
लियोनल मेस्सीले जित्न बाँकी थियो त केबल विश्वकप। क्लब प्रतियोगिता र व्यक्तिगत उपाधिको चाङ उचालेका मेस्सीले विश्वकप ट्रफीमात्रै उचाल्न बाँकी थियो। उनको त्यो अधुरो सपना आइतबार राति सम्पन्न विश्वकप फाइनलमा पूरा भयो।
विश्वकप इतिहासमा नै सर्वाधिक २६ खेल खेलेर रेकर्ड बनाएका मेस्सीको नेतृत्वको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि चुम्यो। यससँगै मेस्सीले संन्यास लिन सक्ने आंकलन गरिएको थियो।
विश्वकप फाइनलमा प्रवेश गरेपछि मेस्सीले आइतबार रातिको फाइनल खेल विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताएका थिए। जितपछि प्रतिक्रिया दिँदै मेस्सीले अझै केही खेलमा आफू विश्वविजेताका रुपमा खेल्न चाहेको बताएका छन्। यसको अर्थ उनले तत्कालै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास नलिने संकेत दिएका छन्।
सम्बन्धित समाचार : जब मेस्सीले चुमे आफ्नो सपना र बने सर्वकालीन महान् खेलाडी...
'म विश्व विजेताका रुपमा अझै केही खेलहरुको अनुभव लिन चाहन्छु,' ३५ वर्षीयले अर्जेन्टिनाको स्थानीय समाचार माध्यममा अन्तर्वार्ता दिँदै भनेका छन्।
अर्जेन्टिनालाई तेस्रोपटक उपाधि जिताएका मेस्सी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका थिए। कतार विश्वकपमा 'गोल्डन बल' जित्दै उनले अर्को रेकर्ड पनि बनाएका छन्। यसअघि कुनै पनि खेलाडीले दुईपटक गोल्डेन बल जितेका थिएनन्। मेस्सीले भने २०१४ विश्वकपमा पनि गोल्डेन बल जितेका थिए।