PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘गोल्डेन डन अपरेशन’ : भारतभरबाट सय किलो बढी सुन जफत, यस्तो छ तस्करीको नेपाल कनेक्सन



सविन ढकाल

‘गोल्डेन डन अपरेशन’ : भारतभरबाट सय किलो बढी सुन जफत, यस्तो छ तस्करीको नेपाल कनेक्सन
Photo: PIB/ANI

काठमाडौं : भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले सुन तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नेपाल-भारतको सीमाबाट सुडानी नागरिकलाई नियन्त्रणमा लिएको डीआरआईको दाबी रहेको छ।

गोल्डेन डन अपरेशन’ नाम दिएर डीआरआईले सञ्चालन गरेको अपरेशनमा भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद भएको छ। त्यस्तै, तस्कर समूहका १० जनालाई नियन्त्रणमा लिइएको छ। जसमा ७ जना सुडानी नागरिक र तीन जना भारतीय रहेका छन्।

यो सुन तस्करीको कनेक्सन नेपालसम्म देखिने भारतीय पक्षको दाबी छ। त्यसो त नेपाल प्रहरीले गरेका अहिलेसम्मका सुन तस्करीका घटनामा तस्करी गरेको सुन भारत जाने र लगानी पनि भारतीय नागरिकको हुने गरेको खुल्दै आएको छ।

भारतको पटना, पुणे र मुम्बईबाट सुन जफत गरिएको हो। सोही अपरेशनमा १ करोड ३५ लाख भारतीय तथा विदेशी मुद्रा समेत बरामद भएको जानकारी दिएको छ।

डीआरआईको अनुसन्धानको क्रममा सुनलाई झोल बनाएर नेपालको सिमाबाट भारत पुर्‍याइएको देखिन्छ। त्यसपछि बस र रेलको माध्यमबाट भारतका विभिन्न ठाउँमा पुर्‍याउने गरिएको छ।

नेपाल प्रहरीले पनि त्रिभुवन विमानस्थलबाट सुनलाई विभिन्न आकार, रंग तथा झोल बनाएर ल्याएको अवस्थामा बरामद गर्दै आएको छ। नेपालमा धेरैजसो सुन दुबईबाट भित्रिने गरेको अघिल्ला घटनाले देखाएका छन्। भारतमा बरामद भएको सुनको प्रकृति पनि नेपालमा बरामद हुने गरेको तस्करीको ट्रेन्डसँग मिल्दोजुल्दो देखिएको छ।


१९ किलो लेदो सुन बोकेर नेपाल आएका सुडानी युवाको बयान, ‘नेपालबाट सुन भारत लैजाने योजना थियो’


डीआरआईले आइतवार राति तीन सुडानी नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरु भारतको पटना रेल स्टेशनमा मुम्बई जानको लागि तयार रहेको अवस्थामा पक्राउ परेका थिए। उनीहरुले विषेश तस्करीको लागि बनाएको ज्याकेटमा ४० वटा प्याकेटमा ३७ किलो सुन लुकाएका थिए। सुनको पेस्ट बनाएर राखिएको थियो।

उनीहरुलाई पक्राउ गरेपछि डीआरआईले आफ्नो अपरेशन जारी राखेको थियो। सोही क्रममा पक्राउ परेकाहरुको प्रारम्भिक बयानको आधारमा अन्य सुडानी नागरिकलाई समेत डीआरआईले नियन्त्रणमा लियो। सोमवार दुई महिलालाई साढे ५ किलो सुनसहित पक्राउ गर्न डीआरआई सफल भएको थियो। उनीहरु सुन लिएर हैदराबादबाट मुम्बई गइरेका थिए।

सोही समयमा डीआरआईले अर्को अपरेशन पनि जारी थियो। पटनाबाट मुम्बई गइरहेको बसमा खानतलासी गर्दा दुई सुडानी नागरिकको साथबाट साढे ३८ किलो सुन भेटिएको थियो। ४० वटा प्याकेटमा राखिएको अवस्थाममा उक्त परिमाणको सुन भेटिएको हो।

सुन तस्करीको कनेक्सन नेपालमा!

नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म सुन तस्करी हुने गरेको पुष्टि अघिल्ला घटनाहरुले गरेका छन्। भारतीय नागरिकको लगानीमा विदेशी नागरिक समेत प्रयोग गरेर विमानस्थलबाटै सुन तस्करी हुने गरेका छन्।

पछिल्लो समय सुडानी नागरिकको प्रयोग हुन थालेको छ। गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल भन्सार कार्यालयको टोलीले अवैध सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको थियो। भारतमा आइतवार बरामद भएको शैलीमा नै सुडानी नागरिकले सुन ल्याएका थिए।

पुस ८ गते सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्दिनले कम्मरमा बाँधेर सुनलाई अर्थठोस बनाएर नेपाल ल्याएका थिए। भन्सार कार्यालयले पक्राउ गरेपछि २५ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार भन्सारले दुई सुडानी नागरिकको अध्ययन सकेर मुद्दा सरकारी वकिललाई बुझाएको थियो।

उक्त मुद्दामा अध्ययन नपुगेको भन्दै सरकारी वकिलको रायअनुसार नै सीआइबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो। व्यूरोको अनुसन्धानमा सुन ल्याउने सुडानी नागरिक भरिया भएको खुलेको थियो।

तर, तस्करीमा भारतीय नागरिकको संलग्नता भएको खुलेको छ। जुन घटनाको पहेली भारतमा समातिएका सुन तस्करसँग पनि मिल्ने देखिन्छ।

‘हाम्रो अनुसन्धानमा सुन भारत जाने र भारतीय नागरिकको पनि संलग्नता भएको प्रारम्भिक रुपमा देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

उनले विदेशबाट ल्याएको १९ किलो सुन लिन आएका अर्का सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए। पक्राउ परेका अहमद मोहम्मद इब्राहिम मोहम्मदले दुबई हुँदै नेपाल आएको सुन भारत लग्ने जिम्मेवारी पाएका थिए।

उनले यसअघि पनि भारत सुन लगेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनको बयानको क्रममा भारतीय नागरिकको संलग्नता भएको खुलेको थियो। भारतीय पक्षले सुन बरामद भएपछि नेपाल प्रहरीसँग पनि जानकारी लिएको थियो।

केही समयअघि नेपालमा सुन ल्याउने सुडानी र भारतमा समातिएकाहरुको प्याटर्न एउटै देखिएको थियो। त्यसैले सुन तस्करीको नाइके एउटै हुनसक्ने आशंका बढेको छ।

कानुन, सुरक्षाको कमजोरी र खुल्ला सिमानाको फाइदा लिँदै सुन तस्करीले नेपाली भुमीलाई ट्रान्जिट बनाएर तस्करी गर्ने गरेका छन्। जसमा नेपालका केही व्यापारीदेखि प्रहरीको संलग्नता भएको आरोप समेत लाग्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell