PahiloPost

Dec 6, 2022 | २० मंसिर २०७९

'ड्रइङ रुम'मा ह्विस्की खाएर नेतालाई गाली गर्दैमा देश सुध्रिन्न, मैदानमा उत्रिनुपर्छ'  [विनोद चौधरीसँग अन्तर्वार्ता]

'ड्रइङ रुम'मा ह्विस्की खाएर नेतालाई गाली गर्दैमा देश सुध्रिन्न, मैदानमा उत्रिनुपर्छ' [विनोद चौधरीसँग अन्तर्वार्ता]

पहिलोपोस्ट /पहिलोपोस्ट


व्यावसायिक विरासतबाट विश्राम लिँदै यतिखेर विनोद चौधरी घरदैलोमा भेटिन्छन्। पश्चिम नवलपरासीका बस्तीबस्तीमा उनी जसरी हिँडिरहेका छन् - लाग्छ व्यवसायी होइन, नेता नै मैदानमा छ। फोब्सको डलर अर्बपतिको सूचीमा रहेका नेपालका एकमात्र धनाड्यको चुनाव यात्रा कसरी चलिरहेको छ भन्ने हामीले यसअघि प्रस्तुत गरिसकेका छौं (पढ्न यहाँ क्लिक गर्नुस्) व्यावसायिक साम्राज्य हाँकिरहेका उनमा राजनीतिको मोहले डेरा जमाइसकेको छ। भन्न त उनी प्रारब्धले यहाँ पुर्‍यायो भन्छन्। भाग्यमा सिर्जनामात्र रहेको सौख नरहेको पात्रका रुपमा आफूलाई उभ्याउँछन्। चुनावले बदलिएको उनको दैनिकीको अनुगमन गर्दा नाम र दाम दुवै दिने व्यवसायलाई चटक्कै छाडेर यसरी किन हिँडेका होलान् भन्ने लाग्छ नै। पश्चिम नवलपरासीका बस्तीबस्तीमा चौधरी हात जोड्दै डुलिरहेका छन्। चुनावले उनलाई अर्को संघर्षका लागि फरक धरातलमा अवतरण गराएको छ। त्यही चुनावी रन्कोका बिच हामीले उनलाई ग्राउन्ड जिरोमै भेट्यौं। आखिर किन राजनीतिमा लाग्नु पर्‍यो? के पुगेको थिएन र उनलाई? सहज जीवन छाडेर एकएक भोटका लागि गरिवका घरघर चहार्नुपर्ने अवस्थाबारे विज्ञान अधिकारी र सविन ढकालले सोधे –

फोर्ब्सको सूची अनुसार नै डलर अर्बपति तपाईँ। पटक पटक सांसद पनि भइसकेको व्यक्ति। अहिले आएर यस्तो देहातमा दु:ख गरेर भोट माग्दै हुनुहुन्छ। आखिर केका लागि?

अहिले म जति गहिरो यात्रामा छु त्यति चुनौती र अवसर नै अवसरहरू देख्दै छु। जीवन पक्कै सजिलो छैन। धेरैले हल्कासँग राजनीतिलाई लिन्छन्। टिप्पणी पनि गर्छन्। त्यसभित्र प्रवेश नगरी राजनीति के हो भनेर बुझ्न सकिँदैन। त्यसमा पनि खास गरेर जनताको राजनीति।

एक लाख १० हजार मतदाता छन्। मेरो प्रारब्धले मात्र यो ठाउँमा पुर्‍यायो। संयोगले नवलपुरमा ४० वर्षसम्मको सम्बन्ध भए पनि नवलपरासी पश्चिम, क्षेत्र नम्बर १ मा राजनीतिक दृष्टिकोणबाट जोडिएको फगत महिना दिन भयो।

मान्छेलाई भाग्यले डोहोर्‍याउँदै डोहोर्‍याउँदै यस ठाउँमा पुर्‍याउँदो रहेछ। सङ्गठनमा जानुपर्छ। सङ्गठनमा नगई कुनै प्रभाव पार्न सकिँदैन भन्ने लागेर यहाँ छु। पिपुलकै म्यान्डेट नलिइ प्रभाव पार्न सकिन्न भन्ने चाहिँ मैले रियलाइज गरेकै हो दुईचोटि संसद्मा गइसकेपछि।

यहाँ आएपछि तपाईँले के नयाँ देख्‍नुभयो जसले तपाईँलाई यस्तोगरी हिँड्न प्रेरित गर्‍यो?

विगत २५ वर्षदेखि विकासका नाममा, आन्तरिक गुटबन्दीका नाममा, संवेदनशील क्षेत्र सुस्ताको कुरै गर्नु हुँदैन भन्ने मान्छेलाई थियो। मलाई पनि त्यही थियो यहाँ आउनुभन्दा अगाडि। एउटा परिस्थितिबाट जकडिएर राखिएको रहेछ यहाँको चरम गरिवी।

मैले यो जीवनको उत्तरार्धमा आएर के अनुभव गरे भनेँ ४५ वर्षसम्म मैले विकासकै यात्रा गरेछु जुन ‍औद्योगिक विकास, आर्थिक विकास र त्यसपछि एफएनसीसीआई, सिएनआई हुँदै पार्लियामेन्टसम्म। त्यति हुँदा पनि खासै चेन्ज ल्याउन सकिएनछ। केही परिवर्तनका लागि आफैँ त्यही ठाउँमा उत्रिनुपर्ने रहेछ। निर्णायक ठाउँमा पुग्नुपर्ने रहेछ। राजनीतिले मान्छेलाई सिरियस्ली लिनुपर्ने वातावरण बनाउनुपर्ने रहेछ भन्ने सिकायो मलाई।

व्यावसायिक व्यक्तित्वका हैसियतमा तपाईँले रोजगारी दिइरहनु भएकै छ। एकखाले सम्मान तपाईँप्रति छँदैछ। त्यसैमा नरहेर राजनीति नै अनिवार्य किन बन्यो?

जीवनमा धेरै गर्ने मौका मिल्यो। उद्योग ग्रामकै कुरा गर्ने हो भने ३५ वर्ष लाग्यो। अब मैले त्यो ३५ वर्ष लगाएर गरेको मेहनतबाट प्रत्यक्ष अप्रत्यक्ष गरेर १० हजार भन्दा बढी रोजगारी सिर्जना गर्न सकेँ। तर, दैनिक हजारौं युवा विदेश जान्छन्। अब त कस्तो भइसक्यो भने अलिकति सिर्जनशील नेपाली बाहिर गएपछि फर्किएर आउन चाँहैन। ६०/७० उमेरका बाबुआमाहरू छोराछोरी नाति नातिना भेट्न त्यहाँ जान बाध्य छन्। उनीहरू फर्किने स्थिति छैन। त्यसले अर्को सोसल क्राइसिस निम्त्याउँदैछ।

यिनैको पृष्ठभूमिमा विनोद चौधरीले जतिसुकै कुरा गरे पनि वा विनोद चौधरीजस्ता सयौंले कुरा गरे पनि रियल चेन्ज स्टेटले मात्र ल्याउन सक्छ भन्ने हो। राजनीतिले मात्र ल्याउन सक्छ। त्यो स्टेटले ल्याउँछ भनेको के हो भने राज्य संचालनको निर्णायक भूमिकामा बस्नेले यदि बोल्ड डिसिजन गर्‍यो भने चाहिँ यस्ता ३५ वर्ष लागेको उद्योग ग्राम ७७ वटै जिल्लामा दुई वर्षभित्र बनाउन सकिन्छ। उसले व्यूरोकेसीसँग सहकार्य गर्न सक्छ र हाँक्न सक्छ किनकि नेपालमा रिसोर्सको कमी छैन।

विकास खर्च हामी १५ प्रतिशत पनि गर्न सक्दैनौं। मलाई फलो गर्ने १५ लाख युवाले सधैँ एउटा प्रश्न सोधिरहेका हुन्छन्- तपाईँ त बिलिनियर हुनुभयो। नेपाल भित्रमात्र होइन बाहिर पनि पहिचान बनाउनु भयो। हामीलाई खै त एउटा जागिर पनि दिलाउन सक्नु भएन। हामीलाई आफ्नै खुट्टामा उभिन सिकाउनु भएन। यसखाले कुराले बढो घोच्छ मलाई। राजनीतिको माध्यमबाट अब मलाई न नाम न दाम नै चाहिएको हो। अहिले नाति नातिना खेलाएर बसे पनि हुन्थ्यो। ४५ वर्षसम्म जे जति आर्जन गरेँ त्यसलाई उपभोग गरेर रमाइरहे नि हुन्थ्यो। तर, कसैकसैको भाग्यमा चाहिँ भोग नलेखेर संर्घषमात्र लेखेको हुँदोरहेछ।

के त्यसो भए अब तपाईँको बिजनेसमा विश्राम र राजनीतिमा उदय भएको मानौं?

म संसदमा जान थालेपछि बिजनेसको कार्यकारी भूमिका छोड्न सुरु गरेको हो, धेरै अघिबाट। नयाँ पुस्ता र हाम्रो प्रोफेसनल टिमले सबै चलाउने हुन्। त्यहीँ पनि मेरो भूमिका भनेको एउटा रणनीतिक भूमिका थियो। डिसिजन र पोलिसी लेभलको र करेक्टिभ भूमिका। एउटा मेन्टर र अभिभावक। एक महिना भयो म यहाँ बसेको छु। एउटा फोनसम्म गर्न पाउँदिन। त्यसका लागि म मेन्टल्ली तयार छु। मैले मेरा अर्गनाइजेसनका सबै भन्दिएको छु - अब तिमीहरूले म बाट आश नगर्नु। म नयाँ जिम्मेवारीमा प्रवेश गर्दै छु। मेरो काँधमा ठूलो जिम्मेवारी छ। मानिसको ठूलो आशा छ। जसले मलाई भोट दिनेवाला छन् उनीहरूले केही न केही सोचेर दिने हुन् - केही न केही गर्ला भनेर। त्यो मेरो जिम्मेवारी हो। त्यस्तो जिम्मेवारी निभाउनु मेरो प्राथमिकता हुनेछ।

बिजनेस सञ्चालन र राजनीतिक सञ्चालन हुने कुरा कतिको फरक पाउनु भएको छ त?

कस्तो हुन्छ भने नि हाम्रो जस्तो प्राइभेट सेक्टर अर्गनाइजेसनमा प्रपर चेन अफ कमान्ड, रुल अफ ल, गुड गभर्नेस, हायर और फायर लगायतका सिद्धान्तहरूले काम गर्छ। राजनीतिमा त्यसले काम गर्दैन। राजनीतिमा एउटा भर्टिकल्ली सत्ताको र पार्टी कन्ट्रोलको लडाइँ चलिरहेको हुन्छ। त्यसले कहीँ न कहीँ हरेक ठाउँमा प्रभाव पारिरहेको हुन्छ। 'टेस्ट अफ लिडरसीप' भनेको त्यही नै हो। तपाईँमा लिडरसीपको क्वालिटी छ भने जस्तै परिस्थितिमा पनि न्यूनतम डेभलपमेन्ट एजेन्टका रुपमा सबै क्षेत्र समेटेर हिँड्न सक्नुपर्छ। अहिलेको मेरो टिमलाई पनि त्यसरी नै साथमा लिएर हिँडिरहेको छु। भर्खर सुरु भएको छ जसलाई म लक्ष्यमा पुर्‍याउन सक्छु।

विगतमा मैले जति जिम्मेवारी पाएँ, सीजीको मात्र कुरा नगरौँ, सीएनआई, एफएनसीसीआई वा अरु विभिन्न निकाय, त्यहाँ पनि विभाजन भएको होइन। त्यहाँ पनि मतभेद, गुटबन्दी नभएको होइन। त्यहाँ पनि अलगअलग संस्कार बोकेका र उद्देश्य बोकेका मानिसहरू थिए। सीएनआई कुनै हालतमा पनि बन्न दिन्नन् भन्ने तप्का थियो। आज एउटा बलियो जिम्मेवार संस्थाको रुपमा उभियो त। त्यसरी नै गर्न सकिन्छ भन्ने मेरो मान्यता हो। म त्यो बाटोमा लागिरहेको छु।

तपाईँको कुरा महत्त्वकांक्षी सुनिन्छ। आउने सरकारमा सहभागी हुने या कार्यकारी पदमा नै पुग्ने भन्ने हो?

