PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पार्किङ हटाएको महानगरको नजर खुलामञ्चमा मात्रै, काठमाडौंमा अरु कहाँ हुन सक्छ विकल्प?



शुक्र गिरी

पार्किङ हटाएको महानगरको नजर खुलामञ्चमा मात्रै, काठमाडौंमा अरु कहाँ हुन सक्छ विकल्प?
FILE PHOTO

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमै हुँदै आएको पार्किङ हटाए पनि वैकल्पिक व्यवस्था भने गर्न सकेको छैन। वैकल्पिक व्यवस्था दिन नसक्दा निजी पार्किङ व्यवसायीले मनपरी शुल्क लिन थालेका छन्। दरबारमार्ग, बागबजार, न्युरोड लगायतका क्षेत्रबाट पार्किङ हटाएको महानगरले अहिलेसम्म पनि स्थायी रुपमा पार्किङ स्थलको टुंगो लगाउन सकेको छैन। त्यसैले निजी सवारी साधन भएकाहरुले सास्ती भोग्न थालेका छन्।

महानगर मात्रै होइन नगर विकास कोषले समेत एक वर्ष अघि बहुतले मेकानिकल पार्किङ निर्माणको योजना अघि सारेको थियो। सो योजना अनुसार कोषले टेन्डर पनि आह्वान गरेको थियो।

तर, उपत्यकामा जग्गा उपलब्ध नहुँदा बहुतले मेकानिकल पार्किङ निर्माण अलपत्र परेको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बताउँछन्।

‘जग्गा उपलब्ध नभएका कारण हाम्रो उपत्यकामा निर्माण गर्ने भनिएको पार्किङ योजना सफल हुन सकिरहेको छैन,’ उनले भने, ‘निजी क्षेत्र इच्छुक छन्। तर जग्गा छैन। सरकारी जग्गा जति पनि खाली छन् तर कुनै निकाय इच्छुक छैनन्।’   

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले इच्छा देखाएको थियो। तर पछि पार्किङ निर्माणको लागि तोकिएको मापदण्ड पूरा नभएपछि खाद्य संस्थान पनि पछि हटेको सापकोटाले बताए। सोल्टीमोडबाट पनि आवेदन परेको थियो। तर यसमा पनि जग्गाकै समस्याले गर्दा उनीहरु पनि यस योजनाबाट पछि हटेका छन्।

 पार्किङका बारेमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँग पनि छलफल भएको उनले बताए।

‘पार्किङका बारेमा ललितपुर र काठमाडौं महानगरका मेयरहरुसँग छलफल भएका छन्,’ उनले भने, ‘तर ठोस टुंगोमा पुग्न सकिएको छैन।’

महानगर देख्यो खुलामञ्चलाई मात्रै विकल्प

महानगरले भने पार्किङ व्यवस्थापनको लागि खुलामञ्जमा मात्र पार्किङ निर्माण गर्ने विकल्प अगाडि बढाएको छ। तर सांस्कृतिक पक्ष जोडिएको खुलामञ्चमा पार्किङको विरोध भइरहेको छ। 

महानगरले खुलामञ्चमा पार्किङ निर्माणको लागि सम्भाब्यता अध्ययन गर्ने गरि काम अगाडि बढाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले सबैको सहमति भए मात्रै खुलामञ्चमा पार्किङ निर्माण हुने स्वीकार्छन्।

‘हामीले अहिले डिजाइन तथा सम्भाब्यता अध्ययन मात्रै गर्ने हो,’ उनले भने, ‘सबै निकायको सहमति भए मात्र खलामञ्चमा पार्किङ निर्माण हुन्छ।’

उनका अनुसार महानगरले खुलामञ्च बाहेकको पार्किङ विकल्प हेरेको छैन। तर, खुलामञ्चमा कुनै पनि हालतमा पार्किङ बनाउन नदिने अभिन्यता र स्थानीय बताउँछन्। खुलामञ्च विशाल टुँडिखेलको अभिन्न अंग हो। टुँडिखेल नै खुल्ला हुनुपर्ने माग उठिरहेको बेला खुलामञ्चमा पार्किङ अस्वीकार्य भएको अभिन्यता बताउँछन्।

सम्बन्धित सामाग्री: एसियाकै विशाल 'परेड मैदान टुँडिखेल': कसरी पर्‍यो राणा, राजा, सेना र गणतन्त्रको अतिक्रमणमा

नगर विकाससँग सहकार्यको विकल्प

यसैगरि, उपत्यकामा ललितपुर र काठमाडौं महानगरले नगर विकास कोषसँगको सहकार्यमा अन्य स्थानहरुमा नयाँ बहुतले पार्किङ निर्माण गर्ने सक्ने सापकोटाले बताए।

‘महानगरहरुले खाली जग्गालाई व्यवस्थापन गरेर पार्किङ निर्माण गर्ने सक्नेछन्,’ उनले भने, ‘महानगरहरुले सरकारको खाली रहेका जग्गालाई सरकारसँग कुरा गरे जग्गा उपलब्ध गराउन सक्नेछन्। यस बारेमा महानगरहरुले सोच्ने बेला आएको छ। पार्किङ व्यवस्थापन आजभन्दा भोलि झन् चुनौती बन्नेछ।’

उपत्यकामा खुलामञ्चमा मात्र पार्किङ निर्माण गर्नुपर्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ।

‘महानगरले आफुले नगरे पनि निजी क्षेत्रलाई समेत जग्गा उपलब्ध गराएर कोषले बनाइदिने पार्किङ निर्माण गर्न सक्नेछ,’ उनले भने, ‘महानगरले उनीहरुलाई एउटै नेटवर्कमा राखेर संचालन समेत गर्न सक्नेछ।’

उनका अनुसार उपत्यकाका रिभर करिडोर, कुनै संस्थानहरु तथा सरकारी कार्यालयहरुका धेरै स्थानमा भएका खाली जग्गामा पार्किङ निर्माण गर्ने सकिन्छ। यो पार्किङ निर्माण गर्न एक रोपनी जग्गा भएपनि पुग्छ। कम्तीमा १२ आनाभन्दा धेरै भयो भने व्यवसायिक हिसाबले राम्रो हुने सापकोटा बताउँछन्। यसमा कोषले ऋण सहयोग गर्नेछ।

‘त्यसैले महानगरहरुले कोषको सहकार्यमा पार्किङहरु निर्माण गर्न सक्नेछन्,’ उनले भने, ‘उदाहरणको लागि बबरमलमा रहेको वन विभागको एक रोपनी जग्गामा यो पार्किङ निर्माण गर्न सकियो भने सहज हुन्छ। थापाथलीको खाद्य संस्थानको जग्गामा पनि निर्माण गर्न सकिन्छ। दरबारमार्गमै धेरै खाली जग्गाहरु छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell