काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र तीन दिन बाँकी छ। आज उम्मेदवार र दलहरुले अन्तिम चुनाव प्रचारप्रसार गरिरहेका छन्। भोलिबाट मौन अवधि सुरु हुने भएकाले आजको दिनलाई उम्मेदवारहरुले आफ्नो पक्षमा मत तान्न प्रयोग गरिरहेका छन्।
प्रतिनिधिसभा उम्मेदवारहरुसँगै प्रदेशसभामा उम्मेदवारहरु पनि तीव्रताका साथ प्रचारप्रचारमा लागिरहेका छन्। काठमाडौंको कोर बस्ती रहेको वाग्मती प्रदेशसभा ८ (क) मा पनि उम्मेदवारहरुले आक्रमक प्रचार गरिरहेका छन्। अन्तिम दिन भएकाले आज बिहानैदेखि उम्मेदवारहरु घरदैलोमा छन्।
यो क्षेत्रबाट नेकपा एमालेबाट राजेशकाजी शाक्य चुनावी मैदानमा छन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा यही क्षेत्रबाट जितेका उनी फेरि प्रदेशसभामा जाने लक्ष्यमा छन्। भने, 'पार्टीले गएको ५ वर्षमा गरेको कामको मूल्यांकन गरेर फेरि मौका दिएको छ। अब नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रदेशसभामा जानेछौं।'
शाक्यलाई यसपटक नेपाली कांग्रेसबाट राजुराज जोशीले प्रदेशसभा सिटमा चुनौती दिइरहेका छन्। राजुराज २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार थिए। उनी कांग्रेसका दिवंगत नेता नविन्द्रराज जोशीका दाइ हुन्। जोशी भने यसपटक प्रदेशसभा निर्वाचनमा आफू जित्ने दाबी गर्छन्।
'यसपटक गठबन्धनको पक्षमा हुनेछ,' घरदैलोमा भेटिएका उनले भने।
यता, शाक्य भने गठबन्धनले आफूमाथि निराधार आरोप लगाइरहेको भन्दै आरोपप्रत्यारोपले चुनाव नजित्ने बताउँछन्। गठबन्धनका उम्मेदवारले आफूमाथि कालोबजारी गरेको आरोप लगाएको भन्दै सो विषयमा कुनै सत्यता नरहेको उनले बताए।
'उहाँले फेरि चिनीको मुद्दा उठाउनु भएछ। यसबारेमा सत्यतथ्य बाहिर आइरहेको छ। गठबन्धनसँग अरु कुनै मुद्दा नै छैन। पहिला वाचा गरेको अधिकांश मुद्दालाई सम्बोधन गरेको छु। अब पनि गर्नेछु,' उनले भने। गठबन्धन आफै अलमलमा रहेको भन्दै यसपटक जनताले फेरि नेकपा एमालेलाई जिताउने उनले विश्वास व्यक्त गरेका छन्।
शाक्यले नै २०७२ सालको भूकम्पमा ढलेको काष्ठमण्डपको पुनर्निर्माण गर्न नेतृत्व गरेका थिए। शाक्य अहिले मतदाताले काष्ठमण्डपलाई हेरेर पनि आफूलाई मत दिने दाबी गरे।
'अहिले जसले पनि काष्ठमण्डप राजेशकाजीको नेतृत्वमा बनेको भनेर भनिरहेका छन्। लामोसमयसम्म बन्न नसेकेको काष्ठमण्डप अहिले ठडिएको छ। यसपटकको निर्वाचनमा काष्ठमण्डप बनाएको जस मतदाताले मत दिएर दिनेछन्,' राजेशकाजीले भने।
पढ्नुस : सुनको मण्डपमा फेरि ठडिएको काष्ठमण्डप : 'अब काठ खोज्न अन्त जान नपरोस्'
काठमाडौं क्षेत्र नम्बर ८ (क) मा काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर १३, १९, २०, २३ र २४ छन्। कोर क्षेत्रमा पर्ने यी क्षेत्रको सम्पदा संरक्षण र भित्री शहर व्यवस्थापनमा यहाँका मतदाताहरुले चासो दिएका छन्। ट्राफिक व्यवस्थापन, पार्किङ, सम्पदा रुट, मन्दिरको संरक्षण र संस्कृति प्रवर्द्धनसँगे कोर क्षेत्रमा रोजगारी सिर्जनालाई मतदाताहरुले चुनावी एजेन्डा पनि बनाएका छन्। उम्मेदवारहरुले भने मतदाताहरुको माग जायज भएको भन्दै त्यसको सम्बोधनमा लाग्ने बताएका छन्।