PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कीर्तिपुरमा नेपाल टी २० लिगको फाइनल खेल हुँदै, मैदान बाहिर प्रहरी 'एग्रेसिभ' रुपमा अनुसन्धान गर्दै



पहिलोपोस्ट

कीर्तिपुरमा नेपाल टी २० लिगको फाइनल खेल हुँदै, मैदान बाहिर प्रहरी 'एग्रेसिभ' रुपमा अनुसन्धान गर्दै

काठमाडौं : विवादै विवादका बिच नेपाल टी २० लिग आज सकिँदैछ।अहिले कीर्तिपुरस्थित क्रिकेटम मैदानमा फाइनल खेल भइरहेको छ। उपाधिका लागि लुम्बिनी अल-स्टार्स र विराटनगर सुपरकिंग्स भिडिरहेका छन्।

कीर्तिपुरमा फाइनल खेल भइरहँदा 'स्पट फिक्सिङ'मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। टी-२० लिगका खेलमा फिक्सिङ भएको घटना बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान थालेको थियो।

'हाम्रो अनुसन्धान पनि अन्तिम चरणमा झैं छ। ३/ ४ दिनमा नै कुनै टुंगोमा पुग्छौं,' सिआइबीका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।

अहिले प्रहरीले घटनामा संदिग्ध रहेका व्यक्ति, साछी, जान्ने सुन्नेहरुसँग बयान तथा सोधपुछ गरिरहेको छ। जारी लिगमा ६ टिममा करिब ९० जान खेलाडी सहभागी छन्। जसमा ३४ जना विदेशी खेलाडी रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि  प्रहरीले सोधपुछ गरेको छ। त्यस्तै, नेपाली र विदेशी खेलाडीहरुसँग पनि प्रहरीले बयान लिएको छ। प्रहरीले फिक्सिङमा संदिग्ध व्यक्तिहरुको पहिचान समेत गरिरहेको दाबी गरेको छ। प्रहरीले पहिचान भएका व्यक्तिहरुविरुद्ध थप प्रमाण संकलन गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही नेपाली र विदेशी खेलाडीहरु फिक्सिङमा संलग्न भएको खुलेको छ।

'प्रारम्भिक अनुसन्धानमा फिक्सिङ भएको देखिएको छ। तर त्यसको पनि थप प्रमाण जुटाउने र पुष्टि गर्ने आधार र प्रमाण जुटाइरहेका छौं,' एआइजी सुवेदीले भने।

प्रहरीले अहिले खेलाडी, नेपाल क्रिकेट संघका पदाधिकारी लगायत गरेर ६० जनासँग बयान तथा सोधपुछ गरिसकेको छ। यसरी बयान गरेकाहरुलाई पुनः सोधपुछ गर्ने काम पनि भइरहेको प्रहरीले जानकारी दिएको छ।

लिग विवादमा तानिएपछि केही दिनअघि मात्र दुबईमा रहेको आइसीसीको क्षेत्रीय कार्यालयबाट दुई जना पदाधिकारी आएर घटनाको जानकारी लिएर फर्किएका थिए। त्यस्तै आईसीसीको एन्टी करप्सन युनिटका म्यानेजर वीर सिंहले अहिले पनि घटनाको अनुसन्धान गरिरहेका छन्। उनीहरुले प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने वाचा  गरेर फर्किएका थिए।

नेपाल टी-२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। यसले प्रायोजक ल्याएको थियो, वान एक्स बेट। लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले उनी सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ। जतिनलाई प्रहरीले खोजी रहेको छ। तर उनी सम्पर्कमा छैनन्।

जतिन क्यानको सम्पर्कमा आएको भने प्रहरीले सूचना हात पारेको छ। फरार भएर भारत पुगेपछि उनले १ करोड रुपैयाँ समेत पठाएको देखिन्छ।

लिगलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हेरिरहेको छ। विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषयले झनै चर्चा पाएको थियो। उसो त श्रम स्वीकृतिकै कागजपत्र नमिलेका कारण नियमित समया सुरु हुनुपर्ने लिग एकदिन पछि सरेको थियो। सिआइबीले डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन गरिरहेको छ। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्।

सम्बन्धित समाचार

'स्पट फिक्सिङ'मा गिजोलिएको क्रिकेटः प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो फिक्सिङ!

टी-२० लिगमा 'स्पट फिक्सिङ' बारे सिआइबीले थाल्यो खेलाडीसँग सोधपुछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell