PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पराजित भएपछि आफ्नो पक्षको ७ मत खोज्दै गगन समूह



नेत्र तामाङ

पराजित भएपछि आफ्नो पक्षको ७ मत खोज्दै गगन समूह

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा शेखर कोइराला समूहले गगन थापालाई अघि बढायो। शेखरको पनि संसदीय दलको नेतामा भिड्ने चाहना थियो। तर, पुस्तान्तरणको आवाजलाई सम्मान गर्दै शेखरले आफ्नो चाहना त्यागे र संस्थापनइतरबाट गगनलाई संसदीय दलको नेतामा भिड्न 'फ्लोर ओपन' गरिदिए।

यसको सन्देश थियो पटकपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिनु। संसदमा यसपटक देउवा समूहमा ५० भन्दा बढी सांसद प्रत्यक्ष र समानुपातिकबाट चुनिएर आएका थिए। शेखर समूहबाट २२ भन्दा बढी सांसद चुनिएर आए। बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा खुलेका थिए।

अंकगणितमा कमजोर रहेकाले शेखर समूहले पटकपटक बैठक राखेर आफ्नो समूहको नेताहरुको लेखाजोखा गर्‍यो। लाजिम्पाटको एम्बासडर होटलमा डेरा जमाएर बसेका थापाले नेताहरुबाट प्रतिबद्धता पनि बटुले। शेखरको सहमतिपछि ३२ मत पाउने प्रतिबद्धता बैठकमा मिल्यो। प्रचार भने ३९ सांसदको साथ रहेको भन्दै गरियो। अनि मंगलवार साँझसम्म यो संख्या ४१ पुगिसकेको थियो। अझ मंगलवार साँझ गगन डा शशांक निवासदेखि चाक्सीबारीसम्म पुगे आफ्नो पक्षमा माहोल बनाउन।

राति साढे ११ बजे गगन समूहले लाजिम्पाटमा आफ्नो पक्षलाई पछ्याएको आशंकामा दुईजना प्रहरीलाई नियन्त्रणमा लियो। अनि सोधपुछपछि छाडिदियो। त्यतिबेला गगन पक्षको आरोप थियो – सत्ताको शक्तिको दुरुपयोग गर्दै गृहमन्त्री बालकृष्ण खाणले देउवाको पक्षमा माहोल बनाउन निगरानी बढायो। गगनको सक्रियता हेर्दा लाग्थ्यो – कांग्रेसको संसदीय दलमा 'मिराकल' हुँदैछ। ८९ सांसद भएको कांग्रेसको संसदीय दलको नेता बन्न सबै उपस्थित भए ४५ मत भए जित निश्चित। साँझसम्म ४१ मत पुर्‍याएको गगनको पक्षमा मध्यरातिसम्मको दौडधुपमा ४५ त कटाए होलान् – अनुमान धेरैको थियो।

बुधवार बिहान ८ बजेका लागि मतदान तय भएको थियो। तर, सिंहदरबारस्थित कांग्रेसको संसदीय दलमा ८ बज्दासम्म कांग्रेस सांसदहरु आइपुगेका थिएनन्। परराष्ट्रमन्त्रीसमेत रहेका डा नारायण खड्का लगायत नेताहरु आइपुगेपछि माहोल विस्तारै तातियो। तर मतदान अझै ढिला हुने भनियो। कारण – मतदानस्थलमा मोबाइल लग्न दिने वा नदिनेबारेको विवादले। संस्थापन पक्षले मोबाइल लग्न पाउनुपर्ने माग राख्यो। संस्थापनइतरले गोप्य मतदानमा मोबाइल लैजान नपाउने नीति सम्झायो। संस्थापनइतरकै अडानलाई अनुमोदन गर्दै संस्थापन पक्ष मोबाइल नलगी मत हाल्न तयार भए।

त्यतिबेला संस्थापनइतरको आशंका थियो – देउवाले सबैलाई मतदान गरेको फोटो पेश गर्न उर्दी जारी गरेको थियो कि। सहमतिपछि ८:४० बाट मतदान सुरु भयो। मोबाइल लैजान नपाउने भएपछि केही ढुक्क देखिएका थिए गगन पक्ष। तर, एकाएक प्रधानमन्त्री पत्नी आरजु देउवा र गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणले करिब १३ जनालाई मोबाइल लग्न दिएको र फोटो खिचाउन दिएको आरोप लगायो गगन पक्षले। नामै नतोके पनि यसबारे गगन आफै बाहिर निस्किएर केही व्यक्तिले फोटो खिचाएको बताएका थिए। आफ्नो पक्षमा माहोल बनाउन खटेका र मिडियाको सम्पर्कमा पटकपटक आइरहेका गगनको आकर्षण बढ्दो थियो।

देउवा पक्षकी एक सांसद अस्पतालमै रहेकोले मतदान सक्न केही समय लाग्यो। साढे १० तिर मतदान सकिएको सूचना आयो। ११ नबज्दै परिणाम सार्वजनिक भयो। परिणाम थियो देउवाको पक्षमा। देउवाले ६४ मत पाउँदा गगनको २५ मतमात्र।

कता गयो सात मत?

गगनले २५ मतमात्र पाएपछि यही विषयमा सोधखोज हुन थाल्यो कांग्रेस संसदीय दलको परिसरमा। नेतादेखि कार्यकर्ताको जिज्ञासा थियो – ३२ मत थियो। जम्मा २५ मतमात्र कसरी?

संस्थापनइतरको ३२ जना को -को?

प्रत्यक्षमा

१  योगेश शेरचन थकाली

२  सन्तोष चालिसे 

३  गगन थापा

४  राजन केसी

५  हृदयराम थानी  

६  विश्वप्रकाश शर्मा

७  प्रदीप पौडेल

८  राजेन्द्र बजगाईं 

९  दिलेन्द्र बडु

१० दिक्पालकुमार शाही 

११ देव तिमिल्सिना    

१२ रामनाथ अधिकारी      

१३ दीपक गिरी    

१४ सञ्जय गौतम     

१५ रामकृष्ण यादव    

१६ शेखर कोइराला     

१७ चन्द्र भण्डारी   

१८ सुरेन्द्रराज आचार्य   

१९ सुनिलकुमार शर्मा   

२० अर्जुननरसिंह केसी      

२१ तेजुलाल चौधरी

समानुपातिकतर्फ

१  सरिता प्रसाईं

२  प्रतिमा गौतम

३  मैना रावल कार्की

४  लीला बोखिम

५  सपना राजभण्डारी

६  कुसुम थापा

७  मुक्ताकुमारी यादव

८  सीता मिजार

९  बीनाकुमारी थनेत

१० जीवन परियार

सात मत हराएकोमा गगनलाई साथ दिएका पदाधिकारीसमेत अचम्म मान्दै थिए – आशंका गर्नुपर्ने ठाउँ धेरै छन्। देउवा पक्षबाट नै पाँच मत गगनलाई आएको छ। यताबाट धेरै मत देउवातिर गयो।

गगन पक्षका अर्का नेता भन्दै थिए – हाम्रो हिसाब ३२ नै हो। तर, जे गर्‍यो सत्ताले गर्‍यो।

निर्वाचित भएपछि गगनले पनि मतपरिणाम अनपेक्षित भएको बताए। यद्यपि, आफूले पाएको मतले अर्कोपटक प्रतिस्पर्धा गर्ने आधार तयार भएको गगनको भनाई थियो।

'मलाई के अपेक्षा थियो भने अन्य साथीहरुले मतदाताहरुसँग गरेको वाचा सम्झनुहुन्थ्यो भन्ने लागेको थियो,' थापाले भने।

गगनको हार स्वाभाविक भए पनि आफ्नै पक्षको मत किन आएन? यसबारे शेखर समूहले गम्भीर समीक्षा गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell