PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?



प्रकाश भण्डारी

सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०७९ पछि सबैभन्दा ठूलो दल बन्ने चरणमा छ नेपाली कांग्रेस। २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएर दोस्रोमा खुम्चे पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार २ पटक प्रतिनिधि सभाको विघटनपछि संकटमा पर्दा।

अहिले स्वाभाविकै छ पहिलो दल हुनुको नाताले कांग्रेसले सरकार गठनका लागि गृहकार्य गर्नु। सत्ता गठबन्धनको चुनाव अघिको घोषणा नै थियो -गठबन्धनकै नेतृत्वमा सरकार बनाउने। उक्त घोषणा अनुसार नै सरकार बन्छ या अहिलेको परिणामले समीकरणमा फेरबदल आउँछ?

प्रतिनिधि सभामा दलहरूले जितेको सिटलाई केलाउँदा गठबन्धनलाई सरकार गठनका लागि प्रस्ट बहुमत पुग्छ। कुनै पनि दलले प्रस्ट बहुमत नल्याएका कारण संविधानको धारा ७६(२) अनुसार सरकार गठन हुने छ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। प्रतिनिधि सभामा कायम रहेको सदस्य संख्या २७५ को बहुमत १३८ हो। १३८ वा त्योभन्दा बढी प्रतिनिधि सभाका सदस्यको समर्थन जुटाउने नेता प्रधानमन्त्री नियुक्त हुने छ।

गठबन्धनको सरकार एमाले प्रतिपक्ष!

सत्तारुढ दल गठबन्धन गरेर चुनावमा गएझैं एमाले पनि साना दलसँग तालमेलमै चुनावी मैदानमा उत्रिएको थियो। तर एमालेले पक्षमा बहुमत छैन। यसैले समीकरण फेरबदल नभए एमाले प्रमुख प्रतिपक्षी दल बन्ने देखिन्छ भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल सत्तारुढ हुनेछन्। तर त्यसका लागि अहिलेकै गठबन्धनको निरन्तरता हुनु जरुरी छ।

बहुमतमात्र नभई सत्ता समीकरणलाई अझ बलियो बनाउन सत्ता गठबन्धन बाहिरका जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले नयाँ बन्ने सरकारलाई समर्थन गर्नुपर्ने छ। सरकार बनाउन गठबन्धनको पछिल्लो मत परिणामलाई केलाउँदा गठबन्धन दलको मात्रै १३८ सिट पुग्छ। पार्टीबाट विद्रोह गरेर स्वतन्त्र बनेका पनि सत्ताको खेलमा आफ्नै पुरानै पार्टीमा फर्किने सम्भावना त हुने नै भयो।

एमाले परित्याग गरेका प्रभु साह माओवादीको तर्फबाट गठबन्धनको सहयोगमा रौतहट-३ बाट निर्वाचित भएका छन्। प्रभु शाहले नै चुनावमा उतारेका किरणकुमार साह रौतहट -२ बाट निर्वाचित भएका छन्। यसै गरी कांग्रेसबाट विद्रोह गरेर अमरेशकुमार सिंह सर्लाही-४ बाट निर्वाचित भएका छन्। जसलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षका सांसदका रूपमा गणना गरिरहेको छ।

गठबन्धनलाई प्रस्ट बहुमत!

कांग्रेसको ५३ ठाउँको जित र २ ठाउँको अग्रता जोड्दा प्रत्यक्षमा मात्रै ५५ सिट हुन जान्छ। बाजुरा-१ मा उम्मेदवार रहेका बद्री पाण्डे र स्याङ्जा २ मा उम्मेदवार रहेका धनराज गुरुङमध्ये एक जनाले वा दुवै जनाले चुनाव जित्ने आकलन कांग्रेसको छ। दुवै ठाउँको विवादका कारण मत परिणाम आएको छैन। एक जनाले मात्रै चुनाव जिते पनि कांग्रेसको प्रत्यक्षतर्फको सिट ५६ हुने छ।

माओवादी केन्द्रले १७ सिट जितेको छ। एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले ४ र जनमोर्चाले १ सिट जितेका छन्। यसरी जोड्दा प्रत्यक्षतर्फ गठबन्धन दलको सिट ८८ हुन्छ।

समानुपातिकको अन्तिम मत परिणाम आइसकेको छैन। अहिलेको मतपरिणामलाई मान्दा नेपाली कांग्रेसले ३४ सिटको हाराहारी देखिन्छ। प्रभु शाहको दुई सिट जोड्दा र एकीकृत समाजवादीले समानुपातिकमा थ्रेसहोल्ड नकटाए पनि माओवादी केन्द्रले १५ सिट ल्याउँदा सत्ता गठबन्धनको पक्षमा १३९ सिट हुन जान्छ।

७ सिट जितेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी थपिने बताइन्छ। किनभने दुबैलाई गठबन्धनमा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल थालिसकेका छन्। दुवै पार्टी गठबन्धनमा थपिए गठबन्धनका पक्षमा १४९ सिट हुन जान्छ।

गठबन्धनको यस्तो गृहकार्य

गठबन्धनका नेताहरूले मतपरिणाम आउने क्रम अन्तिममा पुगेसँगै नयाँ सरकार गठनको अनौपचारिक गृहकार्य पनि सुरु गरिसकेका छन्। माओवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्‍वरजंग गहतराजले गठबन्धनकै पक्षमा बहुमत पुग्ने भएकाले सरकार गठबन्धनकै सरकार बन्ने दाबी गरे।

‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसका लागि पहल पनि भइरहेको छ। अहिलेको मतपरिणाम हेर्दा पनि गठबन्धनकै सरकार बन्छ,’ उनले भने।

गहतराज भने बाँके १ बाट पराजित भएका छन्। प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार सरकार गठनको समीकरणबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सोमबार नै भेट गरेका थिए। उक्त भेटमा नेपालले पौडेललाई नै प्रधानमन्त्रीको हकदार भएको बताएका छन्।

कसको पक्षमा बन्छ त माहोल?

सरकार गठनका लागि सत्ता गठबन्धनको पक्षमा बलियो बहुमत जुट्ने देखिएपछि गठबन्धन दलकै नेता प्रधानमन्त्रीका लागि दौडधुपमा छन्। जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसका नेता प्रधानमन्त्रीका लागि दाबी गरिरहेका छन्। नेपाली कांग्रेसबाट प्रधानमन्त्रीमा दाबी गर्ने नेताहरू हुन्- महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शंशाक कोइराला र अहिलेका प्रधानमन्त्री तथा पार्टी सभापति देउवा। संयोग नै मान्नुपर्छ प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेसका सबै नेता चुनावमा विजयी भइसकेका छन्। यी नेताहरुमध्ये सबैभन्दा बलियो दाबेदार मानिएका छन् देउवा।

कांग्रेसभित्रको समीकरणका हिसाबले पनि देउवा प्रधानमन्त्रीका लागि बलियो दाबेदारका रूपमा हेरिन्छ। किनभने कांग्रेस संसदीय दलमा उनको पक्षमा बलियो मत जुट्ने उनी निकट नेताहरू बत्ताउँछन्। अर्कोतर्फ अरू नेताहरूलाई कांग्रेसको संस्थापन र संस्थापनइतर दुवै पक्षले स्वीकर्ने सम्भावना कम छ। देउवाले पार्टी महाधिवेशनका बेलामा पनि आफूइतर पक्षका केही नेताको पनि समर्थन जुटाएका थिए।

त्यसो त प्रधानमन्त्रीकै लागि सबैभन्दा धेरै चर्चामा भएको नाम हो कांग्रेस नेता थापाको पनि। प्रधानमन्त्री नै बन्ने घोषणा गरेर थापा चुनावमा गएका थिए। उनले पनि यस पटक प्रधानमन्त्रीका लागि बलियो दाबी प्रस्तुत गरिहरेका छन्।

नेता सिंहले पनि प्रधानमन्त्रीका लागि पार्टी भित्रमात्रै होइन अरू पार्टीसँग पनि छलफल गरिरहेका छन्। आइतबार सिंह एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। अर्कोतिर प्रधानमन्त्रीमा दाबी गरिरहेका शेखर कोइराला पनि प्रधानमन्त्रीको बलियो दाबेदार मानिन्छन्। किनभने उनले कांग्रेसभित्र देउवाइतर खेमाको नेतृत्व गरिरहेका छन्।

कांग्रेसभित्र प्रधानमन्त्रीका लागि मारमुङ्ग्री चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचन अघिदेखि नै प्रधानमन्त्री बन्ने बताइरहेका छन्। गोरखामा चुनाव प्रचार प्रसारका क्रममा पनि उनले अब देशको नेतृत्व आफूले गर्ने बताएका थिए।

तर उनलाई अहिलेको चुनावी परिणामले साथ भने दिएको भने छैन। प्रत्यक्षमा १७ सिट मात्रै जितेको माओवादीलाई कांग्रेसले समर्थन गरेर सरकारको नेतृत्व दिन्छ कि दिन्न? भन्नेबारेमा अहिले नै प्रस्ट भने भइसकेको छैन। देउवालाई प्रचण्डले कन्भिन्स गरे प्रचण्ड-देउवाको आलोपालो सरकार बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न। किनभने प्रचण्ड र देउवाले यसअघि पनि आलोपालो सरकार चलाइसकेका छन्।

भागबन्डाले बढ्न सक्छ किचलो

सत्ता गठबन्धनले फेरि पनि निरन्तरता पाए गठबन्धनका लागि सबैभन्दा पेचिलो बन्ने छ-शक्ति बाँडफाँट। गठबन्धन दलहरूका बीचमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुखलगायतका पदका लागि संघर्ष हुने छ। किनभने दलहरूले चुनाव अघि जसरी टिकट वितरणका बेलामा लामो समयसम्म सकस झेलेका थिए त्यसरी नै पावर सेयरिङमा गठबन्धनमा विवाद हुने देखिन्छ। गठबन्धनको सरकार बने को राष्ट्रपति, को सभामुख बन्ने भन्नेबारेमा हाल चर्चा भएको छैन। जसमा माओवादी र कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिमा पावर सेयरिङ गर्ने बताइन्छ।

सरकारका लागि एमाले पनि लालायित

सत्ता समीकरणको बहस भइरहेका बेलामा कांग्रेस र सत्ता गठबन्धनमा मात्रै होइन एमालेमा पनि ओली सरकारबारे चर्चा छ। एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार रुपन्देहीमा एमालेले पनि सरकार गठनका लागि पहल गर्ने बताएका छन्। एमालेलाई बहुमत नभए पनि अरू पार्टीको समर्थनमा सरकार गठनका लागि एमालेले पहल गर्ने पौडेलले बताए।

‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेन्डा लिएर एमाले चुनावमा गएको हो, एजेन्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ पौडेलको भनाइ छ।

प्रतिनिधि सभाको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै ‘मंसिर ४, ओली सरकार’को नारा दिएको थियो। एमालेले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४२ सिट जितिसकेको छ भने एक ठाउँमा अग्रता कायम गरिरहेको छ। यस हिसाबले प्रत्यक्षमा ४३ सिट एमालेले जिते समानुपातिकमा अहिलेकै अवस्थामा मत आए ३५ सिट जित्ने देखिन्छ। दुवै गरेर संसद्मा एमालेको सिट संख्या ७८ हुन जान्छ। काँग्रेस बाहेकका दलहरूसँग मिलेर एमालेलाई सरकार गठन गर्न त्यति सजिलो भने छैन।

त्यसो त ओलीले नै पनि वाम गठबन्धनका लागि अनौपचारिक छलफल थालिसकेका छन्। मंसिर ८ गतै नै फोन गरेर वाम एकताका लागि संवाद अघि बढाएका हुन्। अर्कोतर्फ गठबन्धनमा माओवादी केन्द्रभित्र कांग्रेसले आफ्नो पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै असन्तुष्टि बढ्दो छ। कांग्रेससँगको गठबन्धन सोचेजस्तो नभएको स्वयं प्रचण्डले पनि बताइसकेका छन्। जसलाई क्यास गर्ने दाउमा छन् ओली। तर एमाले-माओवादी समीकरणले मात्रै सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्न।

रास्वपा र राप्रपा कता खुल्छन्?

७/७ सिट प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुन्छन् या प्रतिपक्षी भएर प्रतिनिधि सभामा खबरदारी गर्छन् भन्नेबारेमा अहिले नै तय भइसकेको छैन। दुवै पार्टीले छलफलपछि मात्रै निर्णय हुने बताइरहेका छन्। यी दुवै पार्टीलाई आआफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र एमाले लाग्ने नै छन्। किनभने गठबन्धनको सरकार बन्दा दुवै पार्टीलाई सरकार बाहिर राख्दा एमालेका लागि सरकारलाई खबरदारी गर्ने आवाज चर्को बनेर जाने छ भने अर्कोतर्फ आफ्नो पक्षमा दुवै दलको समर्थन जुट्ने छ। त्यसैले सत्ता गठबन्धनले पनि उनीहरूलाई समेत सरकारमा सहभागी गराउन पहल गर्ने छ।

समीकरण अदलबदलको सम्भावना कति?

सत्ता समीकरण सहजै बन्ला कि दल अदलबदल होला? यो विषय पनि अहिले चर्चाको विषय बनेको छ। भारतले अहिलेकै सत्ता गठबन्धनले निरन्तरता पाओस् भन्ने विषय बाहिरिए पनि चुनावी संघारमा उपेन्द्र यादव नेतृत्वको पार्टी एकाएक सत्ताबाट निस्कियो।

सत्ताको लोभ एमालेले पनि गरेकोले यो समीकरण बन्न केही समय लम्बिने देखिन्छ। यही कारण कुन कुन पार्टी समीकरण बन्ला भन्ने विषयमा अहिले नै प्रस्ट भन्न सकिने अवस्था छैन। गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित बनेका छन्। पराजित भएपछि उनले आफ्नो आक्रोश कांग्रेस कार्यकर्तामाथि पोखेका छन्।

यता माओवादी उम्मेदवार रहेको काठमाडौँका विभिन्न क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएकोमा माओवादीले पनि कांग्रेसमाथि आशंका गरेको देखिन्छ। लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, अनिल झाजस्ता नेताहरू पनि निर्वाचित भएनन्। यसैले यो गठबन्धनमा विश्वासको वातावरण बन्ने स्थिति देखिँदैन। यस विषयमा एमाले अध्यक्ष ओलीले खेल्न सक्ने धेरैको अनुमान छ। यस्तै भावनाहरूमा खेल्दै सत्ता खोस्न ओलीले भरपुर प्रयास गर्ने बताइन्छ। यदि यसो भएमा सत्ता गठबन्धनमा फुट आउने र एमालेले सत्ताको बागडोर सम्हाल्ने देखिन्छ। यद्यपि यस्ता दृश्य पर्खन भने निर्वाचनको पुरा परिणाम नै पर्खनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell