PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माओवादी र एमाले खनिँदा राप्रपाका धवल र ज्ञानेन्द्रको 'काउन्टर' : सत्तारुढकै ब्याटल चल्दा कांग्रेस बन्यो रमिते



पहिलोपोस्ट

माओवादी र एमाले खनिँदा राप्रपाका धवल र ज्ञानेन्द्रको 'काउन्टर' : सत्तारुढकै ब्याटल चल्दा कांग्रेस बन्यो रमिते

काठमाडौं : बुधवार प्रतिनिधिसभामा सत्तारुढ दलहरुकै सांसदबिच गजबको ब्याटल चल्यो। माओवादीदेखि एमाले सांसद् राप्रपाका मन्त्रीहरुमाथि खनिए – राप्रपाका सांसद पनि के कम?

'ब्याटल'मा उत्रिहाले।

संघीयताको विरोध र बचाउमा भएको ब्याटलमा आफूलाई प्रमुख प्रतिपक्षी दाबी गरेको कांग्रेसको स्वर भने सुनिएन।

सबैभन्दा पहिले त एमालेका सांसद रघुजी पन्त नै खनिए राप्रपा मन्त्रीहरुमाथि। राप्रपाका मन्त्रीहरु बेलगाम भएको इंगित गर्दै पन्तले यस्तो हुनु राम्रो नभएको तर्क गरे।

'यो संविधानको अधिनमा रहेर मन्त्रीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ। प्रधानमन्त्री र मन्त्रीको धारणा संविधानबारे बाझिने राम्रो होइन,' उनले भने।

एक हप्ताअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले संघीयता खारेजी तथा हिन्दु धर्मका पक्षमा अभिव्यक्ति दिएका थिए। जसको विषयमा माघ १० गते राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथिसमेत प्रश्न उठेको थियो।

राष्ट्रिय सभामा प्रश्न चर्किएपछि प्रधानमन्त्री प्रचण्डले संघीयताविरुद्ध नबोल्न चेतावनी दिएका थिए। 'मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई पनि हुन्छ,' प्रचण्डले भनेका थिए, 'मन्त्रिमण्डलभित्र बसेर संघीयताको बिरोध गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन्न। यो स्पष्टीकरणको विषय पनि हुन्छ भन्ने कुरा पनि स्पष्ट गर्न चाहन्छु।'

प्रधानमन्त्रीले चेतावनी दिएको भोलिपल्टै चितवन पुगेर राप्रपाबाट सरकारमा शहरी विकास मन्त्री रहेका विक्रमण पाण्डेले भने - संघीयता हामीले स्वीकारेको छैनौँ। प्रचण्डको चेतावनीको बोली खस्न नपाउँदै पाण्डेले पार्टीको धारणाबारे बोल्न नडराउने तर्क गरे।

यही विषयमा आपत्ति जनाउँदै पन्तले आक्रोश पोखे।

उनीमात्र हैन सत्ताको नेतृत्व सम्हालेको माओवादी पार्टीका सांसद शक्तिबहादुर बस्नेतले पनि राप्रपाका मन्त्रीहरुलाई पाठ सिकाउन भ्याए। उनले काठमाडौं बसेर संघीयताको बिरोध गर्न उचित नभएको तर्क गरे। उनले संघीयता बुझ्न कर्णाली र सुदुरपश्चिममा जान उनको आग्रह थियो। उनले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिमाथि चर्को आक्रोश व्यक्त गरे। भने, 'सरकार कार्यकारी अधिकार प्रयोग गरिरहेको हुन्छ। मन्त्रीहरु संविधान बाहिर गएर टिप्पणी स्वीकार्य हुन्न।'

अझ जनता समाजवादी पार्टीका सांसद त एक कदम अघि बढेर राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्नसमेत माग गर्न भ्याए। जसपा सांसद राजकिशोर यादवले संविधान नमान्ने मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेका हुन्। यादवले आफ्नो भनाई राख्दै कारवाही नभए आफ्नो पार्टी आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए।

यस्तै भइरहने हो भने अहिलेको सरकारको आयु चाँडै सकिनेसमेत उनको भनाई थियो। 'मुल गेटमा एक पत्रकार साथीले माननीयज्यू अब के हुन्छ? भन्नुभयो। मैले भने - कि यो सरकारको नाक काटिन्छ कि सरकारको आयु सकिन्छ,' यादवले भने, 'राजनीतिमा जुन घटनाहरु घटित भए हामी जनप्रतिनिधि हौं भन्न लज्जा भएको छ।'

काउन्टरमा धवल र ज्ञानेन्द्र शाही

सत्तारुढ दलकै सांसद आफ्नो पार्टीमाथि खनिएपछि राप्रपाका दुई सांसद बचाउमा उत्रिए। राप्रपाका सांसद धवल शम्शेर राणाले संविधानले कसैलाई बोल्न रोकटोक नगरेको दाबी गर्दै हेप्ने काम नगर्न चेतावनी दिए। 'राप्रपामाथि प्रहार गर्नुभयो। हामी नेपाली जनताको मनमा भिजेका छौं। हामी सनातन धर्म हिन्दुराष्ट राजा सहितको प्रजातन्त्र स्थापना गर्न आएका छौं। त्यो कुरा संविधानले रोक्दैन,' सांसद राणाले भने, 'हामीले बोल्न पाउनुपर्छ। त्यसको मतलब हामी संविधान मान्दैनौं भन्ने होइन। नमान्ने भए जंगल जान्थ्यौं। हामीलाई हेप्ने काम यो सदनबाट आइन्दा नहोस्।'

राप्रपाका संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले गणतन्त्र संविधानबाटै बदल्न सकिने ठोकुवा गरे। 'गणतन्त्र चाहिन्छ चाँहिदैन भन्ने कुरा संविधानबाटै लागू गर्न सकिन्छ,' शाहीले भने। शाही बोलिसक्नासाथ पन्तले पनि शाहीको बोलीलाई काउन्टर दिन खोजिरहेका थिए। माइक लिएर बोल्न खोजिरहेका पन्तलाई सभामुख देवराज घिमिरेले समय नै दिएनन्। जसले गर्दा उनको काउन्टर जवाफ सुन्न पाएनन्।

संघीयता रक्षाका लागि आफ्नो दलको ठूलो भूमिका रहेको दाबी गर्दै आएको कांग्रेसका सांसदहरु भने यही विषयमा सत्तारुढ दलका सांसदहरुबिच ब्याटल चल्दा रमितेमात्र बनिरह्यो। बुधवारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार,  चन्द्र भण्डारी, मोहन बस्नेतलगायतले विविध विषयमा धारणा राखेका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell