
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। समानुपातिक सांसद छान्न बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक केहीबेर अघि सकिएको हो।
बैठकले समानुपातिक सांसद छान्ने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। निर्वाचन आयोगले आज ४ बजेसम्ममा समानुपातिक सांसदको सुची बुझाउन समयसीमा तोकेको छ।
यही समयसीमामा नाम बुझाउन कांग्रेसलाई भने धौ - धौ परेको छ। समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले २९ महिला र ३ जना पुरुष पठाउनुपर्नेछ।
कांग्रेसमा दुई सहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार र प्रवक्ता डा. प्रकाशशरण महत समानुपातिक सूचीमा छन्। देउवा पक्षले डा महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिलाई समानुपातिकमा पठाउन खोजेपछि डा शेखर कोइराला पक्षले यसको विरोध जारी राखेको छ।
सहमहामन्त्री जीवन परियारलाई आफ्नो खेमाबाट समानुपातिक सांसद बनाउनुपर्ने दबाब शेखर पक्षले जारी राखेको छ।