.jpg)
काठमाडौं : अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अर्थमन्त्री शर्माले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम गरेको बताएका हुन्।
‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो। अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुल्पुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौ । त्यो कुरा मान्य हुँदैन,' उनले भने।
पढ्नुस : अर्थमन्त्री शर्मालाई प्रचण्डको जवाफ : जनार्दनको रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ
शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए।
'म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ। नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ। सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो। त्यो कुराप्रति म गम्भिर छु। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो। अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ। अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ,' शर्माले भने, 'नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन। आलोचना गर्नुपर्छ। म त प्रचण्ड कमरेडको आलोचक हुँ। आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ। चाकडीले रक्षा हुँदैन।'