PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

केन्द्रमा प्रचण्डलाई विश्वासको मतबारे माधव नेपालको प्रश्न, वाग्मतीमा भने शालिकराम सरकारलाई समर्थन



निशा गुरुङ

केन्द्रमा प्रचण्डलाई विश्वासको मतबारे माधव नेपालको प्रश्न, वाग्मतीमा भने शालिकराम सरकारलाई समर्थन

हेटौंडा : वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गरेको छ। सोमबार नेकपा एकीकृत समाजवादीले माओवादीका शालिकराम जमरकट्टेलको नेतृत्वको सरकारलाई गरेको हो। माओवादीबाट संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनेका छन्।

केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा अलमलमा रहेको एकीकृत समाजवादीले यहाँ भने माओवादी नेतृत्वलाई समर्थन गरेको हो। एकीकृत समाजवादीको यो समर्थनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। केन्द्रमा अध्यक्ष माधव नेपालले प्रतिनिधि सभामा सम्बोधन गर्दै विश्वासको मतबारे प्रचण्डलाई प्रश्न गरिरहँदा एकाएक वाग्मतीमा भने समर्थन?

प्रचण्डलाई माधव नेपालको प्रश्न : भोलि त विश्वासको मत लिनु छ, कार्यकाल कति दिन भन्ने कुरा आउला

यसबारे प्रश्न गर्दा केन्द्रीय निर्देशनअनुसार जम्मकट्टेललाई समर्थन गरेको समाजवादीका प्रदेशसभा सदस्य कृष्ण शर्मा खनालले बताए। एकीकृत समाजवादीको प्रदेशसभा सचिवालयस्थित संसदीय दलमा बसेको बैठकले उक्त निर्णय गरेको शर्माले जनाए।

सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच आइतबार भएको बैठकले वाग्मतीमा आलोपालोमा हुने सरकारको नेतृत्व माओवादीले गर्ने निर्णय भएको थियो। जमकट्टेलले सबै दललाई सहयोग मागेका थिए। यसै अनुरुप आफूहरुले समर्थन गरेको शर्माको भनाई रह्यो। ‘उहाँले सहयोग माग्नुभयो हामीले दियौं। सरकारमा सहभागी हुने विषयमा निर्णय भएको छैन। तर, हाम्रो समर्थन रहन्छ,’ उनले भने।

यसैबीच मुख्यमन्त्री नियुक्त भएलगत्तै मुख्यमन्त्री जमरकट्टेलले भने समादवादी सरकारमा जाने भन्ने विषयमा वाग्मती प्रदेशमा समर्थन गरेर शुरुवात गरेको बताए। ‘हाम्रो गणित नै त्यस्तो छ। त्यसैले अहिले हामी मिलेरै जानुपर्ने बाध्यता छ,‘ उनले भने, ‘मलाई लाग्छ त्यसको शुरुवात वाग्मती प्रदेशबाट भएको छ भन्ने हामी भन्न सक्छौं।’

जम्मकट्टेल आज एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० जनाको सांसदको समर्थनमा दावी पेश गरेका थिए। दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell