
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्।
'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नाराका साथ चुनावी काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिएका सिंहले आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको बताए। सिंहले जितलगत्तै प्रक्रियाबाट नेपाली कांग्रेसको संसदीय नेतामा चुनिए प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको बताएका हुन्।
‘म केको लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउनसक्छु भन्ने आत्मविश्वास छ,' न्युज एजेन्सी नेपालसँग सिंहले भने, 'मौका पायो भने म गरेर देखाउँछु। मसँग अनुभव छ, त्यसैले मनदेखि नै देखेको छु, भोगेको छु, मौका पाए गर्न नसक्ने कुरा होइन।’ अघिल्लो निर्वाचनमा संसदीय दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवासँग भिडेका सिंह पराजित बनेका थिए।
नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको तर्क गरे। देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए।
नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको बताए। स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको उनको भनाई रह्यो।
यो पनि : कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?
नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरु पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताए।