PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोबिताले चौतर्फी तारिफ पाएको पहिलो भाषणमा तथ्यगत त्रुटि, मिल्दैन उनको यो दाबी



प्रकाश भण्डारी

सोबिताले चौतर्फी तारिफ पाएको पहिलो भाषणमा तथ्यगत त्रुटि, मिल्दैन उनको यो दाबी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पहिलोपटक शनिबार प्रतिनिधि सभामा सम्बोधन गरिन्। रास्वपाकी इन्दिरा रानामगरको उपसभामुखको प्रस्तावक बनेर गौतम पहिलोपटक रोस्टममा पुगेकी थिइन्। ‍

‘छिट्टै वसन्त ऋतु आउनेछ, तुसारोले रुखो बनाएको रुख बिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन्। राजनीतिमा पनि समयको चक्र फेरिरहन्छ,’ काव्यात्मक शैलीमा सम्बोधन सुरु गरेकी सोबिताले उपसभामुखमा रानामगरलाई भोट त मागिन्। सँगै उनले आफ्नैबारे पनि बोल्न भ्याइन।

‘यदि म गलत छैन भने मेरो उपस्थिति यो सदनको निम्ति नै एउटा ऐतिहासिक क्षण हुन सक्छ। सम्भवत: योभन्दा अगाडि मभन्दा कान्छो व्यक्तिले यो रोस्टममा आएर बोल्ने मौका सायदै पाएको होला,’ गौतम आफ्नै उमेरबारे दाबी गर्छिन्।

गौतमले २७ वर्षीया आफूलाई मतदाताले भरोसा गरेर प्रतिनिधि सभामा पठाएको पनि बताइन्। ‘नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै एक २७ वर्षे युवामाथि भरोसा गरेर मेरा मतदाताहरुले आफ्ना सपनाहरु सुम्पिएको क्षण हो,’ गौतमले भनेकी थिइन्।

उपसभामुखकी आंकाक्षीसमेत रहेकी गौतमलाई रास्वपाले उपसभामुखको भने उम्मेदवार बनाएन। उपसभामुखको उम्मेदवारलाई प्रस्ताव गर्न सभामुख देवराज घिमिरेले गौतमलाई १५ मिनेटको समय दिएका थिए सोबितालाई। लिखित मन्तव्य दिएकी गौतमले १७ मिनेटमा मात्रै बिट मारिन् रोस्टमबाट।

साढे २७ वर्षीया सोबिताले हेक्का नराखेको पूर्वसांसदको उमेर

उनको भाषण आफूजस्ता युवा संसदमा आउनु पनि परिवर्तनको संकेत हो भन्नेमा केन्द्रित थियो। हुनत यसअघि निर्वाचनकै बेला प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई दिएको अन्तवार्तामा गौतमले प्रश्नहरुलाई 'डिफेन्ड' गरेको शैलीलाई लिएर प्रशंसा भएको थियो। त्यही अन्तर्वार्ताले उनी राजनीतिको 'लाइमलाइट'मा आइन्।

उनले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं -२ मा नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ओनसरी घर्तीलाई पराजित गरिन्। चुनावमा उम्मेदवार भएदेखि नै चर्चामा रहेकी गौतम चुनाव जितेपछि झन् चर्चामा आइन्। 

रास्वपाले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेपछि गौतम कानुन मन्त्री हुने चर्चा पनि भएको थियो। तर, रास्वपाले गौतमलाई मन्त्री बनाएन। त्यसपछि उनलाई उपसभामुखको दाबेदार भनियो। तर पार्टीभित्र कलस्टर मिलाउनुपर्ने दबाब भएपछि उनलाई उपसभामुख उम्मेदवार नबनाइएको हो। उपसभामुखकै दाबेदार गौतमलाई नै प्रस्तावक बनाएर पार्टीमा विवाद नरहेको सन्देश दिन खोजिरहेको थियो रास्वपाले। 

शनिबारको संसद बैठकमा रोस्टममा पुग्ने आफू नै कम उमेरको सांसद भनेर दाबी गरेकी गौतमले आफूभन्दा अघिल्ला सांसदको उमेरबारे भने हेक्का राखिनन्। उनीभन्दा कम उमेरकै व्यक्ति सांसद भइसकेका छन् यसअघि नै।

गौतमले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनी २०५२ असार ३ गते दोलखामा जन्मिएकी हुन्। यो मिति अनुसार उनको उमेर २७ वर्ष ७ महिना भयो। 

मिल्दैन सोबिताको दाबी

साढे २७ वर्षमा संसदमा पुगेकी सोबिता कम उमेरमा भाषण गर्ने सांसद होइनन्। अभिषेकप्रताप शाह २०६३ मै अन्तरिम व्यवस्थापिकामा सांसद बनेका थिए। शाहको जन्म मिति २०३९ असोज १९ गते हो। २०६४ को पहिलो संविधान सभामा पनि शाह निर्वाचित भएका थिए। शाह २५ वर्ष ६ महिनामा नै निर्वाचित भएका थिए। मधेशी जनाधिकार फोरमबाट पहिलो संविधान सभामा शाह निर्वाचित भएका थिए।  २०७० को दोस्रो संविधान सभामा पनि उनी सदस्य निर्वाचित भए। २०७४ को प्रतिनिधि सभा निर्वाचनअघि भने शाह नेपाली कांग्रेस प्रवेश गरेर निर्वाचित भएका थिए।

२७ वर्षमा प्रतिनिधि सभाको रोस्टममा पुग्ने आफू नै पहिलो भनेर गौतमले गरेको दाबीलाई अभिषेकको विगतले खण्डित गरेको छ। २०६४ मै  अभिषेक मात्रै होइन सोबिताभन्दा कम उमेरमै संविधान सभामा थिइन् गायत्री साह पनि। रातो पासपोर्ट दुरुपयोगमा विवादमा समेत आएकी साह नेपाली जनता दलबाट २५ वर्षमै समानुपातिक सांसद भएकी थिइन् २०६४ सालमै।

उनको जन्म मिति २०३९ मंसिर ११ गते हो।

तयारी गरेरै प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएकी सोबिताले आफू नै युवा भनेर गरेको दाबीअनुसार यस पटकको प्रतिनिधि सभाको प्रत्यक्षतर्फबाट मात्र मिल्ने अवस्था छ। समानुपातिकबाट उनीभन्दा कम उमेरका सदस्य पनि निर्वाचित भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell