PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सत्ता गठबन्धनलाई प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्न दबाब, चुनावपछिको प्रधानमन्त्री को?



पहिलोपोस्ट

सत्ता गठबन्धनलाई प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्न दबाब, चुनावपछिको प्रधानमन्त्री को?

काठमाडौं : मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउने उद्घोषका साथ चुनावमा होमिएको छ। तर, सत्ता गठबन्धनबाट प्रधानमन्त्रीका साझा उम्मेदवार तय हुन सकेको छैन।

यही सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले गठबन्धनबाट साझा उम्मेदवार तय हुनुपर्ने राय राखेका छन्। आचार्यले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर साझा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न आग्रह गरेको बताएका छन्। आइतवार देउवासँग आफूले उक्त आग्रह गरेको उनको भनाइ रह्यो।

‘सभापतिलाई भेटेर हिजो आफूलाई खट्केको २ कुरा प्रष्ट राखेँ- पहिलो गठबन्धन चुनाव नलड्नु लडिसकेपछि ५ वर्षे नीतिगत कार्यक्रमिक साझा घोषणापत्र छुट्टै जारी होस्। दोस्रो साझा प्रधानमन्त्रीको नाम शीघ्र घोषणा होस गंभीर पाएँ, नतिजाको प्रतिक्षामा छु,’ आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। नेता आचार्यलेमात्र हैन, अधिकांश नेता कार्यकर्ताले पनि चुनावमा होमिँदा गठबन्धनले आगामी नेतृत्व कसको भनेर तय गर्न नसकेकोमा असन्तुष्टि पोखेका छन्।

सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को? यस विषयमा कुनै साझा धारणा तय नभए पनि आइतवारमात्र गोरखा पुगेर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भनाइ राखे

‘एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको छ,’ गोरखामा प्रचण्डलाई मत माग्दै बाबुरामले भने, ‘अब पाँच वर्ष सरकार चल्छ। प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ।’

प्रचण्डले पनि गोरखामा विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै निर्णायक शक्ति माओवादी हुने बताएका छन्। माओवादीका फस्टम्यान भएको नाताले र एकपटक प्रधानमन्त्री भइसकेकाले प्रचण्डसँग प्रधानमन्त्री हुने आकंक्षा छैन भन्न सकिन्न।

सत्ता गठबन्धनमा कांग्रेसपछि माओवादी नै निर्णायक शक्ति देखिन्छ। एकीकृत समाजवादीका नेताहरुले यसबारे अहिलेसम्म कुनै अभिव्यक्ति दिएको देखिदैन। यद्यपि, अहिले सत्ता गठबन्धनमा कांग्रेस नै बलियो देखिएकाले कांग्रेसबाटै प्रधानमन्त्री बन्ने कतिपयको आँकलन छ। तर, कांग्रेसमा पनि प्रधानमन्त्रीका दर्जन आकंक्षी छन्।

कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षी रहेका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए। सोमवार काठमाडौंको बानेश्वरमा मतदातासँग छलफलको क्रममा सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्नुपर्ने भनाइ राखेका हुन्।

कांग्रेसले सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई नै चुनावपछिको प्रधानमन्त्रीको रुपमा हेरेको देखिन्छ। यद्यपि, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु डा शेखर कोइराला, डा शशांक कोइरालाले पनि प्रधानमन्त्रीको लागि आकांक्षा व्यक्त गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell