PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

तस्करहरुले बालबालिकालाई कसरी नेपालबाट भारतको कोठीदेखि कारखानासम्म पुर्‍याइरहेका छन् ?



पहिलोपोस्ट

तस्करहरुले बालबालिकालाई कसरी नेपालबाट भारतको कोठीदेखि कारखानासम्म पुर्‍याइरहेका छन् ?

काठमाडौं : प्रत्येक वर्ष देशभरबाट २५ सय भन्दा बढी बालबालिका हराउने गरेका छन्। हराएकामध्ये झन्डै आधा पनि बालबालिका भेटिँदैनन्। यसरी हराएका मध्ये अधिकांश बालबालिका भारतमा पुग्ने गरेको प्रहरी र अन्य बालबालिका सम्बन्धी काम गर्ने संघसस्थाको रिपोर्टले देखाउँछ।

गत शुक्रवार मात्र भारतमा पुर्‍याएका १० जना बालकहरूको उद्धार गरिएको छ। नेपाल प्रहरीको समन्वयमा साथसाथ संस्थाले शुक्रवार उद्धार गरेका १० बालकको जिम्मा परिवारलाई लगाएको थियो। चार महिना अगाडि उनीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याइएको थियो। त्यसपछि उनीहरूलाई भारतमा लगेर विभिन्न कारखानामा १२ घण्टा भन्दा बढी काम गर्न लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए। यस पटक उद्धार गरिएका सबै बालक हुन्।

'धेरैलाई बालिकाहरूलाई मात्र भारत लगिन्छ भन्ने थियो। यसले बालकलाई पनि तस्करहरूले प्रयोग गर्न थालेको छन् भन्ने देखाउँछ,' एसपी मल्लले भने।

उद्धार गरिएका बालकहरू रौतहट, सुनसरी र मोरङका रहेका छन्। आर्थिकरुपमा विपन्न र परिवारका सदस्य समेत अशिक्षित भएका मानिसलाई उनीहरूले टार्गेटमा पार्ने गरेको देखिन्छ। यसरी उद्धार गरिएका बालकहरूको उमेर ११ वर्षदेखि १७ वर्षसम्मको रहेको छ। बालकहरूलाई साथसाथ संस्थाको सहयोगमा नेपाल ल्याइएको हो। यसरी भारत पुर्‍याइएका बालकहरूलाई खाना र बस्न बाहेक मासिक २ सय रुपैयाँ दिएर काम लगाइएको साथसाथकी रिर्सोस एक्जुकेटिभ कविता शाहले बताइन्।

'हामी पुग्दा बालकहरूको अवस्था एकदमै दयनीय थियो। कतिले त राम्रोसँग खाना समेत खान पाएका थिएनन्,' शाहले भनिन्।

शुक्रवार उद्धार गरेर नेपाल ल्याएका बालकको हकमा भने श्रमका लागि मात्रै प्रयोग गर्न लगिएको देखिएको छ। यसरी पनि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतबाट १६ जना बालबालिकाको उद्धार गरेको थियो। उनीहरू रसुवा र नुवाकोटका बालबालिका थिए। उनीहरूलाई बौद्ध धर्म पढ्नको लागि भन्दै भारत पुर्‍याइएको थियो।

'राम्रोसँग पढाउने भन्दै भारत पुर्‍याउने गरेको पनि देखिन्छ। तर त्यहाँ लगेर उनीहरूलाई कलकारखानादेखि अकेस्ट्रामा काम लगाउने गरेको पाइएको छ,' एसपी मल्लले भने।

कसरी पुग्छन् बालबालिका भारत ?

आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट ४ हजार ६४६ जना बालबालिका हराए। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ६५८ जना बालबालिका हराएका थिए। जसमध्ये ६४९ जना मात्र भेटिएका छन्। यसरी हेर्दा प्रत्येक वर्ष २५ सय भन्दा बढी बालक बालिका हराउने गरेका छन्। हराएका मध्ये धेरै श्रम र यौन शोषणको लागि भारत पुर्‍याइएको देखिन्छ। यसरी भारत लग्न भारतबाट नै मानिस परिचालन भएर नेपाल आउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

सीमा जोडिएका जिल्लाहरूमा भारतबाट एकजना नाइके आउने र गाउँका बालकहरूलाई प्रलोभनमा पारेर भारत लग्न गरेको खुलेको छ। नाइकेले बालकहरूलाई राम्रो ठाउँमा पढ्न पाउने, राम्रो कमाइ हुने, शहर पनि देख्न पाउने भन्दै प्रलोभनमा पारेको देखिएको छ। नाइकेले बिहान बेलुका पटकपटक बालकहरूलाई भेटेर विभिन्न आश्वासन दिएर लग्ने गरेको खुलेको छ। त्यसपछि उनीहरूले भारतमा पुर्‍याएर विभिन्न कारखाना श्रमिकको रुपमा बिक्री गरेर बालकलाई प्रयोग गर्ने गरेको एसपी मल्लले बताए।

'उनीहरूले अभिभावकबाट टाढा भएका र आर्थिकरुपमा विपन्नहरूलाई विभिन्न जालमा पारेर भारत लग्ने गरेको देखिन्छ। केहीले त यसरी लगिएका बालकहरूको शरीरको अङ्ग समेत झिकेर बिक्री गर्ने गरेको भेटियो,' प्रवक्ता मल्लले भने।

यसरी नेपाल आएर बालबालिकालाई प्रलोभनमा पारेर भारतसम्म पुर्‍याउने नाइकेको भने प्रहरीले पहिचान गर्न सकेको छैन। उनीहरू भारतबाट नै नेपाल आउने गरेको अनुसन्धानमा देखिएको छ। आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग घुलमिल गर्न र आफ्नो निगरानीमा राख्नुपर्ने एसपी मल्ल बताउँछन्।

भारतमा पुगेका बालबालिका यौन व्यवसायदेखि कलकारखानामा श्रम शोषण गर्ने गरेको खुल्छ। त्यस्तै केही बालबालिकाको मानव अङ्ग समेत झिक्ने गरेको भेटिएको छ। सडक बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर मिर्गौला तस्करी भइरहेको खुलेको छ। गत साउनमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले तस्करी गर्ने पाँच जनालाई आज सार्वजनिक गरेपछि यो गिरोहको बारेमा खुलासा भएको हो।

प्रहरीले रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमल बहादुर शाही र झापाका आशिष तामाङलाई मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। धनबहादुर र विजय कुँवरको मुख्य योजनामा सडक बालबालिकालाई भारत लगेर मिर्गौला झिक्ने गरेको खुलेको छ।

धनबहादुरले आफूले पनि मिर्गौला झिकेको र एउटा मिर्गौलाले पनि राम्रोसँग काम गर्ने भन्दै विश्वासमा पारेर बालबालिकाहरूलाई प्रभावित पार्ने गरेको खुलेको छ। उनीहरूले मिर्गौला दिने बालबालिकालाई काठमाडौंको होटेलमा राखेर मिर्गौलाको परीक्षण गर्ने गरेको ब्युरोका एसपी दानबहादुर मल्लले बताए।

'बालबालिकालाई भारतमा श्रम, यौनसँगै मानवअंगको लागि पनि लग्ने गरिएको छ। त्यसैले अभिभावकले आफ्ना बालबालिकाहरू निगरानीमा नै राख्नुपर्ने देखिन्छ,' एसपी मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell