PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

एउटै निर्देशन कार्यन्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशन, फेसबुकमा राखिएको स्टाटस भने एकैछिनमा गायब



पहिलोपोस्ट

एउटै निर्देशन कार्यन्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशन, फेसबुकमा राखिएको स्टाटस भने एकैछिनमा गायब

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएको समस्या समाधानका लागि दिएको निर्देशनबारे राखेको स्टाटस केहीबेरमै हटाएका छन्। अमेरिकाबाट फर्केका दुधलाल नेम्वाङको अतिरिक्त फोन भन्सारका कर्मचारीले सोमवार नियन्त्रणमा लिएपछि उक्त समस्या समाधान गर्न निर्देशन दिइसकेको स्टाटस मंगलवार प्रचण्डको फेसबुकमा राखिएको थियो।

‘विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ,’ प्रधानमन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा मंगलवार दिउँसो लेखिएको थियो, ‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ।’

विदेशबाट फर्कँदा आफूले चलाइरहेको पुरानो सेट बिना भन्सार भित्र्याउन पाइन्थ्यो भने अर्को सेटको भन्सार तिर्नुपर्ने नियम आएको थियो। अतिरिक्त सेटको भन्सार लाग्ने भएपछि चौतर्फी विरोध भएको थियो।

चर्को दबावपछि विदेशबाट फोनसेट ल्याउँदा भन्सार लिने नीतिबाट शुक्रवारमात्र प्रचण्ड सरकार पछि हटेको थियो। र उक्त नीति तत्काल लागू नगराउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भनिएको थियो। 'प्रधानमन्त्रीज्यूले विदेशबाट आउने नेपालीले आफूसँग ल्याउने अतिरिक्त नयाँ मोबाइल सेटमा भन्सार नलिन अर्थमन्त्री विष्णु पौडेललाई भनिसक्नु भएको छ,' प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले शुक्रवार भनेका थिए

यही समाचार पढेपछि झापाका नेम्वाङले आफूले अतिरिक्त मोबाइल सेट ल्याएको तर भन्सारमा जफत भएको बताए। सरकारको निर्देशनले नै मान्यता नपाएको भन्दै सामाजिक सञ्चालमा यसको चर्को विरोध शुरु भएपछि प्रचण्डले यसबारेको समस्या समाधान गर्न अर्को निर्देशन दिएको फेसबुक स्टाटसमा उल्लेख थियो। तर उक्त स्टाटस केहीबेरमै हटाइयो। स्टाटस किन हटाइयो? यसबारे प्रश्न राख्दा प्रचण्डको सचिवालयले बुझेर जानकारी दिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell