PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

थप बिग्रिँदै चीन-अमेरिका सम्बन्ध : हार्ने खेल खेल्ने दुवै देश तयार छैनन्, तर किन बढ्दै छ तनाव?



विधुर ढकाल

थप बिग्रिँदै चीन-अमेरिका सम्बन्ध : हार्ने खेल खेल्ने दुवै देश तयार छैनन्, तर किन बढ्दै छ तनाव?
Illustration: Lau Ka-kuen / South China Morning Post

सांघाई : अमेरिकी आकाशमा चिनियाँ 'स्पाइ बेलुन'को उपस्थितिलाई लिएर अमेरिकाले आफ्ना विदेश मन्त्री एन्टोनी ब्लिंकनको आसन्न बेइजिङ भ्रमणलाई स्थगित गर्‍यो। यसले दुई देशबिचको सम्बन्धमा थप तिक्तता उत्पन्न गरेको छ। 

यसका बाबजुद पनि अमेरिकी विदेश मन्त्रीले बेइजिङ भ्रमण गरेको भए पनि यसले दुई देशबिचको सम्बन्धमा कति सकरात्मक प्रभाव पार्थ्यो होला? चर्चाहरु सुरु भएका छन्। बेइजिङका कुटनीतिज्ञहरु पनि अहिलेकै अवस्थामा ब्लिंकनको बेइजिङ भ्रमण भएको भए पनि त्यसबाट कुनै उपलब्धी दिन नसक्ने बताउन थालेका छन्। 

विशेष गरि चीनविरुद्ध वासिङटनका पछिल्ला गतिविधि बढ्दै जाँदा अमेरिकी विदेश मन्त्री ब्लिंकनको बेइजिङ भ्रमण अनुपयुक्त रहेको बेइजिङका एक कुटनीतिज्ञले बताएका छन्। 'उल्फ वारियर'को रुपमा चर्चित फ्रान्सका लागि चीनका राजदूत लु साहयले वासिङटनले बेइजिङलाई उक्साइरहेको अवस्थामा उनको भ्रमण उपलब्धीबिहिन हुने थियो भन्दै प्रतिक्रिया दिएका हुन्। 

फ्रान्सको एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै उनले पछिल्ला केही वर्षहरुमा चीन र अमेरिकाबिच आपसी विश्वास घट्दै गएकोसमेत बताएका छन्।

'अनुत्तरदायी गतिविधिका कारण यो समयमा ब्लिंकनको भ्रमण उपयुक्त पनि थिएन,' उनले भनेका छन्, 'मेरो विचारमा यो तथाकथित भ्रमण नै अनुपयुक्त हो। किनभने पछिल्लो समय अमेरिकाले सैन्य, वैज्ञानिक र ताइवानको मुद्दामा चीनविरुद्ध धेरै काम गरेको छ। उदाहरणका लागि :सैन्य रूपमा, अमेरिकीहरूले जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरूलाई चीनको सामना गर्न सैन्य मुख्यालय निर्माण गर्न भेला गरेको छ। उनीहरूले फिलिपिन्समा सैन्य अखडाहरूको संख्या बढाएको छ।'

उनले आगामी अप्रिलमा अमेरिकी सभामुखले ताइवानको भ्रमण गर्ने कुरा आएको बताउँदै यी सबैले चीनको हित उल्लंघन गर्ने बताएका छन्। फ्रान्स स्थित चिनियाँ दूतावासले जारी गरेको अन्तर्वाताको लिखित संस्करणमा उनले भनेका छन् : चीन सरकारले अमेरिकी प्रशासन र संसदलाई यस प्रकारको चीन विरोधी गतिविधि नगर्न धेरै पटक अनुरोध गरिसकेको छ। तर, उनीहरूले हाम्रो कुरा सुनेका छैनन्। त्यसैले मलाई लाग्छ, ब्लिन्केन चीन आए पनि यसले सकारात्मक भूमिका निर्वाह गर्दैन। राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति बाइडनबिच जी-२० शिखर सम्मेलनका क्रममा भएको सहमतिलाई मूर्तरूप दिन भेटवार्ता भएपछि उनको भ्रमण तय भएको हो। तर उनको भ्रमणअघि नै अमेरिकाले ती सहमति तोडेको थियो। त्यसोभए उनको भ्रमणको अर्थ के हो?'

उनले भ्रमण सफल हुनका लागि दुबै पक्षको तयारी र सहभागिता हुनुपर्ने बताउँदै चीनले कहिल्यै पनि भ्रमणको मिति सार्वजनिक नगरेको बताएका छन्।

यता, विश्लेषकहरुले पनि ब्लिंकन वास्तवमै बेइजिङ आउन चाहन्थे भन्नेमा प्रश्न गरेका छन्। सांघाई स्थित इस्ट चाइना नर्मल युनिभर्सिटीको स्कुल अफ पोलिटिक्स एण्ड इन्टरनेशनल रिलेसनका प्रध्यापक जोसेफ माहोनी 'स्पाइ बेलुन' बाहना मात्र भएको दाबी गर्छन्। 

'मलाई लाग्दैन कि अमेरिका साँच्चै ब्लिंकनको बेइजिङ भ्रमण चाहन्थ्यो। मलाई लाग्दैन कि गत वर्ष बालीमा जी २० साइडलाइनमा बाइडेन सिसँग भेट गर्न चाहन्थे। मार्कोन (फ्रान्सेली राष्ट्रपति) र स्कोल्ज (जर्मन चान्सलर)को बेइजिङ प्रतिको सकारात्मक पहुँचका कारण बाइडेन भेट्न बाध्य भएका थिए,' उनी भन्छन्। माहोनी बेलुनलाई एक हप्तासम्म अमेरिकी आकाशमा उड्न दिएको घटनाले पनि वास्तवमै बेलुन अमेरिकाको लागि सुरक्षाको खतरा थिएन भन्ने पुष्टि हुने दाबी गर्छन्।

'बेलुनलाई खसाल्न ढिलाइ गर्नुले पनि के पुष्टि गर्छ भने ह्वाइट हाउस र त्यहाँको सैनिक पनि यो (बेलुन)अमेरिकाको लागि खतरा होइन भन्ने निष्कर्षमा नै थियो,' उनी भन्छन्, 'यदी खतरा नै थियो भन्ने लाग्छ भने उनीहरुले तत्काल नै खसाल्ने थिए।'

चीनका लागि फ्रान्सेली राजदूत लुले पनि सुरुमा बेइजिङको स्पष्टिकरणलाई वासिङ्टनले स्वीकार गरेको दाबी गर्छन्। उनले अमेरिका भित्रको चीन विरोधी विचार हावी हुँदा अमेरिकाको आन्तरिक राजनीतिकै कारण ढिलाइ गरि खसालिएको समेत दाबी गरेका छन्। 

उनले बेलुनका अवशेषहरु अमेरिकाले चीनलाई फिर्ता दिनुपर्नेसमेत माग गरेका छन्। चिनियाँ विदेश मन्त्रालयले पनि यसतर्फ संकेत गरेको छ। मंगलवारको नियमित पत्रकार सम्मेलनमा 'के चीनले अमेरिकालाई गोली हानेको बेलुनको भग्नावशेष फिर्ता गर्न भनेको छ?' भनि सोधिएको प्रश्नमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनेकी छन् : 'यो हवाई जहाज अमेरिकाको होइन। यो चीनको हो।

बेलुनले कुनै पनि व्यक्ति वा अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै खतरा उत्पन्न नगरेको दाबी गर्दै उनले थप भनिन्, 'अमेरिकाले बल प्रयोग नगर्ने गरि शान्त र व्यावसायिक तरिकाले यस्ता घटनाहरूको उचित व्यवस्थापन गर्नुपर्थ्यो। तैपनि उनीहरूले अन्यथा गर्ने निर्णय गरे, जुन स्पष्ट अतिप्रतिक्रिया हो।'

आक्रमक बाइडेन प्रशासन 

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनले चीनलाई कडा टक्कर दिएको दाबी गरेका छन्। बुधवार (स्थानीय समय अनुसार मंगलवार) संसदमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

'म कार्यालयमा आउनु भन्दा अगाडि जनवादी गणतन्त्र चीन आफ्नो शक्ति बढाइरहेको थियो र अमेरिका विश्वमा खस्किरहेको थियो,' उनले भनेका छन्, 'अब त्यस्तो छैन।'

उनले चिनियाँ राष्ट्रपति सिलाई आफू द्वन्द्व नभई प्रतिस्पर्धा चाहेको स्पष्ट रुपमा भनेको बताएका छन्। उनले ७३ मिनेट लामो भाषणमा ६ पटक चीनको नाम लिँदै अमेरिकाले मात्र चीनको 'मुकावाला' गर्न सक्ने बताएका थिए। 

'हामीले अमेरिकालाई बलियो बनाउन लगानी गरिरहेका छौं। यसमा मैले कुनै क्षमा माग्ने छैन,' उनले भनेका छन्, 'अमेरिकी नविनता र उद्योगमा लागनीले भविष्यलाई परिभाषित गर्नेछ र यसमा चीन सरकारको हैकम छ।'

उनले दशकमै चीनसँग प्रतिस्पर्धाका लागि आफूहरु बलियो अवस्थामा भएको दाबीसमेत गरेका छन्।

'म अमेरिकी स्वार्थ र विश्वको फाइदाका लागि चीनसँग काम गर्न प्रतिवद्ध छु,' उनले भनेका छन्, 'तर यसमा कुनै गल्ती हुने छैन। हामीले गत साता पनि स्पष्ट पारिसकेका छौैं। यदी चीनले हाम्रो सार्वभौमिकतालाई चुनौती दिए हामी हाम्रो देश बचाउन जे पनि गर्नेछौं। र हामीले गर्‍यौं पनि।'

उनले चीनविरुद्ध जितका लागि हुने प्रतिस्पर्धाले आफूहरुलाई एक बनाउनेसमेत बताए। उनको यो सम्बोधन अगाडि अमेरिका स्थित चिनियाँ दूतावासका चार्ज दी अफेयर्सले अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषयदका अधिकारीहरुलाई बेलुन खसालिएको विषयमा चीनको धराणा राखेका थिए। 

यसैबिच अमेरिकी राष्ट्रपतिको सम्बोधन पछि चिनियाँ विदेश मन्त्रालयले चीन प्रतिष्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेको छ। मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, 'चीन प्रतिस्पर्धाबाट पछि हट्दैन र हट्ने छैन। यद्यपि, हामी सम्पूर्ण चीन-अमेरिकी सम्बन्धलाई प्रतिस्पर्धाका आधारमा परिभाषित गर्ने पक्षमा छैनौं।'

उनले चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा र विकासका हितको दृढतापूर्वक रक्षा गर्ने बताएकी छिन्। 'अमेरिकाले चीनलाई वस्तुपरक र तार्किक दृष्टिले हेर्नुपर्छ, सकारात्मक र व्यावहारिक चीन नीति अवलम्बन गर्नुपर्छ र चीन-अमेरिका सम्बन्धलाई सुदृढ र स्थिर विकासको ट्रयाकमा फर्काउन चीनसँग मिलेर काम गर्नुपर्छ,' उनले भनेकी छन्।

प्रवक्ता माओले अमेरिकाले 'चाइना थ्रेट'को कथालाई अतिरञ्जित पारिरहेको आरोप लगाउँदै यसले दुई देशबिच विश्वास निर्माण र सम्बन्ध सुधार हुन नसक्ने र अमेरिकालाई समेत सुरक्षित नबनाउने बताइन्।  

दुई देशबिच बढ्दो तनाव 

यता चिनियाँ विश्लेषकहरुले 'चाइना थ्रेट थ्योरी'को प्रयोग गर्दै अमेरिका रक्षा बजेट बढाउने तर्फ लागेको विश्लेषण गरेका छन्। यसअघि अमेरिकी चार तारे जर्नेलले चीनसँग २०२५ भित्र युद्धको सामाना गर्नुपर्ने भन्दै तयार हुनुपर्ने आन्तरिक 'मेमो' जारी गरेका थिए।

अमेरिकी सेनाले कंग्रेसलाई चीनसँग धेरै 'ल्याण्ड बेस इन्टरकन्टिनेन्टल रेन्ज मिसाइलद लन्चर' भएको रिपोर्ट गरेको र यो पछिल्लो डिबेट अमेरिकाले कसरी त्यसलाई प्रतिक्रिया दिन्छ भन्नेमा केन्द्रीत भएको वालस्ट्रिट जर्नललाई उदृत गर्दै ग्लोवल टाइम्सले भनेको छ।

यता युएस मरिन कर्पका पूर्व इन्टेलिजेन्स अफिसर स्कट रिटरले अमेरिकी राजनीतिज्ञहरुले चीनको भय देखाउँदै चीन विरोधी गतिविधिमा जनताको समर्थन खोजिरहेको बताएका छन्। 

ग्लोबल टाइम्ससँगको एक अन्तर्वार्ताका क्रममा उनले अमेरिकाले यस्तै भय इराकमा सद्दाम हुसेनको नाममा देखाएको बताए। त्यस्तै रसियनविरुद्ध र अहिले आएर चीनविरुद्ध अमेरिकी जनतामा भय उत्पन्न गरि चीन विरोधी गतिवधिमा समर्थन खोजिरहेको उनले बताएका छन्।

'दुर्भाग्य भन्नुपर्छ चीनको विषयमा पनि त्यस्तै हुँदैछ जहाँ अमेरिकी सरकारले जे जे नराम्रो चीनको बारेमा बताउँदै छन् र अमेरिकी जनताले यसलाई स्वीकार गर्नेछन्,' उनले भनेका छन्। 

उनले बेलुन वास्तवमै सुरक्षा चुनौती नभएको र यसलाई अमेरिकी राजनीतिज्ञले राजनीतिकरण गरेकोसमेत आरोप लगाएका छन्। 

पछिल्लो पटक लामो समय देखि चल्दै आएको चीन-अमेरिकी तनावलाई नयाँ शीत युद्धको रुपमा पनि व्याख्या गरिँदै आएको छ।  रिटरले यसलाई भने अस्वीकार गरेका छन्। यद्यपि, यसले केही उपलब्धी हासिल नहुने उनको भनाइ छ।

'यो एउटा राजनीतिकरण गरिएको मुद्दा हो। समय बित्दै जाँदा अर्को यस्तै केही घट्ने छ। फेरी राजनीतिज्ञहरु त्यता दौडिने छन्। यो नयाँ शीत युद्धको सुरुवात होइन्,' उनले भनेका छन्। 

रिटरको भनाइलाई केही आर्थिक तथ्यांकहरुले पनि पुष्टि गर्न सक्छ। हाल अमेरिकाको सबैभन्दा धेरै वैदेशिक व्यापार चीनसँग छ। त्यस्तै, अमेरिकी सेक्युरिटी बन्डमा चिनियाँ लगानी पनि उत्तिकै छ। सन् २०२२ को नोभेम्बर सम्मको तथ्यांक अनुसार चीनले ८७० बिलियन डलर बराबरको अमेरिकी ट्रेजरी सेक्युरिटी 'होल्ड' गरेको छ। 

यस्तो अवस्थामा शीत युद्धको अवस्था आएमा चीनले अमेरिकी अर्थतन्त्रलाई गिराउन सक्छ। चीनले यी ट्रेजरीलाई 'डम्प' गर्न सक्ने र यसैलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने डरमा अमेरिकी विश्लेषकहरु छन्। यस्तो अवस्थामा ब्याजदर बढ्ने र आर्थिक वृद्धिदरमा ठूलो नोक्सानी पुग्ने छ। त्यति मात्र होइन यसको असर चिनियाँ अर्थतन्त्रमा पनि पर्ने छ। त्यसैले दुबै देशले हार्ने खेल खेल्ने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell