PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै



पहिलोपोस्ट

'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै

काठमाडौं : ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी फिल्मको मान्यता दिएको छ। वितरकले नियमानुसार कागजपत्र पेश गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सरका लागि सिफारिस गरेका हुन्।

भारतबाट भन्सार शुल्कसहित ल्याएको कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको वितरक मनोज राठीले बताए। अब विदेशी फिल्म सरह १५ प्रतिशत चलचित्र विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुनेछ । फिल्मले ३० हजार भन्सार शुल्क पनि तिरिसकेको छ। यसअघि फिल्म निर्माताले हिन्दी भर्सनमा कर लिन नहुने माग राखेका थिए।

पढ्नुस : के हो 'प्रेमगीत - ३' विवाद प्रकरण : किन एकापसमा भिड्दैछन् कलाकारहरु?

‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सन असोज ७ गतेदेखि विश्वभर रिलिज हुँदैछ। यो फिल्म विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुन लागेको जनाइएको छ। नेपालमा २०० पर्दामा रिलिज हुने यो फिल्म भारतका ५०० सय स्क्रिनबाट प्रदर्शन हुन लागेको बलिउड हंगामामा उल्लेख छ। भारतमा प्रदर्शनको पहिलो दिन फिल्मले डेढ करोड भारतीय रुपैयाँ ओपनिङ गर्ने आशा गरिएको छ।

त्यसैगरि, यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोप लगायतका देशका करिब ५०० पर्दामा पनि फिल्म रिलिज हुनेछ। विश्वभर ओपनिङ कलेक्सन  भने साढे ५ करोड भारतीय रुपैयाँ हुने अनुमान छ।

‘प्रेम गीत ३ का हिन्दी डबका निर्माता सुभाष घले भन्छन्, ‘प्रेम गीत ३ सिनेमा हलमा रिलिज हुने पहिलो इन्डो-नेपाली फिल्म हो। म पक्का थिएँ कि यो प्रवृत्ति, भव्यता, भावना र संगीत भएकोले यो प्रवृति सुरु गर्न उपयुक्त फिल्म हो। फिल्मले यस्तो उत्साह पैदा गरेको देख्दा मलाई असाध्यै आनन्द लाग्छ। म विश्वस्त छु कि दर्शकले यो मायाको परिश्रमलाई ठूलो पर्दामा देखेर आनन्द लिनेछन्।’

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell