काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले शनिवार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन्। कांग्रेसले कोभिड- १९ का कारणले भएको मानवीय क्षतिको प्रमुख जिम्मेवार नै केपी शर्मा ओली भएको आरोप लगाएका छन्।
'कोभिडका कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र पूर्व प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार हुनुहुन्छ भन्दा अत्युक्ति हुने छैन,' कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। जनताले सुविधाजनक बहुमत दिँदा पनि ओली नेतृत्वमा गएपछि ४१ महिनाको समय पूर्ण रुपमा खेर गएको कांग्रेसको दाबी रह्यो।
'राष्ट्रवाद, स्थिर सरकार र समृद्धि जस्ता लोकप्रियतावादी नाराको आधारमा तत्कालीन वाम गठबन्धनले २०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड वहुमत हासिल गरी नेपालको इतिहासमा नै सबैभन्दा बढी सुविधाजनक र अनुकूल अवसर पाएको थियो,' कांग्रेसको घोषणापत्रमा भनिएको छ, 'तर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग संचार जगतमाथि नियोजित रूपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको थियो।'
ओली नेतृत्वमा बनेको सरकारमात्र नभई प्रदेशमा नेकपा नेतृत्वमा बनेका सरकारहरुसमेत संघीय प्रणालीको सिद्धान्त विपरित चलेको कांग्रेसको ठहर छ।
'संघीय लोकतान्त्रिक संविधान जारी भएपछि पहिलो निर्वाचित सरकार भएको कारणले राज्यको संघीयकरण तथा संघीय प्रणालीको सिद्धान्त अनुरूप राज्य सञ्चालन गर्नु प्रमुख संवैधानिक दायित्व थियो,' आफ्नो घोषणापत्रमा कांग्रेसले भनेको छ, 'तर सरकारको नीति र कार्यशैली संघीय प्रणाली भन्दा ठीक विपरीत थियो। आवरणमा संघीय प्रणाली भए पनि यथार्थमा एकात्मक र केन्द्रीकृत प्रणालीलाई संस्थागत गरेको थियो। ओली नेतृत्वको संघीय सरकारमात्रै होइन, नेकपाको नेतृत्वमा बनेका प्रादेशिक र स्थानीय सरकारहरू पनि संघीय प्रणालीको सिद्धान्त अनुसार संचालित भएनन्।'
ओली नेतृत्वमा बनेको सरकारले विभिन्न अनियमितता र काण्ड मच्चाएको कांग्रेसको आरोप छ। 'सरकार बनेको क्षणदेखि नै कुशासन, भ्रष्टाचार र अनियमितता संस्थागत हुन थालेको थियो। सार्वजनिक सम्पत्ति माथि लुटतन्त्र मच्चाउँदै सरकारले भ्रष्टाचार, कमिशनतन्त्र, आर्थिक अनियमितता र अपारदर्शीताको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान कायम गरेको थियो,' थप भनिएको छ, 'कुशासन र भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी उदासिनता तथा मेडिकल सामाग्री खरिदको भ्रष्टाचार र कमिशन प्रकरण हो। महामारी शुरू भएपछि कोभिड नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नु सरकारको अनिवार्य प्राथमिक दायित्व थियो। तर महामारी नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आयो। सरकारले न महामारी नियन्त्रण गर्ने उपयुक्त नीति र कार्ययोजना अख्तियार गयो, न परीक्षण, उपचार, खोप, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न नै संवेदनशील भयो।'
यिनै कारण देखाउँदै कांग्रेसले ओलीको नेतृत्वमा ४१ महिनाको अवधि खेर गएको दाबी गरेको छ। 'उपर्युक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा नेकपा, नेकपा (एमाले) र पूर्व प्रधानमन्त्री ओलीको कारणले करिव ४१ महिनाको अवधि पूर्णरूपमा खेर गयो,' कांग्रेसले भनेको छ।
यसअघि स्थानीय निर्वाचनमा कांग्रेसले जारी गरेको घोषणापत्रलाई एमाले अध्यक्ष ओलीले पागलहरुको प्रलापको संज्ञा दिएका थिए। 'कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज हैन। केवल पागलहरुको प्रलाप हो। जम्माजम्मी धारे हात लगाएको छ,' कार्यक्रममा ओलीले भनेका थिए।