राजनीति गर्ने मान्छेले केही उद्देश्य बोकेको हुन्छ। एउटा ठूलो स्टेक राखेर हिँड्ने मानिसले डेलिभर गर्न पाउनुपर्छ भन्ने हक अगाडि सार्नु त स्वाभाविक हो। मतलब राजनीतिमा निर्णायक ठाउँमा पुग्नु नै हो। कुनै पनि राजनीति गर्ने मान्छेले 'निर्णायक ठाउँमा पुग्न चाहन्न, म यत्तिकै राजनीति गरेको हुँ' भन्ने हो भने त काशी गए भइगयो नि ! अहिले, पार्टीले जुनसुकै ठाउँ दिए पनि लड्न तयार छु भनेँ। भोलिका दिनमा पार्टीले उपयुक्त सम्झेर जुनसुकै जिम्मेवारी दियो भने पनि म ट्रान्सफर्म चाहिँ गर्नसक्छु। मैले ट्रान्सफर्म गर्न सकिन भने वर्ष दिनभित्र राजीनामा बुझाइदिन्छु।

लामो समयदेखि राजनीति गरिरहेका मानिसको भाग खोज्न खोजेजस्तो भएन र यसरी उभिँदा?

कयौँ मान्छेको बुझाइ के छ भने राजनीतिक भनेको जेलनेल गर्ने मानिसले मात्र गर्ने चिज हो। पटकपटक परिवर्तन त्यसरी राजनीति गर्ने व्यक्तिहरुले नै ल्याएको हो, स्वीकार्न पर्छ। उहाँहरु प्रति मेरो उच्च सम्मान छ। उहाँहरु नभइ चेन्ज आउने थिएन। तर, नेपालको कन्टेस्टमा त्यो अपूरो छ आर्थिक विकास पोइन्टबाट हेर्दा। आर्थिक विकासका लागि हामीजस्ता प्रोफेसनल चाहिँ सहकार्य र पार्टनरसीपका निम्ति आवश्यक छ। ससम्मान भन्नुपर्छ म जे गर्नसक्छु उहाँबाट गाह्रै होला। विकासमा विभिन्न अवरोधहरू देखिनुको कारणले त्यसलाई स्थापित गर्छ। अर्कातिर उहाँहरुले जे गर्न सक्नुहुन्छ म अर्को ६६ वर्ष बाँचे भने पनि गर्न सक्दित त। यो एक अर्को सव्सटिच्युट होइन?

मतलब राजनीतिमा निजी क्षेत्रको पनि सक्रिय भूमिका हुनुपर्‍यो भन्ने तपाईँको भनाई हो?

जहिले पनि उदाहरण दिन्छु - भारतको विकासमा छलाङ मार्ने काम भयो नरसिंह राय र मनमोहन सिंहको पार्टनरसीपबाट। बङ्गलादेशका फरेन मिनिस्टर मेरो मित्र हुनुहुन्थ्यो। उहाँले 'हाम्रो हाउसमा अहिले ३५ जना प्राइभेट सेक्टरका छन्। क्याबिनेटमा १६ जना प्राइभेट सेक्टरका छन्। तपाईँहरू कहाँ के छ?' भनेर सोध्नु भयो। हाम्रोमा कोही पनि छैनन्। उहाँले जबसम्म 'ड्रइङ रुम'मा बसेर ह्विस्की खाएर राजनीतिलाई गाली गर्ने, टीकाटिप्पणी गर्ने अनि रिस्क लिएर राजनीतिमा हाम फाल्न नचाहने हुन्छ तबसम्म निजी क्षेत्रले उहाँहरूको मनी ब्याकको रुपमा राजनीतिमा इन्टरभेन्सन गरिरहेको बताउनु भयो। तपाईँको क्षेत्रको केही पनि नबुझेका मान्छे पावरमा पुग्छन्। र, तपाईँलाई उद्योग कसरी चलाउने भनेर ज्ञान दिन्छन् भनेको अहिले पनि झलझल सम्झन्छु। जसले राजनीति सञ्चालन गर्छ उसले राजनीति सञ्चालन गर्ने हो। जसले डेभलपमेन्टको एजेन्डालाई ड्राइभ गर्नसक्छ त्यसले उद्योग व्यावसायको राजनीतिलाई ड्राइभ गर्ने। यी दुईको समिश्रण नभइ देश बन्दैन।

तपाईँको क्षेत्रमा पटकपटक जितेका व्यक्ति प्रतिस्पर्धामा हुनुहुन्छ। अर्कातिर तपाईँको उद्योगधन्दा भएको क्षेत्र पनि होइन यो। यिनै पेरिफेरिमा कत्तिको कठिन रुपमा लिनु भएको छ प्रतिस्पर्धा?

राजनीतिमा कसैले ग्रान्डटेड चाहिँ लिनु हुँदैन। जनताको आँखामा पीडा र वेदना देखिरहेको छु - न्यूनतम मलखाँदसम्म नपाउँदा। बाढी र हजारौँजग्गा डुबानमा परिरहन्छ। वर्षा आउन लाग्यो भन्ने बित्तिकै बालबच्चा बोकेर कुन बेला मरिने वा बाँचिने हो भन्ने स्थिति छ। केराले मूल्य नपाएको अवस्था छ। उखु किसानले भुक्तानी पाएका छैनन्। बैङ्कले पैसा दिनुपर्ने ठाउँमा लालपुर्जा हुँदाहुँदै पनि गुगल म्यापले अर्को देशको भूमि देखायो भनेर नदिएको अवस्था छ। मिटर ब्याजको चक्करमा फसेका छन्। यस्ता अनगिन्ती लामो लिस्ट छ। लामो लिस्टलाई लात मारेर जसले सत्ता गरेर यहाँ बसे तिनका आत्माले पनि धिक्कार्ने छ। जनताले पनि धिक्कार्ने नै भए। त्यही चेन्जका लागि म लड्ने छु। मैले त्यो लडाई सुरु गरिसकेँ। मेरो टिम त्यो काममा लागिसकेको छ।

तपाईँका एजेन्डा यिनै विषयमा फोकस हुने हो?

शतप्रतिशत नै हो। आज राजनीति भनेको अन्तिम साधन हो तर अन्तिम साध्य भनेको विकास हो। यहाँ सांस्कृतिक र आध्यात्मिक दृष्टिकोणबाट धेरै सम्भावना छ। म जहाँ जान्छु त्यहाँ बुद्धका पाउहरू भेट्छु। अनुमा घाटमा बुद्धले घोडा बाँधेर त्यहीँ केस मुन्डन गरेर बुद्धमार्गको यात्रा सुरु गर्नुभएको रहेछ। यहाँ बुद्धले आएर आराम गरेको ताल छ। यस्ता यस्ता ठाउँहरूलाई पर्यटकीय गन्तब्य बनाउन नसक्नु भनेको नालायकीपन बाहेक केही पनि होइन।

भगवानको प्रेरणा होला सास्वत धाम बनाएँ। त्यहाँ ५० लाख टुरिस्ट आउनसक्छ भने यहाँ त ५ करोड आउनसक्छ। अन्तर्राष्ट्रिय एयरपोर्ट छेउमा छ। लुम्बिनी छ। तर भारततिरबाट गाडी आउन सक्दैन। लास ल्याउनुपर्दा बोकेर ल्याउनुपर्छ। चौपायासमेत चल्न सक्दैन। यस्ता सबैलाई टेकेर चेन्जको लागि हो हाम्रो यात्रा। किन भने मैले जानेको यात्रा यही हो। राजनीति भनेको मेरा लागि केवल माध्यम हो। साध्य भनेको परिवर्तन नै हो। मैले धेरै ठुलो कुरा पनि गरेको छैन। पाँच वर्षको रोडम्याप बनाएर हाम्रो टिमका साथ लाग्छौं।

स्थानीय तहले हरेक वडामा साधनस्रोत सम्पन्न सरकार बनाएको छ। वडाले वडाको, जिल्लाले जिल्लाको, प्रदेशले प्रदेशको काम गर्नुपर्छ। तर, त्यसका लागि एउटा स्पष्ट सोच चाहिन्छ। एउटा रोड म्याप चाहिन्छ।

चुनावमा एउटा फोटो भाइरल भयो। खानादेखि बाइक चढेको। के ती चुनावी स्टन्ट होइनन्? चुनावपछि पनि त्यस्ता दृश्य देख्‍न मिल्छ?

कायमै रहन्छ। मेरो सुरुवात नै त्यहीँबाट भएको हो। म सरकारी स्कुलमा पढेको मान्छे। सार्वजनिक बस चढेर हिँडेको मान्छे। अहिले पनि म जसरी सहज रूपले साथीभाइको प्राइभेट जेट चढ्न सक्छु त्यतिकै सहज रुपले बाटोमा र धुलोमा हिँड्नसक्छु। अनि झुपडीमा बस्नसक्छु। त्यसमा चेन्ज आउँदैन। मेरो जीवन नै त्यस्तै हो।



ट्रेन्डिङ पोस्ट

Ncell