PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारतमा जफत गरिएको १०१ किलो सुन : ट्रान्जिट कनेक्सन नेपालसँग, पूर्वी नाका हुँदै लगेका थिए सुडानी नागरिकले?



सविन ढकाल

भारतमा जफत गरिएको १०१ किलो सुन : ट्रान्जिट कनेक्सन नेपालसँग, पूर्वी नाका हुँदै लगेका थिए सुडानी नागरिकले?

काठमाडौं : आइतबारदेखि भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले गरेको ‘गोल्डेन डन अपरेसन’ नेपालसँग जोडिएको आशंकामा अनुसन्धान सुरु गरेको छ।

निर्देशनालयले आइतबार र सोमबार गरेको अप्रेसनमा १ सय १ किलो सुन बरामद गरेको थियो। जसमा ७ जना सुडानी नागरिकसहित ३ जना भारतीय नागरिक पनि पक्राउ परेका छन्।

नेपालको सीमा नजिकै समातिएका उनीहरुको कनेक्सन नेपालसँग पनि देखिएपछि अनुसन्धान सुरु भएको हो। तस्करीमा संलग्नको बयान, तस्करीको शैली, पक्राउ परेका व्यक्तिहरुको विवरणको आधारमा नेपाल 'कनेक्सन' खुलेको छ। केही दिनअघि भारतीय पक्षले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग सुन तस्करीको बारेमा जानकारी लिएको थियो। जसमा नेपालमा केही साताअघि समातिएका सुन तस्कर र भारतमा समातिएका तस्करहरुको धेरै कुरा मिल्दोजुल्दो देखिएको छ।

गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल भन्सार कार्यालयको टोलीले अवैध सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको थियो। भारतमा आइतवार बरामद भएको शैलीमा नै सुडानी नागरिकले। सुन ल्याएका थिए सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सारा फेल्दिनले कम्मरमा बाँधेर सुनलाई अर्धठोस बनाएर नेपाल ल्याएका थिए। भन्सार कार्यालयले पक्राउ गरेपछि २५ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ।

सोहीअनुसार भन्सारले दुई सुडानी नागरिकको अध्ययन सकेर मुद्दा सरकारी वकिललाई बुझाएको थियो। मुद्दामा अध्ययन नपुगेको भन्दै सरकारी वकिलको रायअनुसार नै सीआइबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो। अहिले प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ।

‘पक्राउ परेको व्यक्ति भरिया भएको देखिन्छ। जसको कनेक्सन केलाउँदा भारतीय नागरिकसँग भेटिन्छ,’ ब्युरोका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने।

उनले विदेशबाट ल्याएको १९ किलो सुन लिन आएका अर्का सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। पक्राउ परेका अहमद मोहम्मद इब्राहिम मोहम्मदले दुबई हुँदै नेपाल आएको सुन भारत लैजाने जिम्मेवारी पाएका थिए। ती व्यक्तिमाथि प्रहरी अनुसन्धान गर्दा भारतसँग कनेक्सन देखिएको छ। उनले यसअघि पनि विदेशबाट आएको सुन सडक मार्ग प्रयोग गरेर भारत पुर्‍याएको खुलेको छ। झापा र मोरङको भारतीय सीमा नाका प्रयोग गरेर काठमाडौंबाट सुन लिएर नाका हुँदै भारत लैजान सफल भएको देखिएको छ। यस घटनामा भारतीय नागरिकको संलग्नता देखिएको छ। तर नेपालीहरुको संलग्नता भने खुलेको छैन।

काठमाडौंबाट सीमा नाका झापा र मोरङसम्म ठूलो परिमाणमा सुन पुर्‍याउन एक सुडानी नागरिकलेमात्र सक्ला? यसको जवाफ प्रहरीले खोजी रहेको छ। नेपाललाई ट्रान्जिट बनाएर हुने सुन तस्करीमा काँही न काँही नेपालीहरुको संलग्नता देखिँदै आएको छ। यो घटनामा पनि प्रहरीले नेपालीको संलग्नता खोजी रहेको छ।

‘नेपालीको संलग्नता पनि हुनसक्ने आशंकामा अनुसन्धान गरेका छौं,’ ब्युरोका प्रमुख एआइजी सुवेदीले भने।

प्रहरीको अनुसन्धानमा सुडानी नागरिकको केही नेपालीसँग सम्पर्क देखिएको थियो। फोन नम्बर र अन्य आधारलाई केलाउँदा केही होटलका कर्मचारीदेखि ट्याक्सी चालकसम्म सम्पर्क भेटिएको थियो। उनीहरुसँग पनि प्रहरीले सामान्य अनुसन्धान गरेको थियो। तर त्यो भन्दा माथिल्लो तहसम्म कनेक्सन खोजी जारी छ।

‘गोल्डेन डन अपरेसन’ नाम दिएर डीआरआईले सञ्चालन गरेको अपरेसनमा भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद भएको छ। त्यस्तै, तस्कर समूहका १० जनालाई नियन्त्रणमा लिइएको छ।

भारतको पटना, पुणे र मुम्बईबाट सुन जफत गरिएको हो। सोही अपरेसनमा १ करोड ३५ लाख भारतीय तथा विदेशी मुद्रासमेत बरामद भएको जानकारी दिएको छ। डीआरआईको अनुसन्धानको क्रममा सुनलाई झोल बनाएर नेपालको सीमाबाट भारत पुर्‍याइएको देखिन्छ। त्यसपछि बस र रेलको माध्यमबाट भारतका विभिन्न ठाउँमा पुर्‍याउने गरिएको छ।

डीआरआईले आइतवार राति तीन सुडानी नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरु भारतको पटना रेल स्टेसनमा मुम्बई जान तयार रहेको अवस्थामा पक्राउ परेका थिए। उनीहरुले विशेष तस्करीको लागि बनाएको ज्याकेटमा ४० वटा प्याकेटमा ३७ किलो सुन लुकाएका थिए। सुनको पेस्ट बनाएर राखिएको थियो।

उनीहरुलाई पक्राउ गरेपछि डीआरआईले आफ्नो अपरेसन जारी राखेको थियो। सोही क्रममा पक्राउ परेकाहरुको प्रारम्भिक बयानको आधारमा अन्य सुडानी नागरिकलाई समेत डीआरआईले नियन्त्रणमा लियो। सोमवार दुई महिलालाई साढे ५ किलो सुनसहित पक्राउ गर्न डीआरआई सफल भएको थियो। उनीहरु सुन लिएर हैदराबादबाट मुम्बई गइरहेका थिए।

सोही समयमा डीआरआईको अर्को अपरेसन पनि जारी थियो। पटनाबाट मुम्बई गइरहेको बसमा खानतलासी गर्दा दुई सुडानी नागरिकको साथबाट साढे ३८ किलो सुन भेटिएको थियो। ४० वटा प्याकेटमा राखिएको अवस्थामा उक्त परिमाणको सुन भेटिएको हो।

नेपालमा हुने सुन तस्करीमा ठूला व्यापारीदेखि कर्मचारीसम्मको संलग्नता रहेको आरोप लाग्दै आएको छ। केही घटनामा पुष्टि पनि भएका छन्। त्यसैले पनि नेपाल तस्करीको ट्रान्जिट भएसँगै नेपालीको संलग्नता रहेको आशंकामा बल पुगेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell