PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

लौरो चिह्नलाई स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन, सोध्यो : पार्टीको उम्मेदवारले स्वतन्त्र भनि प्रचार गर्न मिल्ने हो?



पहिलोपोस्ट

लौरो चिह्नलाई स्वतन्त्रको भनेर प्रचार नगर्न निर्वाचन आयोगको निर्देशन, सोध्यो : पार्टीको उम्मेदवारले स्वतन्त्र भनि प्रचार गर्न मिल्ने हो?
फोटो : Satya Twayna

काठमाडौं : लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गर्नेलाई तत्काल प्रचार रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

निर्वाचन आयोगमा लौरो चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ। तर उक्त चिह्न लिएर स्वतन्त्र अभियान भनेर प्रचारप्रसार भइरहेको छ। यसै विषयमा आयोगले लौरोलाई स्वतन्त्र भनेर प्रचार नगर्न निर्देशन दिएको हो। 

हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले स्पष्टिकरण पनि सोधेको हो। घिमिरेले स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गरेकोमा आयोगले आपत्ति जनाएको छ।

'तपाईंको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालितर्फको बन्दसूचि समेत पेश गरी निर्वाचन चिह्न लौरो समेत प्रदान गरिसकिएकोमा लौरो चिह्न स्वन्तन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हुँ भनि के कुन आधारमा प्रचार प्रसार गर्नुभएको हो? त्यसरी स्वतन्त्र उम्मेदवार भनि प्रचार प्रसार गर्न मिल्ने हो होइन,'आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ।

३ दिन भित्र जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ। 

भदौ १६ गते सुमन सायमिको नेतृत्वमा स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा भएको थियो। स्थानीय निर्वाचनमा काठमाडौं महानगर, धरान उपमहानगर लगायत केही तहहरुमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेपछि त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएकाहरु फेरि प्रतिनिधिसभामा पनि उम्मेदवार बन्ने हेतुले यो अभियान घोषणा गरिएको थियो।

जस अनुसार काठमाडौं-५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं-८ मा सुमन सायमी र काठमाडौं-९ मा विद्या श्रेष्ठले उम्मेदवारी दिने घोषणा भएको थियो। स्थानीय तहको निर्वाचनमा सुमन सायमी र विद्या श्रेष्ठ काठमाडौं महानगरको मेयर र उपमेयरमा ‘आँखिझ्याल’ चुनाव चिह्न लिएर लडेका थिए। पछि थप व्यक्तिहरु विभिन्न क्षेत्रबाट लौरो चिह्नमै लड्ने भनेर घोषणा भएको थियो।

सम्बन्धित समाचार : ‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी

यो अभियानले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र सरकार निर्माणको नारासहित अगाडि बढेको छ। तर, स्वतन्त्र उम्मेदवारी घोषणा गरेका केही उम्मेदवारहरुले लौरो चिह्न प्रयोग गरेर स्वतन्त्र उम्मेदवारका रुपमा प्रचारप्रसार गरेको भन्दै आयोगमा उजुरी दिएका थिए। सो उजुरीपछि आयोगले हाम्रो नेपाल पार्टीलाई स्पष्टीकरण सोधेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell