
काठमाडौंः नागरिकता विधेयक प्रमाणीकरणको संवैधानिक समयसीमा मंलगबार मध्यरातबाट सकिँदैछ। राति १२ बजेपछि संविधानले तोकेको १५ दिनको समय सकिँदैछ। त्यो अवधिमा प्रमाणीकरण नभए के हुने अन्योल छ।
संघीय संसद्का दुबै सदनबाट पारित भएको विधेयक पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी थिइन्। प्रादेशिक पहिचान, स्वघोषणालगायतका विषयमा स्पष्ट पुनर्विचारका लागि सन्देशमा प्राप्त भए पनि दुबै सदनले जस्ताको तस्तै विधेयक पारित भएका थिए। साउन २९ गते विधेयक फिर्ता भएको थियो।
पढ्नुस्ः के राष्ट्रपतिले नागरिकता विधेयक पुनः फिर्ता गर्न मिल्छ?
फिर्ता विधेषक दुबै सदनबाट पारित भएर भदौ २० गते प्रमाणीकरणका लागि पुनः पठाइएको थियो। उक्त अवधि आज सकिन लागेको हो।
तर शीतल निवास स्रोतका अनुसार विधेयक प्रमाणीकरणको सम्भावना कम छ। प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै विधेयक प्रमाणीकरण नगर्ने सोचमा राष्ट्रपति भण्डारी रहेको निकट स्रोत बताउँछ। राष्ट्रपतिले निरन्तर नै विज्ञहरुसँग परामर्शपछि उक्त निर्णयमा पुगेको स्रोत बताउँछ।
तर सरकारले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास रहेको जनाएको छ। मंगलबार सत्ता गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने -संविधानत राष्ट्रपतिले विधेयक पारित गर्नुपर्छ। उहाँले गर्नुहुन्छ भनेर हामीले विश्वास गरेका छौं।
संवैधानिक व्यवस्था अनुसार दोस्रो पटक संसदले पठाएको विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्नुपर्ने वाध्यता छ। फिर्ता पठाएको विधेयक पुनः पारित भई पठाइएको हकमा त्यसरी पठाइएको १५ दिनमा प्रमाणीकरण गर्नुपर्ने संविधानमा व्यवस्था छ।