काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेश गर्ने कार्यसूची रहेको छ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गरिनेछ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धनका लागि भन्दै सरकारले विधेयक अघि बढाएको हो। संघीय संसदको चालु अधिवेशनमा प्रतिनिधि सभामा दर्ता भएको यो पहिलो विधेयक हो।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानुन समयमै नबन्दा नेपालमा निगरानीको जोखिम बढेको भन्दै सरकारले संसदको चालु अधिवेशनमा प्राथमिकतामा आधारमा विधेयक दर्ता गरेको हो।
दर्ता विधेयकले निकासी सम्पत्ति शुद्धीकरण निवारण ऐनसँगै, पैठारी ऐन, मालपोत ऐन, पानीजहाज दर्ता ऐन, पर्यटन ऐन, भवन ऐन, राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, दामासाही सम्बन्धी ऐन, धितोपत्र सम्बन्धी ऐनलगायतका १९ ऐनका विभिन्न प्रावधान संशोधन गर्नेछ। 'फास्ट ट्रयाक'मा अघि बढाउने गरि विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको हो।
यस्तै, आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७८ माथि विचार गरियोस्' भनी प्रस्ताव पेश गर्नेछिन्।
बैठकमा सांसदहरुले यी विधेयकमाथि आफ्नो राय व्यस्त गर्नेछन्।