PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चल्नु अहंकार र अराजकताको नाङ्गो प्रदर्शन : जनकवि दुर्गालाल श्रेष्ठ



पहिलोपोस्ट

बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चल्नु अहंकार र अराजकताको नाङ्गो प्रदर्शन : जनकवि दुर्गालाल श्रेष्ठ

काठमाडौं : बाङ्गेमुढा (थायमरु)मा रहेको सामुदायिक भवन (त्वा: छेँ)मा काठमाडौं महानगरपालिकाले डोजर चलाउनु अराजकताको नाङ्गो प्रदर्शन भएको नेपालभाषा मंका: खल: ले जनाएको छ। खल: का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका अनेकन आन्दोलनसँग सम्बन्धित सो सामुदायिक भवन जिउँदो इतिहास भएको बताएका छन्।

सो भवनलाई मूर्त सम्पदा भन्दै उनले त्यसको संरक्षण गर्नुसट्टा महानगरले डोजर आतंक मच्चाएको विज्ञप्ती मार्फत जनाएका छन्। शुक्रवार महानगर प्रहरीले 'माथिको आदेश' भन्दै स्थानीय मिलेर ४४ वर्ष अघि बनाएको भवनमा डोजर चलाएको थियो।

पहिला खुला शौच गर्ने स्थानमा पछि स्थानीयले चन्दा उठाएर भवन ठड्याएका थिए। तर, महानगरले सो भवनमा वडा कार्यालय निर्माण गर्ने भन्दै डोजर चलाएपछि स्थानीय आक्रोशित भएका छन्। शनिवार बाङ्गेमुढामा स्थानीयले महानगर प्रमुख बालेन्द्र शाहको पुतला दहन गरेका थिए भने वडा २५ का वडा अध्यक्ष राजेश डंगोलको राजीनामा मागेका थिए।

महानगरले खाली गराउन भन्दै डोजर चलाएको भवनबाट नेपाल भाषा मंका: खल:को सुरुवात भएको थियो। एउटा कालखण्डमा नेवार समुदायको साझा प्रतिनिधित्व गर्ने सो संस्थाले उपत्यकामा भाषा आन्दोलन सुरु गरेको थियो। पञ्चायत कालमा सोही भवनमा आन्दोलनको लागि बैठक बस्ने गर्थ्यो। यस्तै, नेपाल जनजाति महासंघ र अन्य सामाजिक संस्थाहरु यही भवनमा संचालनमा आएका थिए। सोही भवनमा पहिला वडा २८ को वडा कार्यालय राख्न पनि खल:ले कोठा भाडामा दिएको थियो। पछि केशव स्थापित महानगर प्रमुख हुँदा सो भवनमा महानगरले दाबी गरेको थियो। त्यसपछि भवनको स्वामित्वलाई लिएर अदालतमा मुद्दा परेको थियो।

अदालतमा मुद्दा विचाराधीन रहेको बेला अहिले महानगपालिकले भवन भत्काएको भन्दै स्थानीय आन्दोलनमा उत्रेका हुन। शुक्रवार र शनिवार बाङ्गेमूढामा भेला भएर उनीहरूले महानगरविरुद्ध नारा लगाएका थिए। शुक्रबार भवनको मुद्दा विचाराधीन रहेको कागज देखाउन खोज्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेले 'माथिको आदेश' भन्दै कागजपत्र हेर्न नमानेको स्थानीयको आरोप छ।

श्रेष्ठले अदालतमा विचाराधिन हुँदाहुँदै डोजर चलाउनुले अदालतको मानहानीमात्र नभइ महानगरको वर्तमान नेतृत्वको अहंकार र अराजकताको नाङ्गो प्रदर्शन भएको बताएका छन्। उनले सामुदायिक भवन जस्तो सार्वजनिक सम्पत्तिमाथि पुर्‍याइएको क्षतिलाई सिंगो समुदायविरुद्ध गरिएको आक्रमणको अर्थमा लिने समेत बताएका छन्।

उनले सो भवनमा डोजर चलाएकोमा सार्वजनिक रुपमा माफी माग्न महानगरलाई आग्रह गरेका छन्। यस्तै, भवन पुनर्निर्माण गर्न पनि उनले माग गरेका छन्।

सो भवनमा महानगरले वडा कार्यालय बनाउने भन्दै सुरु देखि नै प्रयास गरिरहेको हो। तर, सामुदायिक सम्पत्तिमा महानगरले कब्जा गर्ने देखेर स्थानीयले पनि सुरुदेखि नै त्यसको प्रतिवाद गर्दै आएका थिए। अहिले फेरि महानगरले सोही भवनमा नजर लगाएपछि स्थानीयले 'रिस्टोर त्वा: छेँ' (सामुदायिक भवन पुनर्स्थापना गर) अभियान चलाएका छन्। महानगर आफ्नो निर्णयबाट पछि नहटे आफूहरु सशक्त आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell