलि फरक छ। त्यसैले एउटै सिद्धान्तले पनि काम गर्दैन होला,' उनले भने।

साउन २० गते गठन भएको कार्यदलको पहिलो बैठक साउन २३ मा बसेको थियो।

पहिलो बैठकले संयोजकमा नेपाली कांग्रेसका पूर्व महान्त्री कृष्ण प्रसाद सिटौला चयन गरेको थियो। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३,नेकपा माओवादी केन्द्रबाट २,नेकपा एकीकृत समाजवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी नेपाल जसपाबाट २ र जनमोर्चाबाट २ जना सदस्य छन्।

कार्यदललाई मापदण्ड बनाएर प्रतिवेदन बुझाउन साउन अन्तिमसम्मको समय सीमा तोकिएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेश सभाको ३३० सिटको बाँडफाँटका लागि कार्यदल मार्फत सत्तारुढ दलहरुले गृहकार्य गरिरहेका हुन्।

यसअघि स्थानीय तह निर्वाचनमा पनि गठबन्धनले कार्यदल बनाएर सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। तर,उक्त मापदण्ड अनुसार महानगर र उपमहानगरमा मात्रै गठबन्धन भएको थियो भने बाँकी स्थानीय तहमा स्थानीय संयन्त्रमार्फत गठबन्धन गर्ने निचोड सत्ता गठबन्धनले निकालेको थियो।

सरकारले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। चुनाव घोषणा भए यत्ता सत्तारुढ दलहरु कुन दललाई कति सिट दिने भन्नेबारेमा आन्तरिक तथा गठबन्धनमा छलफलमा छन्। पहिलो बैठकमा आफ्नो दलभित्र छलफल गरेर दलको धारणा सहित दोस्रो बैठकमा बस्ने सहमति भएको थियो।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेले जितेका सिटलाई मात्र भागबण्डा गरेर अरु ठाउँमा सम्बन्धित दललाई नै उम्मेदवार उठाउन दिनुपर्ने प्रस्ताव कार्यदलको बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन्।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीले कति पाउँदैछन् सिट? एमालेको रणनीति यस्तो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell