
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई नेपालसँग मिलेर अघि बढाउने बताएका छन्। आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा सम्बोधन गर्दै वाङले 'बीआरआई'लाई अघि बढाएर फलदायी नतिजा ल्याउने बताएका हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ सहयोग र चिनियाँ बैंकसँग ऋण लिएर नै निर्माण भएको हो। यो विमानस्थल नेपाल-चीन 'बीआरआई' सहयोग अन्तर्गत पर्ने प्रमुख परियोजना हो। कार्यक्रमलाई सम्बोधन गर्दै सीडीए वाङले उक्त विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना भएको बताए। साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक भएको पनि बताए।
'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना हो। यो विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको छ। जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र यो नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो,' वाङ सिनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने लगत्तै सक्रिय बनेको चिनियाँ दूतावास अहिले राजदूतबिहीन छ। अहिले चिनियाँ दूतावसको नेतृत्व 'सीडीए' वाङले गरिरहहेका छन्। आइतवारको कार्यक्रममा प्रचण्डसँगै विमानस्थल उद्घाटनमा सहभागी भएका वाङले चीनले नेपाललाई जहिलै प्राथमिकतामा राखेको बताए। उनले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न चीनले समर्थन गरेकोसमेत बताए।
'चीनले आफ्नो छिमेकीको कूटनीतिमा नेपाललाई सधैं प्राथमिकतामा राखेको छ। राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक र सामाजिक विकास हासिल गर्न नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ। दुई देशबिच विभिन्न क्षेत्रमा मित्रवत आदानप्रदान र सहयोगलाई गहिरो बनाउन नेपालसँग काम गर्न चीन इच्छुक छ,' वाङले भने।
प्रचण्ड प्रधानमन्त्री भएपछि केरुङ नाका खुल्नु, सीमापार रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली आउनु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनु लगायतका गतिविधिले नेपालमा चीनको गतिविधि बढेको देखाएको छ। यसो त प्रचण्डलाई प्रधानमन्त्री बनाउन चीन सक्रिय नबनेको भने हैन। आज पोखरामा सम्बोधन गर्दै वाङले विमानस्थलपछि चीनले नेपालसँग रेल र सडकमार्ग निर्माणमा काम गर्न चाहेकोसमेत बताए।
आइतवारको कार्यक्रममा वाङले सन् २०२३ चिनियाँ राष्ट्रपति सी चिनफिङको पहलमा प्रस्ताव भएको बीआरआई परियोजनाको १० औं वार्षिकोत्सव भएको सुनाए। दुवै राष्ट्रका राष्ट्रप्रमुखको निर्देशनमा संयुक्त रुपमा अब 'ट्रान्स हिमालयन बहुआयिमक कनेक्टिभिटी नेटवर्क' निर्माणमा उनले जोड दिए। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल-चीन सम्बन्धलाई ‘रणनीतिक’ सम्बन्धमा परिष्कृत गरिएको थियो। त्यस्तै, सोही भ्रमणका क्रममा ‘ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को चर्चासमेत उनले गरेका थिए। ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कबाट चीनले नेपाल हुँदै तिब्बतलाई दक्षिण एसियाली देशसँग जोड्ने लक्ष्य लिएको छ।
सम्बन्धित समाचार : काठमाडौंमा हिमाल पारीका पाहुना : चासो ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी
'सन् २०२३ राष्ट्रपति सी चिनफिङको बीआरआई पहलको प्रस्तावको १० औं वार्षिकोत्सव हो। दुई राष्ट्र प्रमुखको निर्देशनमा, हामी संयुक्त रूपमा ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्नेछौं र बीआरआईलाई सहकार्यमा फलदायी नतिजा ल्याउनेछौं,' उनले भने।
उक्त कार्यक्रममा वाङले चीन-नेपाल सीमापार रेल्वेको सम्भाव्यता अध्ययन र सर्वेक्षणका चिनियाँ विज्ञ टोली नेपाल आइपुगिसकेको बताए।
'यस अन्तरदेशीय सडक निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ। ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना अन्ततः साकार हुनेछ,' उनले भने।
यस्तै, उनले केरुङ नाका संचालनमा आइसकेको उल्लेख गर्दै अन्य बन्दरगाहबाट पनि व्यापार सुरु गर्ने बताए।
'केरुङ बन्दरगाहबाट हालै दुईतर्फी ढुवानी कार्य संचालन गरेको छ। र, पुलान/यारी बन्दरगाहमा दुईतर्फी व्यापार सन् २०२३ को सुरुबाट पुन: खोलिनेछ,' उनले भने।
उनले नेपाली उत्पादन चीनमा निर्यात गर्न प्रबन्ध गर्ने पनि बताएका छन्।
सोही कार्यक्रममा वाङले २०७२ सालको भूकम्पमा भत्किएका विद्यालयका साथै सम्पदास्थल पुननिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। चीनको सहयोगमा पुननिर्माण भएको रानीपोखरी अघि रहेको दरबार हाई स्कुलको बारेमा बताउँदै उनले भने, 'दरबार हाई स्कूलका साथै विद्यालयहरु र भूकम्पपछिको पुनर्निर्माणका क्रममा अन्य आयोजनाहरू सम्पन्न र हस्तान्तरण भइसकेको छ। पुनर्निर्मित उज्यालो कक्षाकोठाबाट ठूलो स्वरमा पढेको आवाज आइरहेको छ।'
कोभिड - १९ महामारीका कारण चीनमा कडा रुपमा प्रतिबन्धहरु लागू गरिएको थियो। केहीदिन अघि मात्रै चीन सरकारले महामारी रोकथामका नियम खारेज गर्ने र विमानबाट चीन प्रवेश सबैका लागि खुला गर्ने निर्णय गरेको थियो। वाङले यो निर्णयबाट नेपालको पर्यटन क्षेत्रलाई थप टेवा पुग्नेमा आफू आशावादी भएको बताए।
भने, 'चीनले जनवरी ८ देखि सबैका लागि विमान यात्रा खुला गरेको छ। मलाई विश्वास छ यसबाट नेपालको 'दश वर्षको पर्यटन' योजनालाई सफल हुनेछ।'