काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छिन्। आज शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले पाण्डेलाई पदवी प्रदान गरेकी हुन्।
उक्त समारोहपछि पाण्डे र राष्ट्रपति भण्डारीबिच शिष्टाचार भेट भएको थियो। आज उनी जंगी अड्डामा आयोजना हुने रात्रीभोजमा सहभागी हुनेछन्।
पाण्डे पाँचदिने नेपाल भ्रमणका क्रममा आइतवार काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा मंगलवार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नेछन्। मंगलवार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै सगरमाथा आधार शिविर र नाम्चेको भ्रमण गर्नेछन्।
बुधवार भने पाण्डेले मौसम अनुकूल भए मुक्तिनाथको भ्रमण गर्ने जनाइएको छ। सोहीदिन उनी पोखरा मध्य-कमाण्ड हेडक्वाटरको भ्रमण गर्नेछन्। साथै, हनुमानढोका क्षेत्र दरबारको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
पाण्डे बिहीवार स्वदेश फर्किनेछन्। भारत सरकारले अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती गर्ने बताइसकेको अवस्थामा पाण्डेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।