काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशन नमानेकोमा आक्रोश जनाएका छन्। बुधवार प्रतिनिधि सभाको विशेष समयमा आफ्नो भनाई राख्दै पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारकै मन्त्रीहरुको धारणा बाझिएको बताएका हुन्।
'प्रधानमन्त्रीले राष्ट्रिय सभामा संघीयताविरुद्ध मन्त्रीले बोल्न पाइदैंन भनेको भोलिपल्ट शहरी विकास मन्त्रीले चितवनमा भन्नुभयो। आफ्नो पार्टीले संघीयता विरुद्ध रहेको भन्नुभयो,' पन्तले भने, 'प्रधानमन्त्रीको निर्देशन राप्रपाले नमान्ने चेतावनी दिनुभयो। पार्टीका सिद्धान्तका आधारमा बोल्ने बताउनुभयो। यो संविधानको अधीनमा रहेर मन्त्रीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ। प्रधानमन्त्री र मन्त्रीको धारणा संविधानबारे बाझिने राम्रो होइन।'
पछिल्लो सयम राप्रपाका मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा सांसदहरुले प्रश्न गरेका थिए। उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने चेतावनी दिएका थिए। तर प्रधामन्त्रीको चेतावनी दिएकै भोलिपल्ट सहरी विकासमन्त्री विक्रम पाण्डेले संघीयताविरुद्ध अभिव्यक्ति दिए।
पन्तले संसदमा मन्त्रीहरु पनि उपस्थित भए सरकारको भूमिका राम्रो हुनेसमेत बताए। 'संसदको गरिमा र यसप्रति जनताको भरोसा बढाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। संसद चलेको दिन मन्त्रीहरु आएर बैठकमा उपस्थिति जनाउनुभयो भने गरिमा बढ्छ,' पन्तले भने।