काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी सभामुखको निर्वाचनमा भाग लिन पाउनेबारे प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठक शुरु हुनसाथ कांग्रेस सांसद खतिवडाले हत्या अभियोगमा फरार रहेका सांसदको मतदान प्रक्रियामा सहभागी हुन नपाउने कि पाउने निर्क्यौल गरेरमात्र सदन सञ्चालन अघि बढाउन माग गरेका हुन्।
'अहिले सभामुखको निर्वाचन हुँदैछ। सभामुखको निर्वाचन हुने बेला यस संसदमा हत्याको अभियोग लागेका संसद यहीभित्र हुनुहुन्छ भन्ने छ सुन्नमा आएको छ,' खतिवडाले भने, सभामुख महोदय म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दिनँ उहाँलाई। यदि हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा सहभागी हुन पाउने र नपाउने निर्णय गरेरमात्र सभा सभा सञ्चाल बढाउन हुन अनुरोध गर्दछु।'
खतिवडाको मागमा कुनै सुनुवाई भने भएन। खतिवडाले आफ्नो भनाई राखेपछि प्रतिनिधि सभाका सभाध्यक्ष पशुपति शम्शेर जबराले सदन निरन्तर सञ्चालन गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहिलो संसदमा आफूले महतोलाई नदेखेको र यसबारे प्रश्न उठ्नसाथ पक्रन निर्देशन दिइसकेको दाबी गरेका थिए। पुस २७ गते राप्रपाको चियापानमा पुगेर गृहमन्त्री लामिछानेले भनेका थिए, 'मैले देखिनँ। पछि थाहपछि मैले फोन गरेर पक्रन निर्देशन दिएको छु।' यद्यपि महतो अझै पक्राउ परेका छैनन्।
प्रतिनिधि सभामा आज सभामुख छानिदैछ। सभामुखमा एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपानेबीच भिडन्त हुँदैछ।