PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

भिमानको नयाँ बस्तीमा चुनाव आयो पानी आएन : जित्न गठबन्धन गरे, जनताको समस्यामा खै गठबन्धन?

भिमानको नयाँ बस्तीमा चुनाव आयो पानी आएन : जित्न गठबन्धन गरे, जनताको समस्यामा खै गठबन्धन?

रविन खाकी/पहिलोपोस्ट


भिमान : सिन्धुलीको भिमान नजिकै पर्ने नयाँ बस्तीका घर घरमा उम्मेदवारहरुको पोस्टर टाँसिएको छ। गत आइतवार साँझ ५ बजे पुग्दा घरका छानाहरुमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि स्वतन्त्र पार्टीका झन्डा फरफराइएको थियो।

यही बेला एक जना बालिका डोकोमा पानीले भरिएका बोत्तल बोकेर आइपुगिन्। आधा घण्टा लगाएर आफू पानी भरेर आएको सुनाउँदै थिइन् उनी। दैलोमा पस्ने बाटैमा धारा थियो। धारामा भने कमिला हिँडिरहेको थियो।

यही बेला अर्को महिला आइपुगिन् गाग्री लिएर। उनी रहेछिन् रश्मी माझी।

'धारा छ, पानी छैन, के गर्नु?' कम्मरमा गाग्री राखेर उभिएको उनले भनिन्। पानी भर्न भरेर आउन आधा घण्टा लाग्ने सुनाउँदै उनले थपिन्, 'पाँच पटक धारा आयो तर पानी आएन। दुई महिनासम्म श्रमदान गएको खेरै गयो।'

धारामा पानी नआए पनि पैसा तिर्नुपर्ने सुनाइन् उनले।

'महिनाको ७५ रुपैयाँ पनि तिर्नुपर्छ। तर धारा 'शो'का लागिमात्र भयो,' यति भनेपछि उनले सोधिन्, 'कुन पार्टीबाट आउनुभएको तपाईंहरु?'

हामीले मिडिया भनेपछि थप कुरा खोतल्न थाले स्थानीयले। रश्मि भने पानी लिन बाटो लागिन्। भिमानमा रहेको तल्लो गाउँमा पानी भर्न उनी पुग्दै गर्दा देवेन्द्र वनले यहाँको समस्याको बेलीविस्तार लगाए।

नयाँ बस्ती सुकुम्बासी बस्ती रहेछ। माझी, तामाङ, बाहुनलगायत गरि २२ घर रहेको यस गाउँमा कुनै पनि नेताले पानी नल्याएको दुखेसो पोख्दै थिए देवेन्द्र वन।

'चुनाव आउँदा पानी ल्याउछु भन्छ, जितेपछि कोही आउँदैनन्,' सडक छेवैमा छाप्रोमा पसल थापिरहेका वन आक्रोशित सुनिए। सिन्धुली क्षेत्र १ मा पर्ने यो गाउँ कमलामाई नगरपालिका वडा ९ मा पर्छ। पहिले यो क्षेत्र एमालेको वर्चश्व रहेको क्षेत्र भएको वनको भनाई थियो। उनी भन्दै थिए, '३० वर्ष एमालेले जितेको ठाउँ हो। केही नगरेपछि यसपटक वडामा कांग्रेस जित्यो। कांग्रेसले पनि केही गरेको छैन।'

सिन्धुली क्षेत्र १ मा पर्ने यस क्षेत्रमा यसपटक गठबन्धनबाट कांग्रेसका श्यामकुमार घिमिरे उम्मेदवार छन् भने एमालेबाट प्रदीप कटुवाल।

बस्ती अघि ठुल्ठुला रुख काटिदिने चुनावी वाचा नेताहरुले भुलिसकेको वनको भनाई थियो। उनी भन्दै थिए, 'पानी पनि ल्याएनन्। रुख पनि काटिदिएनन्। हावाहुरी आउँदा उत्तिकै डर हुन्छ।'

सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश

चुनाव जित्न गठबन्धन गरे पनि स्थानीयको दु:ख समाधान गर्न कुनै दलले गठबन्धन नगरेको उनको गुनासो थियो। 'जित्न गठबन्धन गरे। तर हाम्रो समस्याको समाधान गर्न कसैले गठबन्धन गरेनन्,' वनले भने। वनसँगको कुरा सकनै लाग्दा रश्मि इनारबाट फर्किए। फर्किँदा उनका श्रीमानले काँधमा गाग्री बोकेका थिए। उक्त दृश्य देखाउँदै वन भन्दै थिए, 'हामीलाई कुनै नेताले हेरेनन्। मिठो पानी पिउन ठाउँ ठाउँ कहिलेसम्म धाउनुपर्ने हो?'



ट्रेन्डिङ पोस्ट

Ncell