PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हिजो मध्यरातमा काठमाडौं शहरको यात्रामा निस्किएका दागीं र बौमतको कथा



समर्थ रञ्जित

हिजो मध्यरातमा काठमाडौं शहरको यात्रामा निस्किएका दागीं र बौमतको कथा

काठमाडौं : यँया: (इन्द्रजात्रा)  भन्ने बित्तिकै धेरैले सम्झन्छन् जीवित देवी कुमारीको रथयात्रा। र, सँगै हुने जीवित देव गणेश र भैरवको रथयात्रा। अनि त्यससँग जोडिएका लाखे आजु, पुलुकिसी लगायतका नाचहरु। सरकारले दिने एक दिने उपत्यका बिदामा इन्द्रजात्रा हेर्न पुग्नेहरुको ध्यान रथ यात्रामै हुन्छ। वसन्तुपर क्षेत्र वरिपरि हुने नाचहरु हेर्न मानिसको भिड लाग्छ।

इन्द्रजात्रा भनिए पनि इन्द्र नहेरी र त्यससँग जोडिएका पर्वबारे थाहा नहुने धेरै छन। इन्द्रजात्राकै रात हुने मृत्य संस्कारसँग सम्बन्धित पर्व हेर्न भने धेरै पुग्दैनन्। संस्कृतिकर्मीहरु इन्द्रजात्रा मृत्यु संस्कारसँग सम्बन्धित पर्व रहेको बताउँछन्। इन्द्रजात्रामा क्व: नेया (तल्लो टोल) मा हुने रथयात्रा सकिएपछि निस्कने दागीं र बौमत मृत्यु संस्कारसँग जोडिएको पर्व हो।


यो पनि पढ्नुस् : स्वर्ग जाने दिन! यस्तो छ इन्द्र दहसँग इन्द्रजात्राको नाता


इन्द्रकी आमा 'दागीं'

इन्द्रजात्राको दिन दिउँसो रथयात्रा सुरु भइसकेपछि बेलुकीदेखि मरुमा मानिसहरुको भिड बढ्ने गर्छ। एक वर्षमा दिवंगत भएकाहरु पितृमोक्षको कामना गर्दै दागींको पछि पछि नगर परिक्रमा गर्न त्यहाँ भेला हुने गर्छन्।

दागीं अर्थात् इन्द्रकी आमा। कुमारीसहित गणेश र भैरवको रथ यात्राले तल्लो टोलको परिक्रमा गरेर पुन: कुमारी घर पुगेपछि दागीं आफ्नो छोरा इन्द्र खोज्दै शहरको यात्रा हिँड्छिन्। दागींको पछाडि वर्षभरी दिवंगत भएका व्यक्तिको परिवारका सदस्य सेतो कपडा लगाएर सतबीज छर्दै हिँड्छन्।

शुक्रवार दिउँसो रथयात्रा सुरु भएपछि मरुमा दागींसँग शहर परिक्रम गर्नेहरु पुग्ने क्रम सुरु भएको थियो। हिजो रथयात्रा ढिला गरि सकिएकाले लुकुफल्चामा रहेको दुई तल्ले घरबाट दागीं निस्किन पनि ढिला भएको थियो। दागीं निस्किने बित्तिकै मरु आसपास जम्मा भएकाहरु सतबीज छर्दै काष्ठमण्डपको पछाडिबाट मरु गणेशस्थान हुँदै प्याफल, नरदेवी, थ्यामरु, असन,इन्द्रचोक, हनुमानढोका, अट्कोनारायण, चिकंमुग:, मजिपात, लगन, ब्रहमटोल, ह्युमत, जैशीदेग:, क्वहिती, भीमसेनस्थान हुँदै फेरि लुकुफल्चा पुगेका थिए।

दागीं हिँड्ने बाटोमा मध्यरातसम्म मानिसहरु कुरेर बसिरहेका थिए। नगर परिक्रमा सकिएपछि दागीं इन्द्र दह जाने कथन छ। 

दागीं पछि बौमत

दागींले नगर परिक्रमा गरिरहँदा काष्ठमण्डप बाहिर बौमत बनाउने काम भइरहेको हुन्छ। शुक्रवार पनि दागीं नगर परिक्रमा गरिरहँदा काष्ठमण्डप बाहिर मानन्धर समुदायका व्यक्तिहरु बाँसको बौमत बनाउने काम भइरहेको थियो। दागींले थने: (माथिल्लो टोल) परिक्रमा गरेर क्व:ने (तल्लो टोल)मा गएपछि काष्ठमण्डपबाट बौमत माथिल्लो टोल तर्फ निकालिएको थियो। दागीं र बौमतलाई एकआपसमा भेट गराउन नहुने कथन छ।

लामो बाँसमा बत्ती बालेर जनउद्धारका लागि बौमत निकाल्ने परम्परा रहेको बताइन्छ। पितृमोक्षका लागि बत्ती बाल्दै बौमत निकाल्ने गरिएको र दागींसँग गएकाहरुले बाटो बिराएका छन् कि भनेर हेर्न जान बौमत निकाल्ने गरिएको भन्ने कथन रहेको स्थानीय सुनाउँछन्।

आठ दिन लामो इन्द्रजात्रामा तीन दिन रथयात्रा हुने गर्छ। दागीं र बौमत भने पहिलो रथयात्राको रातमात्र निकाल्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell