PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'हाइ टेक' देखि 'हाइ टी' सम्म : एमालेको घोषणा पत्र सार्वजनिक गर्दा रेगल बल रुममा जे देखियो ...



नेत्र तामाङ

'हाइ टेक' देखि 'हाइ टी' सम्म : एमालेको घोषणा पत्र सार्वजनिक गर्दा रेगल बल रुममा जे देखियो ...

काठमाडौं : २०७३ साल असोज ६ गतेका दिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्रीका रुपमा होटल याक एन्ड यतिको रेगल बल रुममा उपस्थित थिए केपी शर्मा ओली। चीनका राष्ट्रपति सि जिनपिङको सरकारको उपलब्धि उल्लेखित बाक्लो किताब बाँडिएको उक्त कार्यक्रमका मुख्य वक्ता थिए चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सोङ ताव।

नेपालका कम्युनिस्टलाई प्रशिक्षण दिन आयोजित उक्त कार्यक्रममा उपस्थित त्यतिबेला नेकपामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल दुईतिर लागिसकेका छन्। त्यही रेगल रुममा नेकपा एमालेका अध्यक्ष ओलीले मंगलवार प्रतिनिधिसभा र प्रदेशसभा २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरे। नेकपा माओवादी केन्द्रसँग अलग्गिएपछि आफ्नै पार्टी चोइटिएर एकीकृत समाजवादी बनेको बेला चुनावी चुनौती सामना गर्न ओर्लिएका ओलीले घोषणापत्र सार्वजनिक गर्दा परम्परा तोडेका छन्।

सत्तारुढ दलहरुले परम्परागत शैलीमा घोषणापत्र सार्वजनिक गरिसक्दा ओलीले भने 'हाइ टेक' शैलीमा घोषणापत्र सार्वजनिक गरेका हुन्। यतिमात्र हैन एमालेले आफ्नो घोषणपत्र सार्वजनिक समारोहलाई 'स्मार्ट' देखाउन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठदेखि चर्चा कमाएका पूर्व बैंकर अनिल केशरी शाहलाई लाइभ डिबेटमा उतार्‍यो।

'हाइ टेक' देखिएको एमालेको घोषणापत्र सार्वजनिक गर्दा देखिएका केही रोचक दृश्य :

कर्भ डिस्प्लेमा घोषणापत्र

नेकपा एमालेले घोषणापत्र सार्वजनिक कार्यक्रमका लागि विशेष डिजाइनको निमन्त्रणाको कार्ड बनाएको थियो। त्यसमा लेखिएको थियो :यस ऐतिहासिक समारोहको प्रत्यक्षदर्शी बन्नका लागि यहाँलाई सादर निमन्त्रणा!

ठीक दुई बजे ओली याक एन्ड यतीको रेगल रुममा पुगेका थिए। पूर्व मिस नेपाल सदीक्षाले कार्यक्रमको सुरुवात गरिन्। स्वागतपछि ओलीले घोषणापत्र सार्वजनिक गरे 'स्मार्ट' रुपमै। टच प्याडमा हात स्क्यान गरेपछि एमाले घोषणापत्रको 'ट्वान्टी ग्यारेन्टी' प्रदर्शन भयो कर्भ डिस्प्लेमा। झन्डै फिल्म हलको पर्दा जतिकै ठूलो कर्भ डिस्प्लेमा ट्वान्टी ग्यारेन्टी भिडियो बजेपछि पूर्व बैंकर अनिल केशरी मञ्चमा उत्रिए।

अनिल केशरीसँग 'लाइभ डिबेट'

पूर्व बैंकर अनिल केशरी टच प्याड लिएर लाइभ डिबेटमा उत्रिए। प्रत्यक्ष बहसका लागि केशरी जति चिटिक्क थिए ओली त्यतिकै चिटिक्क देखिएका थिए। कोटमा एमालेको चुनाव चिह्न 'सूर्य' को ब्याज लगाएर त्यसमाथि नेपालको झण्डा सजाएका थिए ओलीले।

अनिल केशरीले ओलीलाई ग्यारेन्टी र प्रतिबद्धताबारे फरक छुट्याउन लगाए। अरुले भन्नलाई भन्दिने गरेको घोषणापत्र ल्याएको र आफूले भन्नेमात्र हैन गरिदिनलाई नै घोषणापत्र ल्याएको भन्दै यसको ब्याख्या गरे ओलीले। नेपाल राष्ट्र बैंकले नोटमा 'तुरुन्त पाइनेछ' भनी गरेको ग्यारेन्टीजस्तै एमालेको घोषणापत्र भएको दाबी गरे।

डिबेट सुरु भएपछि धमाधम बाहिरिए

कार्यक्रमको सुरुमा झन्डै ६०० जना मानिस उपस्थित हलमा लाइभ डिबेट सुरु भएपछि भने रौनकता हराउन थाल्यो। पूर्व बैंकर अनिल केशरीको प्रश्नमा ओलीको लामो लामो उत्तर आउन थालेपछि दर्शकदीर्घको कूर्सी विस्तारै खाली हुन थाल्यो। कोही कुनातिर गफिन थालेका थिए भने कोही बाहिर निस्केर गफ चुट्न थाले।

झन्डै २:२० बाट सुरु भएको डिबेट पौने चार बजे सकियो। त्यतिबेलासम्ममा दर्शकदीर्घातिरको कूर्सी लगभग खाली हुँदै थियो।

युवाले प्रधानमन्त्रीको अवसर पाउँछन् भन्ने प्रश्न सोध्दा छोट्याउन लगाए प्रश्न

चार नबज्दै अनिल केशरीलाई लाइभ डिबेट सकाउन इशारा गर्दै पूर्व मिस नेपाल सदीक्षा मञ्चतिर अघि बढिन्। उनी पाँच मिनेटजति उभिएपछि बल्ल अनिल केशरीले नमस्कार गरे अनि डिबेट टुंग्याए।

त्यसपछि सदीक्षा आफैले प्रश्न गरिन् – समृद्ध नेपाल र सुखी नेपालीबारे। ओलीले नेपाल अझै समृद्ध नभएको भन्दै यसमा थप काम गर्नुपर्ने बताए। त्यसपछि दर्शकबाट प्रश्न लिन थालियो।

'के एमालेमा युवाले प्रधानमन्त्रीको अवसर पाउँछन्?' भन्ने आशयको प्रश्न सोधेपछि ओलीले प्रश्नकर्तालाई कुरा छोट्याउन आग्रह गरे।

जवाफमा ओलीले भने : पार्टीको लिडर हुन सक्नेलाई प्रधानमन्त्री बन्न निषेध गरिएको छैन। सेन्टिमेन्टल कुराले देश बन्दैन। भावनामा बगेर देश बन्दैन।

चुच्चे नक्सा र चुलोचुलोमा ग्यासबारे यस्तो जवाफ

ओलीलाई २० ग्यारेन्टीमा लिपुलेक समेटिएको नक्साबारे कुनै कुरा उल्लेख नगरिएको बारे प्रश्न पनि सोधियो – चुच्चे नक्साको ग्यारेन्टी खै?

चुच्चे र बुच्चे नक्साभन्दा पनि गुमेको भूभाग फिर्ता ल्याएर नयाँ नक्सा छापिसकेको कुरा सम्झाए ओलीले। 'सर्वसम्मतिले नक्सा छापिसकेको छ। यो खेलवाड र मजाकको विषय हैन।'

यतिमात्र हैन ओलीलाई चुलोचुलोमा ग्यास पुर्‍याउने विषयमा पनि प्रश्न सोधियो। जवाफमा ओलीले अबको सपना चुलोचुलोमा विद्धुत भएको भनाई राखे।

नाकाबन्दीका समयमा दाउरा जोखिएर किन्नुपर्ने बाध्यता रहेको र त्यतिबेला नेपालीको मनोबल बढाउन आफूले चुलोचुलोमा ग्यासको विषय उठाएको जिकिर गरे।

ओलीले भने, ‘अहिले यही कुरालाई लिएर एमालेविरुद्ध ठूलै हतियार भेटिए झैं गर्छन्। चुला-चुलामा ग्यास पुर्‍याउने काममा हामी लाग्छौँ। अब आफ्नै उत्पादन विद्युत चुलो-चुलोमा पुर्‍याइनेछ। त्यसतर्फ हामी लाग्छौँ।’

कांग्रेसका लागि एमाले खतरा

प्रतिनिधिसभा विघटन गरेकाले एमाले देशका लागि खतरा देखियो भनेर कांग्रेस लगायत पार्टीले आरोप लगाएको विषयमा आक्रमक देखिए ओली। ओलीले भने : जसले एमाले खतरा भन्यो, उसको लागि हो एमाले खतरा पार्टी। देशका लागि सुरक्षण पार्टी हो।

'मंसिर ४, एमालेको सरकार' दाबी गर्दै ओलीले ५१ प्रतिशत जनमत एमालेको पक्षमा आउने तर्क गरे। 'मंसिर ४ मा एमालेलाई जनताले साथ दिन्छ। अरु पार्टीले बहुमत ल्याउँदैन। बहुमत ल्याउने एमालेले हो। प्रत्यक्षमा ८३ सिट जिते पुग्छ। तर जनताले १०० देखि ११० सिट एमालेलाई दिए के बिग्रन्छ?,' ओलीले प्रश्न गरे।

ठाउँठाउँमा ओलीका डमी

प्रचण्ड, माधव नेपालसम्म सरकार ढाल्न उत्रिएपछि दरबारमार्गदेखि देखाउन थालिएको ओलीको डमी घोषणापत्र सार्वजनिक गर्दा पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रमस्थलमा प्रवेश रजिस्टार लिने ठाउँमा फोटो खिच्नका लागि तीन वटा डमी र रेगल रुमको प्रवेशद्वारमा एउटा डमी राखिएको थियो।

हल वे मा डिस्प्ले : जाँदा एमालेको काम, फर्कँदा ग्यारेन्टीका बुँदा

कार्यक्रम स्थल पुग्नुअघि रजिस्टरका लागि दुई दर्तास्थल राखिएको थियो। त्यसपछि माथि हल वेमा ६ वटा डिस्प्ले। कार्यक्रम स्थल पस्दै गर्दा डिस्प्लेमा एमालेले गरेका कामहरुको बुँदा पढ्न सकिन्थ्यो।

फर्किँदा भने ग्यारेन्टीका २० बुँदा ती डिस्प्ले प्रदर्शन गरिएको थियो।

क्यु आर कोडदेखि पेनड्राइभमा घोषणापत्र

एमालेले कागजको रातो झोलामा घोषणापत्रको प्रेस कीट उपलब्ध गरायो। जहाँ हार्डकपीमात्र हैन पेनड्राइभमा घोषणापत्रको डिजिटल कपी थियो। त्यसैगरी घोषणापत्रको क्यु आर कोड पनि यही कीटमा समावेश थियो।

भावनामा बगेर देश बन्दैन भन्दै गरेका ओलीले यही कीटमा राष्ट्रियताको भावना घुसाएका थिए – जुन थियो नेपालको राष्ट्रिय झण्डा।  

'हाइ-टी'मा मिटबलदेखि रसबरीसम्म

रेगल रुममा कार्यक्रम सकिनसाथ घोषणापत्र कार्यक्रममा 'हाइ-टी'को व्यवस्था भएको घोषणा गरियो। रेगल रुमसँगै टाँसिएको डाइनिङ हलमा हाइ-टी लिन नेता कार्यकर्तादेखि सञ्चारकर्मीको लाइन लाग्यो।

हाइ-टीमा मिटबल, फिस, चिकेनका आइटमदेखि केक, स्यान्डविच र रसबरीसम्म थिए। हाइ-टी लिइरहेकाहरुको लाइनमा ओली नमस्कार गर्दै पुगे र सबैलाई धन्यवाद भन्न भ्याए।

एकनाथ ढकाल देखिँदा देखिएनन् बादल

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेका अधिकांश पदाधिकारी उपस्थित थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुभाष नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत एकै लहरमा देखिए।

दोस्रो लहरमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल देखिए। तर पार्टी छुट्टिँदा पनि एमालेमै रहेर उपाध्यक्ष बनेका रामबहादुर थापा बादल भने कार्यक्रममा देखिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell