काठमाडौं: तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आइतबार प्रमुख अतिथिका रुपमा काठमाडौंको टुँडिखेलमा पुगेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। २८२९औं सोनाम ल्होछारको मुख्य अतिथिका रुपमा मञ्चमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई जनजाति अभियन्तादेखि तामाङ अभियन्ताहरुले छास्नु छासे।
कारण थियो –यो मन्त्रिपरिषदमा तामाङ समुदायलाई नसमेट्नु।
निम्तो दिएका आयोजक संस्था तामाङ घेदुङका अध्यक्ष मोहन गोलेदेखि तामाङ समुदायका पूर्वमन्त्रीहरु केरकारकै शैलीमा उत्रिए।
पहिचानसहितको संघीयताको मुद्दा बोकेर युद्धमा होमिएका पार्टीका कमान्डर भएकैले होला प्रचण्डमाथि नेताहरु खनिएका।
बरु प्रचण्डकै पार्टीका सांसद हितबहादुर तामाङले आफ्ना अध्यक्षको पक्षमा केही डिफेन्स गरे।
उनको भनाई थियो - अहिलेको मन्त्रिपरिषद्मा माओवादीले सबैभन्दा बढी समावेशी प्रतिनिधित्व गरेको छ।
'हाम्रो क्षेत्रको मतदाता पनि आफूले जिताएर पठाएको सांसद मन्त्री भएको हेर्न चाहन्छन्। तर सबै सम्भव हुँदैन। सबै प्रधानमन्त्री त हुन सक्दैनन् नि। समुदाय र क्षेत्रको सवालमा समुदायले राखेको चिन्ताको सवालमा मेरो पार्टीका अध्यक्ष हुनुभएको हौसियतले मेरो कुरा हुने गर्छ,' उनले माओवादीबाट भएका मन्त्रीहरुबारे थप व्याख्या गर्दै भने, 'अहिले माओवादीबाट जम्मा ५ जना हुनुभएको छ। एक जना श्रेष्ठ थरका नारायणकाजी श्रेष्ठ। अर्को राई समुदायबाट सुदन किराती। अर्को थारु समुदायबाट अमनलाल मोदी। अर्को महिला क्लस्टरबाट २ जना रेखा शर्मा र अर्को राज्यमन्त्री दलित समुदायबाट। एकदम समावेशी छ। कमरेड प्रचण्डले गर्व गर्न मिल्ने किसिमको छ।'
आफ्नो समुदायको प्रसंगमा भने हितबहादुरले प्रचण्डसँग कुरा बढिरहेकोले ढुक्क हुन आग्रह गरे।
प्रचण्ड पनि के कम!
आफ्नो पालो आउनेबित्तिकै हितबहादुरको प्रशंसा गरे। अनि तामाङ समुदायले चाँडै मन्त्री उपहारस्वरुप पाउने घोषणा गरिदिए।
'मन्त्रीका कुरा पनि उठे। मोहन गोलेले पनि कडै राख्नुभयो। जनजाति महासंघले पनि कानमै पर्ने गरी भन्नुभयो। हितबहादुरजीले मिठोसँग भन्नुभयो मैले भन्नुपर्ने कुरा। उहाँलाई विशेष धन्यवाद। तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो। कुमारी मोक्तानलाई पनि। शेरबहादुर तामाङलाई नेकपाकालमा बनाएकै हो। दावा तामाङलाई पनि बनाएकै हो,' प्रधानमन्त्रीले प्रचण्डले भने, 'केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले तामाङको छोरी पनि बनाउँछु मैले। एक तामाङको छोरो र एक तामाङको छोरी छिट्टै मन्त्री हुँदैछ। धेरै तनाव लिएर घरमा नजानुस्।'
बिरालो बिरालो भन्दै किन मागे दुई पटक माफी?
प्रमुख अतिथिका रुपमा टुँडिखेलमा पुगेका प्रधानमन्त्रीलाई शुरुमै घेदुङका अध्यक्ष गोलेले तामाङ तागी (टोपी) र गोइलो (पहिरन) लगाइदिएर सम्मान गरे। सञ्चालकसमेत रहेका घेदुङका कार्यवाहक महासचिव जगतमान दोङले प्रचण्डले तामाङ पहिरन लगाएकोमा प्रशंसा गर्दै भने - केही समयअघि प्रधानमन्त्रीज्युले दौरा सुरुवालमा शपथ लिनुभएको थियो। तर तामाङ तागीमा हेन्ड्सम देखिनुभएको छ।
यो सुन्नसाथ प्रचण्ड मज्जाले हाँसे।
त्यसपछि तामाङ परम्पराअनुसार मोलमपाठ गरे लामा बोम्बाहरुले।
नौ गेडागुडीको पिठोलाई आकाशतिर छर्केर नयाँ वर्गको स्वागत गरियो। प्रधानमन्त्री प्रचण्ड पनि यो कार्यक्रममा सहभागी भए। लगत्तै बोम्बा/ताम्बाहरुले साङसेरगेम (चोख्याउने) काम गरे।
स्वागत मन्तव्यपछि त्यसपछि प्रचण्डले कार्यक्रम उद्घाटन गरे तामाङ परम्परा अनुसार छ्युमी (बत्ती) बाले।
आफ्नो मन्तव्यको शुरुमै प्रचण्ड तामाङ अभिवादन गर्न भ्याए -
लस्सो फ्याफूल्ला। ल्होछारला ज्याबाडम्बा (नमस्कार - ल्होछारको शुभकामना)
'२८२९ औं ल्होछारको उपलक्ष्यमा सबै तामाङ समुदायहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु,' यसरी नै प्रचण्डले आफ्नो मन्तव्यलाई अघि बढाए।
त्यसपछि भने - बाघ वर्षलाई बिदाई गर्दै गर्दा र खरायो वर्षलाई स्वागत गर्दै गर्दा, तामाङ समुदायको..
यति बोलेपछि उनी एकछिन रोकिए। किनभने दर्शकदीर्घाबाट हुटिङ आएको थियो, प्रचण्डले बोलेको सही होइन भन्दै।
त्यसपछि उनी आयोजकतिर फर्किए र तुरुन्तै सच्चिए - बिरालो, बिरालो, सरी, सरी।
'बाघलाई बिदा गरी बिरालो वर्षमा प्रवेश गर्दै गर्दा तपाईंहरुको संस्कृति यहाँमात्र हैन संसारका विभिन्न ठाउँमा मनाइन्छ। विश्वविख्यात रहेको छ यो पर्व। त्यही रुपमा तपाईंहरुले पनि आत्मसात गर्नुहोला,' प्रचण्डले थपे।
पढ्नुस्ः 'ल्हो'को वर्ष गणनामा मनपरी, खरायोको ठाउँमा कसरी पस्यो बिरालो?
आफ्नै पहलमा ल्होछार कार्यक्रम यसरी मनाउन सकेको भनाई समेत उनले व्यक्त गरे। 'विगतमा एउटै जातको बर्चश्व कही कतै दमन गर्ने प्रवृत्ति थियो। ल्होछार यसरी विशाल रुपमा मनाउने अवस्था थिएन,' प्रचण्डले भने, 'नयाँ संविधानअन्तर्गत नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्ने जमर्कोमा हामी छौ।'
यसो त अहिले बाह्य प्रभावले नेपाली संस्कृतिबाट नै हस्ताक्षेप हुन थालेकोसमेत उल्लेख गरे।
'विगतमा सामन्ती व्यवस्थाले दमन भइरहेको थियो अहिले विदेशी संस्कृतिको प्रभुत्वले हाम्रो संस्कृतिलाई फैलाउन नदिने कोशिश भइरहेका छौं,' उनले भने, 'हामी सामन्ती हस्तक्षेप र बाह्य सांस्कृतिको हस्तक्षेप हामीमाथि परेको छ। यसबाट बच्ने जिम्मेवारी हामी सबैको काँधमा छ।'
प्रचण्डले गल्ती गरेका हुन् त?
प्रचण्डले मन्तव्यको अन्तिममा शुभकामना सन्देश पढे। जसमा खरायो वर्ष लेखिएको थियो। उक्त सन्देश पढेपछि प्रचण्डले भने - हिजो ताग ल्हो अर्थात् बाघ वर्षलाई बिदाई गरेर आजबाट खरायो वर्ष भनिएको छ।
त्यसपछि दर्शकदीर्घतिर हेरेर एकछिन अडिए प्रचण्ड। अनि भने - बिरालो वर्ष।
फेरि मञ्चमा आयोजकतिर फर्किएर भने - खरायो वर्ष र बिरालो वर्षमा मलाई सुझाउने पनि कही न कही कन्फ्युजन रहेछ। त्यसपछि मुसुक्क हाँसे प्रचण्ड र आफ्नो मन्तव्य टुंग्याए।
तामाङहरु नै दुविधामा!
चिनियाँ वर्ष गणनामा १२ जीवलाई पालैपालो राखेर वर्ष गणना हुन्छ। यही पद्धतिअनुसार तामाङ समुदायले पनि आफ्नो वर्ष गणना गर्छन्।
पहिलो-जीवा (मुसा)
दोस्रो-लाङ (गोरु)
तेस्रो-ताक (बाघ)
चौथो-ह्योइ (खरायो)
पाँचौ-ड्रुक (ड्रयागन)
छैटौं-डुल (सर्प)
सातौं-ता (घोडा)
आठौं-लुक (भेडा)
नवौं-टे (बाँदर)
दशौं-ज्या (चरा)
एघारौं-खि (कुकुर)
बाह्रौं-फाग (सुँगुर)
एक मिथकअनुसार भगवान गौतम बुद्ध परिनिर्वाण हुने बेला विभिन्न जीव भेट्न गएका थिए। तीमध्ये सबैभन्दा पहिले आउने जीवलाई बुद्धले चन्द्रोपात्रो अनुसार वर्ष चक्रको नाम दिई सम्मान गरेका थिए।
यो वर्ष गणना कसरी भयो भन्ने रोचक कथा पनि छ।
चीनमा चर्चित जेड सम्राट थिए। उनी जीवजन्तुका पनि प्रिय राजा। हरेक जीवजन्तुका रक्षामा उनको जोड हुन्थ्यो।
सम्राट बिरालोलाई धेरै मन पराउँथे। मुसालाई भने सबैभन्दा नराम्रो जीवका रुपमा हेरिन्थ्यो। मुसाले त्यही भएर बिरालोसँग मित्रता गाँसेको थियो।
अहिलेजस्तो घडी थिएन, क्यालेन्डर थिएन। मानिसहरु चन्द्रमाको आकारलाई हेरेर तिथि मापन गर्थे। घामको छाया हेरेर समय मापन गर्थे।
त्यहीबेला जेड सम्राटलाई समय नाप्ने इकाइ बनाउन मन लागेछ। उनी सबैभन्दा बढी जीवजन्तुलाई नै माया गर्थे। त्यसैले जीवजन्तुको नामबाट नै समयको नाम राख्ने निधो गरे। त्यसका लागि एउटा प्रतियोगिता आयोजना गर्ने र सबैभन्दा पहिलो हुने १२ जीवको नामबाट वर्ष गणना गर्ने घोषणा गरे।
प्रतियोगिता बिहानै सुरु हुने भयो। ठूलो नदी पार गरेर जेड सम्राट भएको ठाउँमा जो पुग्छन् तीमध्ये सबैभन्दा पहिलो पुग्ने १२ जना वर्ष गणनामा छानिने भयो।
मुसाले यो प्रतियोगितामा जसरी पनि पहिलो हुने योजना बनाउन थाल्यो। तर, मुसालाई पौडिन आउँदैन थियो। बिरालोले उसलाई साथैमा लाने वाचा गरे पनि मुसा दोस्रो हुनेवाला थियो। रातदिन उ दाँत किट्दै सोच्न थाल्यो। प्रतियोगिता हुनुभन्दा एकदिन अघि उसको भेट फूर्तिलो गोरुसँग भयो। गोरु प्रतियोगिताका लागि तयारी गरेर पोखरीबाट फर्कंदै थियो।
मुसाले गोरुलाई सघाउन अनुरोध गर्यो। पहिलो भएर जेड सम्राटलाई खुसी बनाउने योजना बनाएका गोरुले झर्केर भन्यो, ‘तिमीलाई मैले किन बोक्ने, तेरै साथी बिरालोले बोकिहाल्छ नि?’
गोरुको हप्कीले मुसा तर्स्यो। तैपनि मुसाले भन्यो, ‘खास कुरा के हो भने बिरालोलाई जेड सम्राटले पनि एकदम राम्रो मान्नुहुन्छ, कुरा सुने अनुसार प्रतियोगितामा पनि बिरालो नै पहिलो हुन्छ, मलाई पनि उहाँले नै लैजाने कुरा गर्नुभएको छ। तर मलाइ भने यो संसारको सबैभन्दा सुन्दर लाग्ने जीव तपाई नै हो, तपाई बलियो पनि हुनुहुन्छ। त्यसैले तपाई पहिलो भएको हेर्ने रहर छ मलाई।’
मुसाको कुराले गोरुको मन पग्लियो। अनि गोरुले साथ दियो मुसालाई।
यता, बिरालो पनि प्रतियोगितामा सफल हुनुपर्छ भनेर तयारी गरिरहेको थियो। उसले मुसालाई पनि सँगै लाने कुरा गरेको थियो।
‘म पहिलो हुन्छु, तिमी दोस्रो, हामीलाई यो खेलमा कसले जित्न सक्छ?’ बिरालोले भनेको थियो।
बिरालो एकदमै सुन्दर भए पनि अल्छी थियो। उ बिहान अबेरसम्म सुत्थ्यो। त्यसैले सुत्नुअघि उसले मुसालाई भन्यो, ‘ल शुभ रात्री, भोलि बिहान मलाई चाँडै उठाउँ है त, हामीले सबैलाई जित्नुपर्छ।’ हुन्छ भन्दै मुसा पनि सुत्यो।
प्रतियोगितामा मुसा पहिलो भयो। गोरुको ढाँडमा बसेको मुसा नदी सकिनसाथ उफ्रेर जेड सम्राट नजिकै पुग्यो। त्यसपछि गोरु पुग्यो। त्यसपछि बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडाँ, बाँदर, भाले(चरा), कुकुर र सुँगुर क्रमशः १२ स्थानमा पुगे। जेड सम्राटले यी नै १२ जीवको नामबाट वर्ग (ल्हो) को घोषणा गरे।
वर्ग गणनामा बिरालो परेन। कारण त्यसदिन मुसाले आफ्नो साथी बिरालोलाई बिहान उठाएन।
बिउँझेपछि हस्याङफस्याङ गर्दै दौडेको बिरालो १३औं नम्बरमा पुग्यो। वर्ग गणनामा बिरालो परेन।
यही वर्ग गणनामा नपरेको बिरालोलाई भने तामाङहरुले ल्हो वर्गको गणनामा समावेश गर्दै आएका छन्। त्यो पनि चौथो नम्बरमा जहाँ खरायोलाई समावेश गरिएको छ।
तामाङ समुदायका अग्रज भने स्थानीयकरणका कारण खरायोको साटो बिरालो राखेको दाबी गर्छन्। तामाङहरुले शुभकामना दिँदा अधिकांशले बिरालो वर्ग भने पनि केहीले भने खरायो वर्षका रुपमा प्रयोग गरेका छन्। बाघपछि आउने ह्योईको अर्थ खरायो नै हो। तर तामाङ समुदायले गन्ने बेला ह्योई भने पनि भन्ने बेला बिरालो नै भन्न थालेका छन्। यसले गर्दा प्रधानमन्त्री प्रचण्डलाई समेत आज तामाङ समुदायले रणभुल्लमा पारिदिए। र गल्ती नगर्दासमेत दुई दुई पटक माफी माग्न बाध्य बनायो।