PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

इरान र अमेरिकाबिचको राजनीतिक कटुता खेल मैदानसम्म छताछुल्ला, कतारमा आज कस्तो होला माहोल?



पहिलोपोस्ट

इरान र अमेरिकाबिचको राजनीतिक कटुता खेल मैदानसम्म छताछुल्ला, कतारमा आज कस्तो होला माहोल?
विश्वकप फुटबल अन्तर्गत खेलमा इरानी महिलाहरुले गरिरहेको 'हिजाब क्रान्ति'को समर्थनमा प्रदर्शन गरिएको ब्यानर Photo: Getty Images

एउटा अरबी भनाइ छ: राजनीतिले कुनै पनि यस्तो कुरालाई छोएको छैन जसलाई यसले नबिगारेको होस्।

अरबी देशमा नै अहिले चलिरहेको विश्वकप फुटबलमा यही भनाइलाई उदाहरणका रुपमा पेश गरिँदैछ। कतारमा फुटबल त भइरहेको छ तर यसमा राजनीति पनि उत्तिकै हाबी भइरहेको छ। आज हुने इरान र अमेरिकाबिचको फुटबल खेललाई राजनीतिबाट अलग्याउन सकिँदैन। समूह 'बी' नकआउट चरणमा स्थान सुरक्षित गर्नका लागि निर्णायक अन्तिम दुई खेल मध्ये एकमा आज यी दुई टोली आमनेसामने हुँदैछन्।

फुटबलको खेल भरे राति पौने १ बजे सुरु हुनेछ। तर, विश्वकपलाई नै लिएर राजनीतिको खेलले भने साताअघि देखि नै तातेको छ।

मैदानमा खेल हुनु अघि नै यी दुई देशबीच तनावको अवस्था सुरु भइसकेको छ। अमेरिकी फुटबल संघले इरानमा भइरहेको हिजाब क्रान्तिको समर्थनमा इरानको राष्ट्रिय झण्डबाट 'अल्लाह' को संकेत चिह्न हटाएर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। इरानले अमेरिकाको सो हर्कतलाई गैरव्यवसायिक काम भएको आरोप लगाएको छ।

'अमेरिकी फुटबल संघको इन्स्टाग्राम पेजले इरानी झण्डाबाट अल्लाह चिह्न हटाएको छ। यो एक अव्यवसायिक कार्य हो,' इरानी स्टेट समाचार एजेन्सी आईआरएनले भनेको छ, 'इरान फुटबल संघले फिफालाई इमेल पठाएर अमेरिकी संघलाई गम्भीर चेतावनी दिन माग गरेको छ।'

फिफालाई रिपोर्ट गरिएको उजुरीमा विश्व फुटबलको प्रशासकीय निकायबाट तत्काल सार्वजनिक प्रतिक्रिया आएको छैन।

अमेरिका र इरानले सन् १९८० मा कूटनीतिक सम्बन्ध तोडेका थिए। सन् १९८४ मा अमेरिकाले इरानलाई 'आतंकवादको प्रायोजक राष्ट्र' को सूचिमा राखेको थियो। त्यसयता यी दुई देशको सम्बन्ध राम्रो छैन। राजनीतिकस्तरमा सम्बन्ध प्रगाढ हुने कुरै भएन, खेल मैदानमा समेत त्यो द्वन्द्व देखिन्छ। अमेरिकाले इरानको राष्ट्रिय झण्डा परिवर्तन गर्नु त्यसैको उपज हो।

अमेरिकाको फुटबल संघले आइतबार बिहान एक विज्ञप्तिमा 'आधारभूत मानव अधिकारको लागि लडिरहेका इरानका महिलाहरू' प्रति ऐक्यवद्धता जनाउँदै सामाजिक सञ्जाल खाताहरूमा आधिकारिक झण्डा नै परिवर्तन गर्ने निर्णय गरेको बताएको छ। २२ वर्षीया इरानी महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा आन्दोलन चर्किएको छ।

इस्लामिक गणतन्त्रको झण्डामा रातो, सेतो र हरियो तीनवटा तेर्सो ब्यान्डहरू हुन्छन् जसको बीचमा लिपिमा 'अल्लाह' शब्द देखिन्छ।

अमेरिकी पुरुष टोलीको ट्विटर खाताले समूह चरणमा टोलीका खेलहरू सहितको ब्यानर देखाएको छ, जसमा इरानी झण्डाले हरियो, सेतो र रातो रंग मात्र बोकेको छ। आइतबार दिउँसो, ट्विटर ब्यानरमा प्रतीकको साथ सामान्य झण्डा राखिएको थियो, र परिवर्तन गरिएको झण्डासहित फेसबुक र इन्स्टाग्राम पोस्टहरू हटाइएको थियो।

अमेरिकी फुटबल संघले भनेको छ: हामी इरानका महिलाहरूलाई हाम्रो समर्थन देखाउन २४ घण्टाको लागि हाम्रो ग्राफिक्स राखेका थियौं।

अर्कोतर्फ इरानले अमेरिकी फुटबल संघले फिफाको नियम उल्लंघन गरेको भन्दै कारवाहीको माग गरेको छ। 'फिफा चार्टरको उल्लङ्घन गरेको छ, जसको लागि १० खेलको निलम्बन उपयुक्त सजाय हो' इरानको राज्य नियन्त्रित समचार संस्था तस्निमले लेखेको छ।

फिफाले त्यस्तो कुनै कारबाही गर्ने अपेक्षा गरिएको छैन।

कतारमा इरानमाथि प्रहार भएको घटना यो मात्र होइन। स्टेडियममा इरानी महिलाको समर्थनमा ब्यानर प्रदर्शन हुनु, र खेल मैदानमा नै इरानी झण्डा लिएर व्यक्ति भाग्नुले पनि खेललाई राजनीतिबाट टाढा नराखेको प्रष्ट हुन्छ। फिफाले खेल अवधिमा कुनै पनि किसिमको राजनीतिक चिह्न वा विचार प्रदर्शन गर्न नहुने नियम बनाएको छ। तर, कतारमा इरान लक्षित राजनीतिक प्रदर्शनी खुलेआम भइरहेको छ। अमेरिकाले सामाजिक संजालमा राखेको परिवर्तित इरानी झण्डा बोकेर नै मानिसहरु स्टेडियम पुगिरहेका छन्।

यतिमात्र होइन कतारमा इरानी टोलीले नै इरानमा भइरहेको क्रान्तिमाथि दमनको विरोधमा आफ्नो पहिलो खेलमा राष्ट्रिय गान गाएन। यद्यपि, अन्य खेलहरुमा भने टोलीले राष्ट्रिय गान गाएको छ। खेलाडीहरुको यो हर्कतविरुद्ध इरानी शासकहरु‍ कडा रुपमा प्रस्तुत भएका छन्। इरानमै रहेका एक फुटबल खेलाडीलाई देशविरुद्ध 'प्रोपागान्डा' फैलाएको भन्दै पक्राउ गरिएको छ। यतिमात्र होइन इरानका राष्ट्रिय खेलाडीका परिवारलाई धम्की दिइएको सीएनएनले उल्लेख गरेको छ। 

कतार पुगिरहेका धेरै इरानीहरु अहिले आफ्नो शासकविरुद्ध बोलिरहेका छन्। खेलाडीहरु पनि क्रान्तिको पक्षमा छन्। यस्तो अवस्थामा आफ्नो देशसँग कटुतापूर्ण सम्बन्ध रहेको अमेरिकासँगको खेलको माहोल कस्तो होला ?

फिफा विश्वकपमा यसअघि यी दुई टोली एकपटक आमनेसामने भएका थिए। सन् १९९८ को फ्रान्स विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलअन्तरले हराएको थियो। 

समूह 'बी' अन्तर्गतका समूह चरणका अन्तिम दुई खेल पनि भरे राति नै हुनेछन्। अल थुममा स्टेडियममा हुने खेलमा अमेरिका र इरान पौने १ बजे आमनेसामने हुनेछन्। अमेरिकाले यसअघिका खेलमा वेल्ससँग १-१ गोलको बराबरी र इङ्ग्ल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै २ अंक जोडेको छ। अर्कोतर्फ इङ्ग्ल्याण्डसँग ६-२ गोलको हार ब्यहोरेर प्रतियोगिताको सुरुवात गरेको इरानले दोस्रो खेलमा सानदार पुनरागमन गर्दै वेल्समाथि २-० गोलको जित निकालेको थियो।

समूह 'बी' मा चारवटै टोलीको नकआउट चरण पुग्ने सम्भावना जीवित छ। अंकतालिकामा ४ अंक जोडेको इङ्ग्ल्याण्ड शीर्षस्थानमा रहँदा ३ अंक जोडेको इरान दोस्रो, २ अंक जोडेको अमेरिका तेस्रो र १ अंक जोडेको वेल्स तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell