1.png)
काठमाडौंः बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरेका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। संगठित रुपमा व्यक्ति हत्या मुद्दामा दुई तहको अदालतले दोषी ठहर गरिसकेका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। वारेसमार्फत उनको मनोनयन परेको थियो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १३ अनुसार चौधरीको मनोनयन रद्ध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए।
संगठित अपराध तथा ज्यान सम्बन्धी मुद्दामा सजाय पाइ त्यस्तो सजाय भुक्तान भएको ६ वर्ष नपुग्दासम्म उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था अनुसार चौधरीको उम्मेदवारी खारेज भएको हो।
चौधरीको उम्मेदवारी खारेज गर्न माग गर्दै माओवादी केन्द्रका सुरेश पन्थले उजुरी दिएका थिए।
अघिल्लो पटकको प्रतिनिधि सभा निर्वाचनमा रेशमले वारेसबाटै उम्मेदवारी दिएका थिए। निर्वाचनमा विजयी भएका उनले जेलबाटै सिंहदरबार आएर शपथ लिएका थिए। सुरु अदालतले समेत दोषी ठहर नगरेका कारण पहिलोपटक फरार अवस्थामा उनको उम्मेदवारी कायम भएको थियो। अदालतले दोषी ठहर गरेपछि सांसद पद निलम्बनमा परेको थियो। चौधरी एकपटक पनि प्रतिनिधि सभामा उपस्थित नभइ कार्यकाल सकिएको थियो।
यस्तै आयोगले सोही पार्टीका कैलाली ५ बाट उम्मेदवार लक्ष्मण चौधरीको पनि उम्मेदवारी रद्ध गरेको थियो। कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको सुरक्षाकर्मीको सामूहिक हत्यामा दुबैलाई अदालतले दोषी ठहर गरेको थियो।
पढ्नुस्ः लक्ष्मण थारुको उम्मेदवारी रद्ध, यस्तो छ कारण
रेशम कैद भुक्तान गरिरहे पनि लक्ष्मण भने फरार छन्।
रेशमलाई घटनाको मुख्य योजनाकार मानिएको छ। उक्त घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरीको मृत्यु भएको थियो। एक बालक पनि घटनामा मारिएका थिए।