PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पार्टी गठनको वर्ष दिन नपुग्दै माओवादी केन्द्रसँग एकता गर्न माधव नेपाल तयार, एकीकरणका लागि के-के भयो?



प्रकाश भण्डारी

पार्टी गठनको वर्ष दिन नपुग्दै माओवादी केन्द्रसँग एकता गर्न माधव नेपाल तयार, एकीकरणका लागि के-के भयो?
फाइल फोटो

काठमाडौं: पार्टी गठनको एक वर्ष नपुग्दै नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि तयार भएको छ। २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादी गत वर्ष एमालेबाट विभाजन भएर नयाँ दल बनेको थियो।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मुखमा माओवादीसँग मिल्न तयार भएको नेताहरुले बताएका छन्। बुधबार एकीकृत समाजवादीको सचिवालयको बैठकले एकताको विषयलाई औपचारिकता दिएको छ। एकता वार्ता संयोजन समिति बनाएर जाने सचिवालयको बैठकमा निर्णय भएको हो। माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटीको बैठकले  पनि एकीकृत समाजवादीसँग एकता गर्न एकता संयोजन समिति बनाउने सहमति गरेको थियो। मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष षुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई र आफू एक ठाउँमा उभिएको भन्दै नेपालसँग पनि छिट्टै एकता हुने बताएका थिए। 

चुनावअघि एकताका लागि तयार भएको एकीकृत समाजवादी नेकपा एमालेबाट विभाजन हुँदा भने एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई देखाएर अलग भएको थियो। नेपाल पक्षका नेताहरुले पार्टी विभाजनमा जाने निश्चित भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको थियो। ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा पनि पार्टीको निर्णय विपरीत तत्कालीन माधवकुमार नेपालसहितका एमाले सांसदहरुले पार्टी निर्णयको उल्लंघन गरेका थिए।

पढ्नुस्ः प्रचण्ड-नेपालको पिरतीमा अदालत तगारो! ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो 'ब्रेकअप'

स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले सोचेअनुसार जित निकाल्न नसकेपछि अरु पार्टीसँग एकता गर्नेबारेमा बहस सुरु भएको थियो। अहिलेको चुनावमा एकता गरेर जाने जोडबलमा नेपाललगायतका नेता रहेका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद भएपछि नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कित्तामा उभिएका थिए। प्रचण्ड-नेपालको मोर्चाबन्दीले ओलीको पद धरापमा पर्‍यो।

चुनावअघिनै हुन सक्छ एकता!

माओवादीका नेताहरुले चुनावसम्म पार्टी एकताको सम्भावना नभएको बताए पनि एकीकृत समाजवादीका नेताहरुले भने चुनावअघिनै एकता हुन सक्ने दाबी गरेका छन्।

उपमहासचिव गंगालाल तुलाधरले एकताबारे भने, ‘चुनाव अगाडि र पछाडी हुन  सक्छ। गृहकार्यको थालनी हुनुपर्छ।’

संयोजन समितिमा एकीकृत समाजवादीबाट नेपाल,खनाललगायतका शीर्ष नेता रहनेछन्। एकताबारेमा छलफल भए पनि विभिन्न विषयमाथि सहमति हुन बाँकी छ। नाम के राख्ने भन्नेबारेमा समेत नेताहरुका बीचमा कुराकानी भइरहेको छ। नेकपा कायमै रहने तर पछाडी समाजवादी या माओवादी राख्ने भन्नेबारेमा सहमति जुटेको छैन्। उक्त एकता पाँच दलीय गठबन्धनको जितका लागि भएको तुलाधरले बताए।

‘अहिले पाँच दलीय गठबन्धन भित्र यो गठबन्धनलाई चुनावमा कसरी सानदार विजयी गराउने भन्ने सोचिरहेका छौँ। एक अर्काको मर्यादा राख्दै बाँडफाँट गर्नुपर्ने छ। त्यसका लागि वाम एकता महत्वपूर्ण हुन्छ,’उनले भने।

माओवादीसँग एकीकृत समाजवादीसँगै अरु कुन दल मिल्दैछन्?

माओवादी केन्द्रले नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतमलाई पनि माओवादी केन्द्रमा भित्र्याउने गृहकार्य गरिरहेको छ। त्यसैको थालनी स्वरुप गौतमलाई चुनाव चिह्न दिइएको हो। यस्तै चुनावमा कसरी जान सकिन्छ भन्नेबारमा दुबै दलका नेताहरु अनौपचारिक छलफलमा छन्। नेसपाका अध्यक्ष भट्टराईलाई पनि माओवादीमा ल्याउन कसरत भइरहेको छ। उनलाई पनि माओवादी केन्द्रले चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा दिएको छ। 

एकीकृत समाजवादी पनि विभाजित हुने डर

एकीकृत समाजवादीभित्र स्थानीय तह निर्वाचनको परिणाम आएलगतै कुन शक्तिसँग मिल्ने भन्नेबारेमा विवाद देखिएको थियो। सम्मानित नेता झलनाथ खनालले माओवादीसँग मिल्न नसकिने मत राखेका थिए भने नेपाल पक्षका नेताहरुले माओवादीसँग पार्टी एकता गर्नुपर्ने बताएका थिए।

नेपाल र खनालपक्षबीच विवाद देखिएपछि त्यतिबेला एकताको विषय थाति राखिएको थियो। अहिले पनि माओवादी केन्द्रसँग एकता गर्नेबारेमा पार्टी भित्र एकमत छैन्। तर,खनाललाई नै संयोजन समितिमा राखेर एकतलाई विवादरहित बनाउने प्रयासमा नेपाल रहेका छन्। एकताका बारेमा विवाद बढे एकीकृत समाजवादीका केही नेता/कार्यकर्ता एमालेमै फर्कनसक्ने बताइन्छ। एकीकृत समाजवादीले विरोध खतिवडा,रामकुमारी झाक्री लगायतका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपछि पनि विवाद चर्किएको थियो। हाल सरकारबाट फिर्ता भएका मन्त्रीहरुले नेपालको चर्को आलोचना गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell