PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डोल्पाबाट कसरी हराउँदैछन् मूर्तिहरु? बुझाउन एमिलिनले लेखिन् बाल कथा



पहिलोपोस्ट

डोल्पाबाट कसरी हराउँदैछन् मूर्तिहरु? बुझाउन एमिलिनले लेखिन् बाल कथा

हिमाली जिल्ला डोल्पामा भइरहेको मूर्ति चोरीबारे जानकारी दिने उद्देश्यले बाल कथा प्रकाशन गरिएको छ। युनिभर्सिटी अफ ग्लासगोकी लेक्चरर डा. एमिलिन स्मिथद्वारा लिखित 'पेमा र डोल्पाबाट चोरिएका मूर्ति' किताबको शनिवार लोकार्पण भएको हो।

काठमाडौंस्थित तारागाउँ नेक्सटमा भएको कार्यक्रममा डोल्पाको से फुक्सुन्डो गाउँपालिकास्थित गुम्बाका रनाङ रिम्पोछे, नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क लगायतको उपस्थिति थियो।

यो किताब प्रकाशन गर्नु पछाडिको मुख्य उद्देश्य डोल्पाबाट हराउने क्रममा रहेका मूर्तिहरुको बारेमा सचेतना जगाउनु हो। एमिलिनले डोल्पामै बसेर त्यहाँबाट हराएका मूर्ति र हराउने खतरामा रहेका पुरातत्विक र सांस्कृतिक महत्वका सम्पदाबारे अध्ययन गरेकी थिइन्। त्यसपछि उनले डोल्पाका नयाँ पुस्तालाई त्यहाँको सम्पदा र सुन्दरताबारे बुझाउन 'इलुस्ट्रेटेड किताब' लेख्ने निधो गरेकी हुन्।

'विगत ३० वर्षको अन्तरालमा डोल्पाली मानिसहरु काठमाडौं अथवा अन्य टाढा शहरहरुमा बसाई सरिसकेका छन्। यो किताब नयाँ पुस्ताका लागि डोल्पाका अन्य कथा खोजी गर्ने प्रेरणदायी बनोस्,' एमिलिनले भनिन्।

एमिलिनले डोल्पासँगै नेपालका अन्य क्षेत्रबाट हराएका मूर्तिहरुबारे अध्ययन र बाहिर पुर्‍याइएका मूर्तिहरुलाई फिर्ता ल्याउन पनि भूमिका खेलिरहेकी छिन्।

पढ्नुस एमिलिनको कथा : नेपालबाट गायब एउटै मूर्तिको 'मिलियन डलर' माथि कारोबार : सुहाउँछ कहाँ मन्दिरमा कि म्युजियममा?

किताबमा पेमा नामकी बालिकाले कसरी डोल्पाबाट चोरिएर फेला परेको मूर्तिलाई काठमाडौंबाट फेरि गुम्बामा ल्याउन सकिन् भन्ने कथा समेटिएको छ। बाल कथालाई थप बलियो र आकर्षित गर्न किताबमा धेरै चित्रहरुको प्रयोग गरिएको छ। कथालाई 'इलुस्ट्रेसन'को माध्यमबाट शक्तिशाली बनाउने प्रयास गरिएको छ। यो किताबमा सबै 'इलुस्ट्रेसन'हरु कृषा ताम्राकारले गरेकी हुन्। डोल्पाली समाजको कथा भन्न चित्रका माध्यमबाट भन्न पाउँदा आफू निकै खुशी भएको कृषाले सुनाइन्।

यो बाल कथा तीनवटा भाषा (तिब्बती, नेपाली र अङ्ग्रेजी) भाषामा लेखिएको छ। डोल्पाली समुदाय र त्यहाँस्थित विद्यालयमा यो किताब नि:शुल्क वितरण गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell