PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

'नेपाल टी २०' मा रोहितले नै पाएनन् कप्तानी, अझ अनिश्चित लिग नभए के? 'जनकपुर र पशुपति घुम्ने, हिमालमा हाइकिङ गरेर फर्किने'



मुकुन्द घिमिरे

'नेपाल टी २०' मा रोहितले नै पाएनन् कप्तानी, अझ अनिश्चित लिग नभए के? 'जनकपुर र पशुपति घुम्ने, हिमालमा हाइकिङ गरेर फर्किने'

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले तय गरेको मिति अनुसार शुक्रवारबाट 'नेपाल टी २०' लिग सुरु हुनुपर्ने हो। विश्वकै प्रतिष्ठित लिगहरुमध्येमा उभ्याउने भनेर घोषणा गरिएको यो लिगले अघिल्लो दिनसम्म माहोल बनाउन सकिरहेको छैन। सबैभन्दा महत्वपूर्ण त फ्रेन्चाइजी टिमहरुबारे नै अन्योलको अवस्था छ। फ्रेन्चाइजी किन्ने र पछि हट्ने प्रकृया चलिहँदा नेपाल क्रिकेट संघ मौन छ। फ्रेन्चाइज लिगलाई 'ग्ल्यामर' का रुपमा हेरिने भए पनि त्यसप्रकारको माहोल बनाउन न सबै फ्रेन्चाइजी लागेका छन्, न क्यान नै।

नेपाल टी २० लिग खेल्ने विदेशी खेलाडी नेपाल आइसकेका छन्। केही टिमहरुले पत्रकार सम्मेलन गर्दै जर्सी र कप्तानसमेत घोषणा गरिसकेका गरिसकेका छन्। तर, यसअघिका फ्रेन्चाइज लिगहरुमा जस्तो टिमको कार्यक्रममा प्रायोजकहरु देखिँदैनन्। कार्यक्रमको पृष्ठभूमिमा र जर्सीमा विभिन्न ब्रान्डहरुले प्रायोजक पाउने गरेकोमा क्यानकै आधिकारिक लिग भनिएको नेपाल टी २० लिगमा त्यस्तो देखिएको छैन। विदेशी खेलाडीको कुरा गर्दा पनि पछिल्लो संस्करणको एभरेस्ट प्रिमियर लिगको तुलनामा 'हाइप्रोफाइल' विदेशी खेलाडीको उपस्थिति एकदमै न्यून छ।

राष्ट्रिय टोलीका कप्तानले नै पाएनन् कप्तानी

बुधवार विराटनगर सुपर किंग्सले पत्रकार सम्मेलन गर्दा धेरैको अपेक्षा थियो, रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्नेछन्। अपेक्षा स्वभाविक पनि थियो : भर्खरै राष्ट्रिय टोलीको कप्तान बनेका पौडेलले घरेलु लिगमा कप्तानी गर्दै अनुभव तिखार्नेछन्, आफूले सानै उमेरमा पाएको कप्तानको जिम्मेवारीलाई सही भएको प्रमाणित गर्नेछन् भन्ने आशा थियो। तर, उनले उपकप्तानको भूमिका पाए।

टिममा उनीभन्दा अनुभवी खेलाडी नभएका होइनन्। यसअघि विश्वकप खेलेर फर्किएका जिम्बावेका सिकन्दर राजाको प्रदर्शन सधैँ सानदार छ। पौडेल नभए राजा कप्तानीमा आउनु एकहिसाबले स्वभाविक मान्न सकिन्थ्यो। तर, कप्तानको भूमिका पाए वेस्ट इण्डिजका आन्द्रे म्याकार्थीले। एकदिवसीय र टी २० अन्तर्राष्ट्रियमा कम अनुभव भएका उनी कप्तान बने।

'नेपाल क्रिकेट टिमको कप्तान होइन रोहित? नेपाल टिमको कप्तान रोहित बनाउनु नहुने रहेछ नि त। उ त यो हिसाबले नालायक रहेछ नि त,' एक केन्द्रीय सदस्यले भने, 'सोमपाल हेर्नुहोस् न। नेपाल टीमबाट खेलेको छ। बाहिर गएर फ्रेन्चाइज लिग खेलेको छ। नेपालमै पनि उपाधि जिताएको छ। अनुभवि खेलाडी हो। हिजो मार्की खेलाडी भनेर घोषणा गरेर आज यसो गर्नु उचित भएको छैन।'

मंगलवारको कथा पनि केही समान थियो। जनकपुर रोयल्समा मार्की खेलाडी रहेका सोमपाल कामीले कप्तानी नपाउलान् भन्ने सायदै कसैले सोचेका थिएनन्। नेपाली टोलीका सिनियर मध्येका खेलाडी र फ्रेन्चाइजमा अघिल्लो सिजन चितवनलाई एभरेस्ट प्रिमियर लिग जिताएका सोमपालले पनि पाए उपकप्तानको जिम्मेवारी। कप्तान को त? वेस्टइण्डिजको उमेर समूहबाटमात्र अन्तर्राष्ट्रिय खेल खेलेका ट्रेभोन अबशाइ गृफ्फित।

रोयल्सका प्रशिक्षक उमेश पटवालले टिममा 'कम्बिनेसन' मिलाउनका लागि उनलाई कप्तान बनाइएको बताए। पटवालले सोमपाल कामीले स्थानीय खेलाडी र ट्रेभोनले विदेशीसँगको समन्वय मिलाउन सहज हुने बताए।

लिग अझै अनिश्चित?

शुक्रवारबाट हुने लिग हुने भनिए पनि अझै निश्चितता छैन। प्रचार प्रसारमा खासै रुची आयोजकको छैन। केही फ्रेन्चाइजीले पत्रकार सम्मेलन गरेर टिमबारे जानकारी दिए पनि बाँकी टिमको मालिकहरुबारे नै अनिश्चितता छ। क्यानले यसबारेमा खुलेर सुचना दिन चाहिरहेको छैन।

अझ विदेशी खेलाडीले नेपालमा खेल्न श्रम स्वीकृति लिनुपर्ने हुन्छ। फ्रेन्चाइजीले आफ्नोतर्फबाट सबै काम गरेको बताए पनि विदेशी खेलाडीसँग कुरा गर्दा उनीहरु यसबारे अनभिज्ञ सुनिन्छन्। यो विषयमा क्यानसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सके। प्रवक्ता एवम् कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको मोबाइल 'स्वीचअफ' छ भने अध्यक्ष चतुरबहादुर चन्दको फोन 'रिसिभ' नै हुँदैन।

टी २० लिग संचालनका लागि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको छ। यो कम्पनी नेपालमा दर्ता छैन। त्यसैले क्यान र सो कम्पनीबिचको सम्झौतामाथि नै प्रश्न खडा भएका छन्। बिडिङ बिना नै यो कम्पनीलाई लिग संचालनका लागि छानिएको आरोप क्यानमाथि लागेको छ।

सेभेन थ्री स्पोर्टसलाई नेपालमै दर्ता गर्नुपर्ने भनेर कानुन मन्त्रालयले पत्र पठाएकाले सेभेन थ्री स्पोर्ट्सले राष्ट्रिय खेलकु परिषद्मा निवेदन दिएको बुझेको क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताए।

'क्यानको कुरा हामीसँग केही सम्पर्क छैन। ४/५ जनाले मनपरी गरेका छन्। हामी मिटिङमा बसेका छैनौं। मिटिङ पनि बोलाउँदैनन्। लिगबारे केही थाहा छैन। फोन नै हुँदैन। एजेन्डाबारे थाह नै हुँदैन। तीन महिना भयो। दशैँमा पछिल्लोसमय बसेका थियौं। बहुमतको दम्भ छ। त्यसैको आडमा मन परी छ,' उनले भने।

क्यानका अर्का केन्द्रीय सदस्य नेपालमै कम्पनी दर्ता गर्नु भनेर कानुन मन्त्रालयले पत्र पठाएकाले राखेपमा सेभेन थ्री स्पोर्ट्सले निवेदन दिएको भन्ने आफूले बुझेको बताए।

'त्यो भएर पनि भएन। उनीहरु चलाख हुन खोजिरहेको छ। क्यानले सम्झौता सेभेन थ्री स्पोर्ट्ससँग गरेको छ। नेपालमा खोले सेभेन थ्री स्पोर्ट्स् नेपाल हुन्छ। सम्झौता कोसँग छ?, ' उनले भने, 'यिनीहरुले सेभेन थ्री स्पोर्ट्समार्फत नै श्रम स्वीकृती माग्दा राखेपको कानुन शाखाले लिगल डिपार्टमेन्टले यो मिल्दैन भनेर फर्काएको बुझेको छु।'

उनले अगाडि प्रश्न तेस्राए : खेलाडीको ग्यारेन्टी के? प्रायोजक खै? अलस्टारबाहेक बाँकी पाँचवटा टिमको ओनर को? पैसा कहाँबाट आउँछ? लिग हुनु राम्रो तर प्रकृया मान्नु पर्दैन?

लिग नभए के?

शुक्रवारबाट खेल्नुपर्ने लिगका टिमहरु नै अझ लिग के होला भन्नेमा सुनिश्चित छैनन्। शुक्रवार लिग नभए के हुन्छ भन्ने प्रश्नमा विराटनगरका 'को-ओनर' एवम् म्यानेजर राहुल शर्माले पैसा लगानी गरिसकेकाले नेपाल घुम्न जाने व्याङ्ग्यात्मक अभिव्यक्ति दिए।

‘नेपाल घुमेङ्गे, विराटनगर जाएङ्गे, जनकपुर नहीँ गए जनकपुर होके आएङ्गे। पशुपतिनाथके दर्शन करेङ्गे। देश घुमेङ्गे। इतना सारा खर्च हो चुका हे, हिमालयपे जाएङ्गे। १०–१५ दिन हाइकिङ करेङ्गे। हमको क्या दिक्कत हे?’ (नेपाल घुम्छौं, विराटनगर जान्छौं, जनकपुर गएका छैनौं। जनकपुर भएर आउँछौं। पशुपतिनाथको दर्शक गर्छौं। देश घुम्छौं। यति धेरै खर्च भइसकेको छ हिमालतिर जान्छौं, १०-१५ दिन हाइकिङ गर्छौं, हामीलाई के को दु:ख छ र ?)उनले भने।

सुरुबाटै विवादका शृङखला

नेपाल टी २० लिग गर्ने नेपाल क्रिकेट संघले निर्णय गरेयता नै एभरेस्ट प्रिमियर लिगसँगको विवाद सुरु भएको थियो। क्यान र इपीएलको मुद्धा अहिले पनि अदालतमा छ। क्यानले नेपाल टी २० लिगमात्र नेपालको लिग हुने र अरु लिगले क्षेत्रिय मान्यतामात्र पाउने स्पष्ट गरेपछि 'इपीएल'का संस्थापक अमिर अख्तर क्यानविरुद्ध खुलेरै लागेका थिए। अझ क्यानले 'बिडिङ' नगराएको, विवादास्पद भारतीय कम्पनी ल्याएर क्यानले आफ्नो क्षेत्राधिकार र कानुनबाहिरको काम गरेको भन्ने आरोप लगाएको छ।

यो विषयले अदालतदेखि संसदसम्म प्रवेश पाइसकेको छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले 'चतुरबाहादुरले चतुर्‍याइ गरेर क्रिकेटको बन्ध्याकरण' गरेको भन्दै संसदमा आवाज उठाए पछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले 'जनप्रतिनिधिले क्रिकेटमा दलाली गर्दै आएकालाई साथ दिनु नहुने' भन्दै बचाउ गरेका थिए।

इपीएल र क्यानबिचको विवाद नटुंगिदै नेपाल टी २० आयोजनाको मिति अगाडि आएको छ। यस्तोमा कसरी र कुन स्तरमा नेपाल टी २० सञ्चालन हुने या स्थगित हुने भन्ने स्पष्ट छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell