PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विवादको घेरामा 'दुबई नेपाली सिने फेस्ट' : महापुरुषले बहिष्कार गर्दा के भन्छन् अरु सहभागी?



लक्ष्मी बलायर

विवादको घेरामा 'दुबई नेपाली सिने फेस्ट' : महापुरुषले बहिष्कार गर्दा के भन्छन् अरु सहभागी?

काठमाडौं : चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ विवादमा परेको छ। फिल्म ‘महापुरुष’ बहिष्कार गरेसँगै 'फेस्ट' विवादमा तानिएको हो।

आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै आपत्ति जनाएसँगै फेस्टिभल विवादमा तानिएको हो। ‘महापुरुष’ निर्माण कम्पनी षट्कोण आर्ट्स्ले बोर्डले सूर्य कर्पोरेसनजस्तो विवादास्पद कम्पनीसँग मिलेर फेस्टिभल गर्ने दाबी गरेसँगै बोर्डको नियतमाथि समेत प्रश्न उठिरहेको छ।

‘महापुरुष’ ले फेस्टिभलमा सहभागी नहुने निर्णय गरेसँगै चलचित्रकर्मीहरुले बोर्डमाथि असन्तुष्टि पोखेका छन्। निर्देशक एवम् निर्माता सन्तोष सेनले नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्वबजारमा लैजान सहयोग गर्ला? भन्दै प्रश्न तेर्साए।

'चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ गर्ने भएको रहेछ,' फेसबुकमा सेनले सोधेका छन्, 'नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने चाहना स्वागतग्य हो।..तर नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला? सरकारी बजेट ३० लाख…।'

त्यसैगरि, कलाकार कृष्ण मल्ल पनि बोर्डको पक्षमा छैनन्। उनले यस कार्यक्रमको सहकार्यको लागि आह्वान नगरेको भन्दै कानुनी रुपमा बोर्डको यो कदम गलत रहेको दाबी गरेका छन्।

'कुनै पनि सरकारी निकायले 'जिटुजी' सहकार्य गर्न सक्दछ, तर कुनै पनि प्राइभेट पार्टी वा व्यक्तिसँग सहकार्य गर्ने हो भने ईच्छुक संस्था वा व्यक्तिलाई सहकार्यका लागि सार्वजनिक आह्वान गर्न जरुरी छ। यो नगरेमा सो निकायलाई अख्तियार दुरुपयोग गरेको मानिन सक्दछ,' मल्लले लेखेका छन्, 'चलचित्र विकास बोर्डले दुबईमा गर्ने भनिएको कार्यक्रमको सहकार्यका लागि पनि आह्वान भएको छैन र चलचित्र सहभागिताका लागि पनि आह्वान गरिएको जानकारी छैन। यो कानुनी दृष्टिकोणबाट गलत छ।'

केही दिनअघि ‘नेपाली सिने फेस्ट’ को प्रचारको लागि बोर्डले एक पोस्टर सार्वजनिक गरेको थियो। फेब्रुअरी १२ गतेबाट सुरु हुने भनिएको फेस्टिभलको पोस्टरमा नीर शाह, ऋचा शर्मा, अनमोल केसी, सन्दीप क्षेत्री, उपासना सिंह ठकुरी, रवि ओड, शिव श्रेष्ठ, विजय लामालगायतका कलाकारको फोटो समावेश छ। साथै फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूचीमा ‘महापुरुष’ का साथै ‘कबड्डी ४’ र  ‘ऐना झ्यालको पुतली’ को समेत नाम छ।

गत मंसिरमा सूर्य कर्पोरेसनमा वैदेशिक रोजगार विभागले छापा मारेको थियो। जस क्रममा ८० थान राहदानी जफत गरिएको थियो। युवाहरूलाई अवैध रुपमा वैदेशिक रोजगारीका लागि जापान, क्यानाडा, अमेरिकालगायतका मुलुकमा पठाउने भनी राहदानी संकलन गरेको भेटिएको प्रहरीको दाबी थियो। यसै कम्पनीसँगको सहकार्यमा बोर्डले दुबईमा फेस्टिभल गर्दैछ।

अरु फिल्म भने सहभागी हुने

फेस्टिभललाई ‘महापुरुष’ टिमले बहिष्कार गरे पनि ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’भने सहभागी हुने जनाएको छ। आफूसँग बोर्डले अनुमति लिएर फेस्टिभलमा फिल्म देखाउन लागेको ‘ऐना झ्यालको पुतली’ का निर्माता आकाश पौडेल बताउँछन।

‘हाम्रो फिल्म फेस्टिभलमा सहभागी हुनेछ। बोर्डले अनुमति लिएर ऐना झ्यालको पुतली देखाउन लागेको हो। महापुरुषले बहिष्कार गरेको खबर सुनियो। तर, सबैले एउटै निर्णय गर्नुभएन,' पौडेलले भने, 'नेपाली चलचित्रको विस्तारका लागि नेपाल सरकार र विकास बोर्डले गर्ने कार्यक्रम भएकाले हामीलाई सहभागी हुन आपत्ति छैन।’

त्यसैगरि, ‘कबड्डी ४’ निर्देशक रामबाबु गुरुङको पनि फिल्म देखाउन बोर्डले अनुमति लिएको तर्क छ। ‘महापुरुष’ ले बहिष्कार गरेपनि ‘कबड्डी ४’ भने सहभागी हुने उनको भनाई छ।

‘भुवनजीले सोधेरै नै फेस्टिभलमा कबड्डी समावेश गर्नुभएको हो। बोर्डबाट गर्ने कार्यक्रममा दुईवटा फिल्म देखाउने भन्नु भएको थियो। ‘कबड्डी ४’ लाई व्यवसायिक र ‘ऐना झ्यालको पुतली’ लाई समीक्षात्मक हिसाबले देखाउन लागेको कुरा गर्नु भएको थियो। सरकारबाट भएर त्यसैले पनि मौखिक रुपमा हुन्छ भनेको हुँ,’ गुरुङले भने, ‘तर, महापुरुषको भने नाम लिनुभएको थिएन। उहाँहरुबिचको कुरा मलाई थाहा छैन। उहाँहरुले बहिष्कार गरेभन्दैमा हामीले त्यही गर्ने कुरा हुँदैन।’

गुरुङ निर्देशित ‘कबड्डी ४’ यसवर्षको हिट फिल्ममा पर्छ। यस फिल्मले नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड कायम गरेको छ।

अभिनेत्री ऋचा शर्माले चलचित्र विकास बोर्डबाट नै बोलाएकोले कार्यक्रममा उपस्थित हुने बताइन्। ‘मलाई बोर्डबाट फेस्टिभलमा प्यानलिष्टको रुपमा बोलाएको हो। सूचना तथा सञ्चार मन्त्रालयले गर्ने यो कार्यक्रम नेपाली सिनेमाको विस्तारको बारेमा छ। अभिभावक जस्तो संस्था बोर्डले निमन्त्रणा गरेपछि फेस्टिभलमा जाने कुरा भएको हो,’ शर्माले भनिन्।

बोर्डबाहेक सूर्य कर्पोरेसनसँग आफ्नो कुनै लेनादेना नरहेको उनले प्रष्ट पारिन्। ‘बोर्डले अनुमति लिएर नै पोस्टरमा मेरो फोटो राख्नु भएको हो। म कुनै अवार्ड पाउन वा फिल्म देखाउन जान लागेको होइन,' ऋचाले भनिन्, 'साथै मेरो सूर्य कर्पोरेसनसँग पनि कुनै लेनादेना छैन। म प्यानलिष्टको रुपमा फेस्टिभलमा सहभागी हुनेछु।’

सम्बन्धित समाचार : दुबईमा सिनेमा फेस्ट व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीको स्पष्टीकरण : बोर्डका अध्यक्षसँग व्यापारिक साझेदारी छैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell