PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

मौसम नखुल्दा क्रिकेटमा अवरोध, १५ खेल सकिँदा तीन वटामात्र हारजित



पहिलोपोस्ट

मौसम नखुल्दा क्रिकेटमा अवरोध, १५ खेल सकिँदा तीन वटामात्र हारजित

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक २ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। तर, त्यहीबेला क्रिकेटको नेपाल टी २० लिग पनि जुध्ने भएपछि राष्ट्रिय खेलकुद परिषदले त्यसअगावै क्रिकेटका खेल गराउने भयो।

जस अनुरुप २३ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले बलिङ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरे। राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटका खेल चलिरहेका छन्। आइतवारसम्म १५ खेल सम्पन्न हुँदै सबैभन्दा ठूलो बाधा वर्षा बनेको छ। काठमाडौंमा पछिल्लो हप्ता निरन्तर वर्षा भइरहँदा राष्ट्रिय खेलकुदका खेलहरु भने हुन संघर्ष गरिरहेका छन्।

प्रतियोगितामा ११ टिमलाई दुई समूहमा बाँडिएको छ जसमा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समूह 'ए' मा राखिएको छ भने समूह 'बी' मा एनआरएन, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र एपीएफलाई राखिएको छ।

आइतवारसम्म प्रतियोगिताका १५ खेल सकिँदा हारजित भने ३ खेलमा मात्र भएका छन्। प्रतियोगिताको पहिलो खेलमै वर्षाले बाधा गरेपछि ६ ओभरमा खेल छोट्याइएको थियो। जसमा एनआरएले सुदूरपश्चिममाथि १२ रनको जित निकालेको थियो। त्यसपछि प्रतियोगिताको दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं, दशौं, एघारौं खेल वर्षाका कारण हुनै सकेनन्। १२ औं खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि १३ रनको जित निकाल्यो। त्यस्तै १३ औं खेल हुन नसक्दा १४ औं खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले हरायो। १५ औं खेलमा पनि वर्षा बाधक रह्यो।

आज राष्ट्रिय खेलकुदमा चारवटा खेल हुँदैछन्। मुलपानी मैदानमा प्रदेश १ र एनआरएनए  तथा एपीएफ र वाग्मती खेल्नेछन् भने कीर्तिपुरमा मधेश प्रदेश र त्रिभुवन आर्मी तथा नेपाल पुलिस र लुम्बिनी प्रदेश भिड्नेछन्।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाएको छ। वर्षा भएमा आजको खेल पनि प्रभावित हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell