PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मिति नजिकिँदै गर्दा समस्या जस्ताको त्यस्तै, ल्याण्डफिल साइट सारेर मात्र समाधान होला?



रिना थापा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मिति नजिकिँदै गर्दा समस्या जस्ताको त्यस्तै, ल्याण्डफिल साइट सारेर मात्र समाधान होला?

पोखरा : पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा बाधक बनेका समस्यामध्ये एक प्रमुख समस्या हो ल्याण्डफिल साइट। निर्माणधिन विमानस्थलदेखि जम्मा दूई किलोमिटरको दूरिमा पर्छ पोखराको ल्याण्डफिल साइट। यही वर्ष पुस १७ गतेदेखि विमानस्थलबाट उडान सुरु गर्ने मिति तय भइसकेको छ। तर, विमानस्थल संचालन गर्नु अगाडि समाधान गर्नैपर्ने समस्या भने जस्ताको तस्तै छ। पोखराको ल्याण्डफिल साइट कहाँ, कता र कहिले सार्ने टुंगो छैन। यता, उडानको मिति नजिकिँदै छ।

विमानस्थलको निर्माणकार्य सुरु भइसकेपछि पोखरा महानगरलाई ल्याण्डफिल साइट सार्न चारवर्षको अन्तरालमा बारम्बार पत्रचार भइसकेको छ। महानगरले भने समाधान निकाल्न अझै सकेको छैन। निर्वाचित हुनु अगाडि नै ल्याण्डफिल साइटको समस्या बारे अवगत भएका धनराज आचार्य अर्थमन्त्री जनार्दन शर्मा भेट्न काठमाडौं पनि पुगेका थिए। मतगणना भइरहेको बेला आफनो जीत सुनिश्चित भइसकेपछि अर्थमन्त्री भेट्न पुगेका प्रमुख धनराजले ल्याण्डफिल साइट स्थानान्तरण गर्नका लागि बजेट माग गरेका थिए। अर्थमन्त्री भेटेर आएका धनराजको त्यससमय प्रतिक्रिया थियो – चुनौती बनेको ल्याण्डफिल साइट यही बजेटमा समेटिएन भने फेरि ६ महिना १ वर्ष ढिलो हुन्छ। म ढिलो हुन चाहान्नँ।

प्रमुख पदमा निर्वाचित हुनु अगाडि नै समस्या समाधानमा अग्रसरता देखाएका धनराजलाई अहिले ल्याण्डफिल साइट टाउको दुखाइको विषय बनिरहेको छ। निर्वाचित भएर आइसकेपछि महानगरको पहिलो कार्यपालिका बैठकले ल्यान्डफिल्ड साइट पोखरा ३३ टिमुरपाटामा सार्ने निर्णय पनि गरेको थियो। जसलाई बजेटमा समेट्दै थप अध्ययन, जग्गा प्राप्ती र पूर्वाधार निर्माणका लागि बजेटपनि विनियोजन भयो। तर, स्थानियले विरोध जनाए। अहिले ल्याण्डफिल साइटको विषयमा केन्द्रबाट नै दबाब परिरहेको बेला प्रमुख धनराजलाई ल्याण्डफिल साइटको विकल्प खोज्न हम्मे परिरहेको छ।

यसअघि पनि महानगरले ल्याण्डफिल साइट सार्न खोजेको जग्गामा स्थानीयले विरोध जनाएका थिए। महानगरले पोखरा १४ बाच्छी बुडूवालाई फोहोर फाल्न प्रयोग गर्दै आइरहेको छ। जहाँ दैनिक १ सय ८० टन हाराहारीमा फोहोर जम्मा हुन्छ। निवर्तमान महानगर प्रमुख मानबहादुर जिसी रहँदा बसेको कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो। तर त्यहाँका स्थानीयले विरोध जनाएका थिए।

  प्रस्तावित साइट फोटो : श्याम मगर

ल्याण्डफिल साइट भन्दा व्यवस्थापनमा जोड

महानगरले ल्याण्डफिल साइट सार्नका लागि जहाँ जग्गा खोज्छ त्यतै स्थानियको विरोध हुन्छ। चारवर्षको अन्तरालमा पनि ल्याण्डफिल साइटको विकल्प खोज्न महानगर असक्षम बनिरहँदा अंग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ अर्थात् पुस १७ गतेदेखि विमानस्थल संचालनमा ल्याउने तयारीमै प्रश्न उठेको छ। विमानस्थल संचालनको तयारी अहिले अन्तिम चरणमा छ। प्रमुख आचार्यले प्रतिक्रिया दिएजस्तै विमानस्थाल संचालनमा ढिलो नबनाउन उपाय खोज्न हिँडिरहेका छन्  यतिबेला पनि पोखराका प्रमुख आचार्य धरान उपमहानगरपालिकामा छन्। धरान उपमहानगरले फोहोरलाई प्रशोधन गरेर ग्यासँ र मल निकालिरहेको छ। जसको अवलोकन गर्न पुगेका हुन् पोखरा महानगरका प्रमुख आचार्य सहितको टोली।

‘अहिले हामी त्यसैको क्रममा छौं म अहिले धरानमा छु। हाम्रो टोली धरानमा छ। धरानमा फोहोरबाट ग्यास निकाल्ने त्यसपछाडि मल निकाल्ने चलिरहेको छ। त्यसको के अवस्था छ। त्यहाँको सानो ठाउँ भयो हाम्रो चार गुणा बढी छ फोहोर। हामीले कस्तो खाल्को मेसिन राख्नुपर्छ के गर्न उपयुक्त हुन्छ भनेर त्यो हेर्र्ने क्रममा हामी छौं,’ प्रमुख आचार्यले भने ।

तत्काल प्रमुख आचार्य ल्याण्डफिल साइट खोज्ने भन्दा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा जुटेका छन्। ल्याण्डफिल साइट नपुर्‍याइ फोहोर व्यवस्थापन गर्न सकियो भनेपनि केही मात्रामा रहेका फोहोर व्यवस्थापन गर्न गाहे नहुने प्रमुख आचार्य बताउँछन् । 

‘हामी ल्याण्डफिल साइट खोज्ने क्रममा भन्दा पनि फोहोरलाई चाहिँ ल्याण्डफिल साइट नै नपुर्‍याइकन कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अध्ययनको क्रममा छौं,’प्रमुख आचार्यले भने,‘ हामीलाई अहिले धेरै प्रस्ताव आएको छ। यसलाई हामीले हेरेर एकहप्ता दश दिनमा कुन चाहिँ प्लान्ट राख्ने भन्ने फाइनल गरिसकेपछि असाध्यै थोरै फोहोर ल्याण्डफिल साइट जाने हुन्छ त्यसको लागि व्यवस्थापन गर्न त्यति गाहो हुँदैन।’

ल्याण्डफिल साइट सारेर चराको समस्या समाधान होला ?

पोखरा महानगरले प्रयोगमा ल्याएको ल्याण्डफिल साइट विमानस्थलबाट मात्र दूईकिलोमिटरको दूरिमा पर्छ। जून क्षेत्र चराचुरुङ्गीको बासस्थान हो। ल्याण्डफिल साइटलाई आहार पाउने क्षेत्रका रुपमा उपयोग गर्दै आएका चराचुरुङ्गीका कारण हुने सम्भावित दूर्घटनालाई मध्यनजर गरेर विमानस्थलबाट टाढा सार्न जरुरी छ ल्याण्डफिल साइट।

हाल फोहोर व्यवस्थापन भइरहेको ल्याण्डफिल साइटमा मात्र नभई पोखरा १४ को क्षेत्रमा १ सय ६२ प्रजातिका चरा पाइन्छ। विशेषगरी गिद्ध। पोखरा पंक्षी समाजका सचिव तथा पंक्षी संरक्षण अभियान्ता हेमन्त ढकालका अनुसार सो क्षेत्रमा पाइने १ सय ६२ मध्ये ७ चरा संकटको सूचीमा पर्छन्। सातमध्ये पनि पाँचवटा गिद्ध अति संकटको सूचि र दूई संकटको सूचीमा छन्।

चराहरुको बासस्थान परिवर्तन गर्नकै लागि ल्याण्डफिल साइट स्थान्तरण गर्न लागिएको हो। तर, पंक्षी संरक्षणकर्ता भने चराहरुलाई आफनो बासस्थान परिवर्तन गर्न एकवर्षभन्दा बढी समय लाग्ने बताउँछन्।

‘अब ठ्याक्कै यति समय लाग्छ भनेर भन्न सकिँदैन तर बाहिर गरेको अध्ययनले कम्तीमा एकवर्ष वा दूईवर्ष लाग्छ। यहाँ नआउनका लागि अर्को स्थानमा आर्कषणको पोइन्ट बनाउन पर्‍यो,’ उनले भने,‘अब यी सबैको कुरा हेर्दा ल्याण्डफिल साइट आजभन्दा तीनचार वर्ष अगाडि नै सार्नुपर्ने हो। किन कि कति प्रजाति यहीँ वरिपरि गुँड बनाएर बसेका छन् ।’

यसबाहेक यस क्षेत्रमा सिजनल चराहरुपनि आउने गर्छन्। उनका अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको महिनामा त्यस क्षेत्रको खोँचलाई ‘मेन रुट’ बनाएर केही चराहरुले मुख्य ट्राभल रुटपनि बनाएका छन्।

त्यस क्षेत्रमा महानगरले २०५७ सालदेखि फोहोर फाल्दै आएको हो। त्यसैले पनि त्यस क्षेत्रमा गिद्धहरुको उपस्थिती हुने नै भयो। तर, हेमन्तका अनुसार त्यस क्षेत्रमा ल्याण्डफिल साइट हुनु अगाडि पनि चराहरुको बाक्लै उपस्थिती हुन्थ्यो।

‘रैथाने चरा र गिद्धहरु आफनो ठाउँमा छ। धान काटेपछि जाडोयाम सुरु भएपछि गाइगोरु जहाँ मर्यो त्यही छोड्ने चलन थियो पहिला। त्यो भएर मासाहारी चरालाई पहिल्यैबाट यहाँ आहारा पाइन्छ भन्ने थियो। अर्को यहाँ दूईतिर बाट आएको विजयपूर र सेती खोला यी दूइटैमा मरेका सिनोहरु बगेर आउने भएर चराहरुलाई यहाँ आउने बानी बस्यो। पछि ल्याण्डफिल साइट पनि आयो,’उनले भने।

यसको अर्थ हुन्छ कि ल्याण्डफिल सारेर मात्र चराहरुको बासस्थान सार्न सकिँदैन। हेमन्तका अनुसार ल्याण्डफिल सार्दा चराहरुको संख्या घटाउन मात्र सकिन्छ। उनीहरुको आवतजावत रोक्न भने सकिदैन। जसका लागि चराहरुको आर्कषणको केन्द्रविन्दू अन्य स्थानमा बनाउन जरुरी रहेको उनको भनाइ छ। ल्याण्डफिल साइट बाहेकपनि विजयपूर र सेती खोलामा बग्ने फोहोर र सिनो रोक्नुपर्ने बताउँछन् हेमन्त।

‘उचित स्थानमा व्यवस्थापन गर्न सक्यो भने चराहरुको आउने संख्यालाई केही मात्रमा भए पनि घटाउन सकिन्छ। उनीहरुको संख्या घट्दा दुर्घटनको सम्भावना घट्छ भन्ने हो। दुर्घटना नै हुन्न ल्याण्डफिल साइट सारेर भन्ने होइन। विजयपूर र सेतीको खोलामा बग्ने र नहरमा बग्ने सबै फोहोरको व्यवस्थापन हुन पनि जरुरी छ,’ हेमन्तले भने। 

यस्तै उनका अनुसार निर्मलपोखरी भन्दा दक्षिणतिरको तीन किलोमिटर टाढाको भागमा चरा र गिद्धहरुको गतिविधी राम्रो भएकाले त्यस स्थानलाई आर्कषण विन्दु बनाउन सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell