PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रणनीतिक देउवा, आकर्षक गगन : दुई पौडेलको साटफेरले कस्तो आउला नतिजा?



प्रकाश भण्डारी

रणनीतिक देउवा, आकर्षक गगन : दुई पौडेलको साटफेरले कस्तो आउला नतिजा?

काठमाडौं : मंगलवार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘इन्ट्री’ अरु शीर्ष नेताभन्दा पहिला नै भयो। प्रधानमन्त्रीमा दावी गरेर प्रतिनिधि सभाको निर्वाचनमा होमिएका पौडेल संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता गर्ने बेला दलको कार्यालयमा देखिँदा कतिले सोचे - के पौडेल पनि संसदीय दलको नेतामा मनोनयन दर्ता गर्न आएका हुन्?

त्यो कौतुहुलता धेरैबेर टिकेन, किनकि सञ्चारकर्मीमाझ उनी खुलिहाले, ‘कांग्रेसभित्र विश्वासको संकट देखिएको बेला शेरबहादुर देउवालाई दलको नेतामा प्रस्ताव गर्छु। अहिलेको परिस्थितिमा सर्वसम्मत बनाउन सबै लागौं।‘

शेखर-गगन र विश्वप्रकाशको जुगलबन्दी

पौडेलपछि कांग्रेसका नेताहरुको धमाधम आगमन भयो दलको कार्यालयमा। महामन्त्री गगन थापाको प्रवेश हुँदा भिड नै देखियो। किनभने देउवालाई चुनौती दिएर संसदीय दलको नेताको मनोनयन दर्ता गराउन आएका थिए थापा। प्रतिनिधि सभाको निर्वाचनकै बेला आफू प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरिसकेका थिए गगनले। मंगलवार सिंहदरवारमा थापाको ‘इन्ट्री’ देउवाको भन्दा भिन्न देखियो।

डा.शेखर कोइराला अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग जुगलबन्दी मिलाएर पुगेका थिए थापा। शेखर-गगनले लामो समयपछि दलको नेतामा सहमति जनाएका थिए। उनीहरुले संसदीय दलको नेता र भावी सभापति पद बाँडेको चर्चा छ। १५ औं महाधिवेशनमा संस्थापन इतरको सभापतिको उम्मेदवारमा शेखरलाई सर्वसम्मत अघि बढाउने र अहिले गगनलाई दलको नेता बनाउने सहमति भएको बताइन्छ।

पराजयपछिका प्रदीप

संसदीय दलमा रोचक त अर्को के पनि रह्यो भने १४ औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका नेता प्रदीप पौडेल पनि गगनसँगै देखिए सोमवार। काठमाडौं-५ मा एमालेका हेभीवेट नेता तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएर संसदमा डेब्यु गरेका हुन् प्रदीपले यसपटक। पौडेले कांग्रेस नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता हुन्। उनी महाधिवेशनका बेला महामन्त्रीमा गगन-विश्वप्रकाशसँग पराजित बन्न पुगे। उनले पराजयपछि संसदीय दलको नेताको चुनावमा भने गगन-विश्वप्रकाशलाई नै रोजेका छन्।

संसदीय दलको चुनावमा गगनको समर्थक नै बसेका छन् पौडेल। थापाका समर्थक मध्य तेस्रो नम्बरमा छ पौडेलको नाम। उपसभापति धनराज गुरुङ पहिलो र महामन्त्री शर्मा दोस्रो समर्थक हुन् गगनको। शेखरले गगनलाई नेताको रुपमा प्रस्ताव गरेका छन्। मंगलवार सिंहदरवारको माहोल हेर्दा गगन क्रेज चुलिएको देखिन्थ्यो। किनभने उनको उपस्थिति हुनसाथ कार्यकर्ता र सञ्चारकर्मीको तछाडमछाड नै भयो। ‘गुड लक, गगन दाइ,’ भन्दै माला लगाएर शुभकामना दिनेहरुको घुइँचो नै लाग्यो। ‘बुढा नेता एकातिर प्रदीप-गगन एकातिर भयो,’ यस्तै भनिरहेका थिए उनी समर्थक कार्यकर्ताले।

रणनीतिक देउवा

समकालीन नेताहरुमा कम बोल्ने नेतामा पर्छन् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। उनको शैली मंगलवार कायम नहुने कुरै थिएन। किनभने दलको कार्यालयमा सोझै छिरेपछि उनी मनोनयन दर्तामा लागे। सञ्चारकर्मीको प्रश्नको जवाफ पनि दिएनन् देउवाले। राजनीतिक खेलमा चतुर मानिने उनी रणनीतिक भने देखिए। प्रदीप आफ्नो क्याम्पमा नरहे पनि महाधिवेशन अघिसम्म संस्थापन इतरको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेल मंगलवार भने घोषणा गरेरै देउवाको पक्षमा खुलेका छन्। जुन देउवाको रणनीतिक ‘मुभ’को रुपमा कांग्रेसका नेता कार्यकर्ताले हेरेका छन्। किनभने १४ औं महाधिवेशनका बेलामा पौडेल अन्तत: न्युट्रल भएका थिए।

पौडेललाई अघि सारेर आफू मौन बसेका देउवाले यसपाला संसदीय दलको निर्वाचनमा गगनको चुनौती महसुस गरेरै होला पौडेललाई नै बोल्न दिए। देउवा पुग्नुअघि नै संसदीय दलको कार्यालयमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणको प्रवेश भएको थियो। गगनका पक्षमा जसरी नेताहरुको माहोल देखिएको थियो, त्यसरी नै दलको कार्यालयमा देउवा पक्षका नेताहरुले रणनीतिक छलफल गरेका थिए। पूर्व उपसभापति विमलेन्द्र निधि, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, उदयशम्शेर राणा लगायतको उपस्थिति रह्यो देउवाको पक्षमा। त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि गरेको आह्वानअनुसार संसदीय दलको नेतामा गगनले देउवालाई रोकिहाले पनि प्रधानमन्त्रीमा रोक्न भने मुस्किल हुने छ। कारण- संविधानको धारा (७६) २ अनुसार प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्य व्यवस्था छैन।

‘रामचन्द्र पौडेलले त्यसै प्रस्ताव गर्नु भएको होइन’

देउवा रणनीति रुपमै अघि बढिरहेका छन् भन्ने संकेत प्रवक्ता महतले भने दिएका छन्। ‘रामचन्द्र पौडेलले किन देउवालाई प्रस्ताव गर्नुभयो। यसको कारण छ त्यसै गर्नुभएको होइन,’ महतले भने। गठबन्धन दलहरुले समेत देउवालाई स्वीकार्ने भएकाले उनको नेतृत्व आवश्यक भएको महतको भनाई थियो। कांग्रेसका नेताहरुलाई महतले आवश्यकताको सिद्धान्त सम्झाउननसमेत भ्याए। ‘आवश्यकताको सिद्धान्तले चल्छ। कसैले पटकपटक पाउछ कसैले एकपटक पनि पाउँदैन,’ कांग्रेसमा देउवालाई अब छोड्नुपर्ने भन्दै दबाव दिइरहेकाहरुलाई महतको जवाफ थियो।

दाबी आ-आफ्नै

बालुवाटार स्रोतले देउवा नै बलियो देखाइरहँदा गगन स्रोतको पनि उही छ भनाई। संसदीय समीकरण हेर्दा देउवा बलियो छन्। यद्यपि महामन्त्री शर्मा र प्रदीपको इन्ट्रीले गगन थप बलियो भएका छन्। गगन स्रोतको दाबी छ, ’४१ मत हाम्रो पक्षमा निश्चित भइसक्यो,’ स्रोतले भन्यो। केही मत तितरवितर नबने गगनले चमात्कारिक नतिजा निकाल्ने स्रोतको दाबी छ।

तर देउवा पक्ष भने चार शीर्ष नेताको सहयोग पाएर ढुक्क देखिन्छ। वरिष्ठ नेता पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाको साथले देउवा संसदीय दलको नेतामा चुनिने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे। ‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधवार बिहान ८ बजेबाट कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने हुँदैछ। दुई नेताको दाबी आआफ्नै भए पनि फैसला भने कांग्रेसका ८९ सांसदले नै गर्नेछन्। १० बजे मतदान सकिएलगत्तै मतगणना शुरु हुने र परिणाम एक घन्टामै आइसक्ने निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

गगनलाई विश्वप्रकाशदेखि देउवा गुटकै प्रदीपको साथ, शेखरको त्यागले बन्लान् त संसदीय दलको नेता?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell