PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दुबईमा सिनेमा फेस्ट व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीको स्पष्टीकरण : बोर्डका अध्यक्षसँग व्यापारिक साझेदारी छैन



पहिलोपोस्ट

दुबईमा सिनेमा फेस्ट व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीको स्पष्टीकरण : बोर्डका अध्यक्षसँग व्यापारिक साझेदारी छैन

काठमाडौं : चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फेस्टिभल विवादित बनेपछि सूर्य कर्पोरेसनले स्पष्टीकरण दिएको छ। मंगलवार एक विज्ञप्ति निकाल्दै फेस्टिभल व्यवस्थापनको जिम्मा लिएको सूर्य कर्पोरेसनले आफूमाथि लागेका आरोपको खण्डन गरेको हो।

हिजो फिल्म ‘महापुरुष’ टिमले अनुमति बिना नै प्रदर्शनको सूचीमा राखेको भन्दै आपत्ति जनाएको थियो। बोर्डले सूर्य कर्पोरेसनजस्तो विवादास्पद कम्पनी मिलेर फेस्टिभल गर्न लागिएको कलाकारहरुले दाबी गरेका थिए।

विज्ञप्तिमा कर्पोरेशनलाई लगातार विवादित शब्द प्रयोग गरेकोको प्रति असन्तुष्टि जनाएको छ। आफ्नो संस्था एजुकेसनल कन्सलटेन्सी नभएर टुर एण्ड ट्राभल एजेन्ट मात्र रहेको बताएको छ।

‘कानुनसम्वत दर्ता गरेर कर समेत तिर्दै आएको र नियमानुसार टुर एण्ड ट्राभल्स एजेन्टको रुपमा सेवा दिँदै आएको यस कम्पनीले सेवाग्राहीको पासपोर्ट संकलन गरि टुर प्याकेज र इभेन्ट प्याकेजको तयारी गरिरहेको अवस्थामा विभागले कन्सल्टेन्सी हुनसक्ने अनुमानसहित अनुगमन गरेको थियो। अनुगमनमा केही थान पासपोर्ट र डकुमेन्ट विभागले बरामद गरी अनुसन्धान गर्दा कन्सल्टेन्सी नभई टुर एण्ड ट्राभल्स रहेको र कुनै पनि अवैधानिक त्रुटि नरहेको भन्दै चार दिनमै सबै डकुमेन्ट र पासपोर्टहरू पत्रसहित फिर्ता गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार : विवादको घेरामा 'दुबई नेपाली सिने फेस्ट' : महापुरुषले बहिष्कार गर्दा के भन्छन् अरु सहभागी?

बोर्डका अध्यक्ष भुवन केसीसँग कर्पोरेशनको कुनै व्यापारिक साझेदारी नभएको समेत उल्लेख गरिएको छ। साथै, आफ्नो संस्थाले व्यवस्थापनको मात्रै जिम्मा लिएको सूर्य कर्पोरेसनले दाबी गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘बोर्डका अध्यक्षसँग कर्पोरेसनको कुनै व्यापारिक साझेदार नभएको पनि स्पष्ट पार्न चाहन्छौ। विभिन्न देशमा नेपाली चलचित्र वितरण कर्पोरेशनको नियमित काम रहेको जानकारी पनि गराउँदछौ। हाल कर्पोरेसनले दुबईमा सिनेमा फेस्ट - २०२३ को व्यवस्थापन गरिरहेको छ| चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको सिनेमा फेस्टलाई कर्पोरेसनले व्यवस्थापन गर्न लागेको हो। बोर्डले सो कार्यक्रमको लागि आफैले ३० लाख खर्च गर्ने भएको छ। सिनेमा फेस्टसंगै कर्पोरेशनको आफ्नै कार्यक्रम पनि रहेकोले बाँकी खर्च कर्पोरेसनले व्यवस्थापन गर्नेछ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell