PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसले समानुपातिकमा को-को पठाउँदैछ तीन जना पुरुष?



नेत्र तामाङ

कांग्रेसले समानुपातिकमा को-को पठाउँदैछ तीन जना पुरुष?

काठमाडौं: नेपाली कांग्रेसले समानुपातिक तर्फ ३२ सिट पाउँदा ३ जनामात्र पुरुष पठाउन पाउने भएको छ। प्रत्यक्षमा एक जनामात्र महिला निर्वाचित हुँदा राष्ट्रिय सभामा पनि कांग्रेसका ३ जनामात्र सदस्य कायम छन्। जसकारण समानुपातिकबाट २९ जना महिला पठाउनुपर्ने वाध्यता कांग्रेसलाई छ। 

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत सांसद महिला हुनैपर्छ। संविधानको संघीय व्यवस्थापिकासम्बन्धी भाग ८ को धारा ८४ को ८ मा भनिएको छ, 'यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्नेछ।'

धारा ८३ मा संघीय संसदको परिभाषा यसरी दिइएको छ - प्रतिनिधि सभा र राष्ट्रिय सभा नामक दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ।

अहिले कांग्रेसको तर्फबाट संघीय संसदमा जम्मा ४ जनामात्र महिला सांसद छन्। राष्ट्रिय सभामा कमला पन्त, दुर्गाकुमारी गुरुङ र अनिता देवकोटा गरि तीन जना महिला सांसद छन्। त्यसैगरि, प्रतिनिधि सभामा सीता गुरुङ निर्वाचित भएकी छन्।

राष्ट्रिय सभामा कुल १० र प्रतिनिधि सभामा कुल ८९ सांसद गरि हाल कांग्रेसमा ९९ संघीय सांसद रहनेछन्। अहिले भएका महिला सांसदको प्रतिशत ४ मात्र हो। अब २९ प्रतिशत कांग्रेसले समानुपातिकबाट पठाउनुपर्नेछ।

महिला को को जाँदैछन् समानुपातिकमा?

निर्वाचन आयोगले दलहरुलाई शनिवारसम्ममा सांसदहरुको सूची पठाउन निर्देशन दिइसकेको छ। सोही अनुसार सांसदको सूची फाइनल गर्न कांग्रेसले शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।

बैठकले समानुपातिक सूचीमा रहेका ११० मध्ये क्लस्टर मिलाएर ३२ जनाको नाम पठाउने कांग्रेसले जनाएको छ। ३२ मध्ये २९ जना महिला सांसद हुँदैछन्।

जसमा खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला, कान्तिका सेजुवाल, (पिछडिएको क्षेत्र) र मैना रावल (पिछडिएको क्षेत्र)लाई सांसदमा पठाउने तयारी गरेको छ। त्यसैगरि, जनजाति महिलाबाट सरस्वती बजियम, लीलादेवी बोखिम, सिताकुमारी राना, सुशीला थिङ तामाङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचनलाई सूचीमा राखेर पठाउने तयारी गरेको बुझिएको छ। यता, दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र मधेसीबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण, थारुबाट कल्पना चौधरी र विनाकुमारी थनेत र मुस्लिमबाट जावेदा खातुनलाई पठाउने तयारी कांग्रेसले गरेको छ।

को को अट्ला तीन जना पुरुषमा?

कांग्रेसलाई समानुपातिकमा तीन जना पुरुष छान्न सकस पर्ने देखिन्छ। यद्यपि बालुवाटारले समानुपातिकमा पठाउने तीन जनाको सूची फाइनल गरिसकेको बताइएको छ।

जसमा खस आर्यबाट कांग्रेसका प्रवक्तासमेत रहेका डा प्रकाशशरण महत, आदिवासी जनजातिबाट गोपालमान श्रेष्ठ र मधेसीबाट विमलेन्द्र निधि रहेका छन्। तीनै जनाको नाम अब कांग्रेसको केन्द्रीय सम्पादन समितिमा प्रस्ताव हुने र त्यहाँबाट अनुमोदन हुने बालुवाटार स्रोतले दाबी गरेको छ। 'अहिले पुरुष तीन जनाको नाम खास आर्यबाट प्रकाशशरण महत, मधेसीबाट पूर्वउपसभापति विमलेन्द्र निधि र जनजातिबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ नै हुने भन्ने छ,' बालुवाटार स्रोतले भन्यो।

पुरुष समानुपातिकमा पर्ने तीनै जना कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु हुन्। जसले गर्दा अहिले डा शेखर कोइराला समूहले यसको विरोध गर्दै आएका छन्।

उनीहरुले सहमहामन्त्री जीवन परियारलाई जसरी पनि समानुपातिकमा अटाउनुपर्ने माग थालेका छन्। प्रत्यक्षमा दलितले टिकट नपाएका कारण सहमहामन्त्री परियारलाई समानुपातिकमा अटाउनै पर्ने शेखर पक्षको माग छ। तर, देउवा पक्षले भने समानुपातिकमा दलित क्लस्टर महिलाबाट पुरा हुने भन्दै यसमा असहमति जनाउँदै आएको छ। यसैगरि पूर्व उपसभापतिसमेत रहेका विजय कुमार गच्छदारलेसमेत आफ्नो भाग खोजिरहेका छन्। उनले थारु कोटाबाट योगेन्द्र चौधरीलाई समानुपातिकमा अटाउन माग गरेका छन्।

पढ्नुस : समानुपातिकमा कांग्रेसको संशोधित बन्दसुची : प्रवक्ता महत पहिलो नम्बरमा, को को परे ११० जनामा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell