PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

माओवादी पृष्ठभूमिका ८ दलको चेतावनी : शान्ति सम्झौता विपरितका गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं



पहिलोपोस्ट

माओवादी पृष्ठभूमिका ८ दलको चेतावनी : शान्ति सम्झौता विपरितका गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं

काठमाडौं : माओवादीधारका पार्टीहरुले शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने जनाएका छन्। संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर भएको उनीहरुको भनाइ छ।

'शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं,' प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका पार्टीको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्ने पनि उल्लेख गरिएको छ।

'शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं,' माओवादी धारका पार्टीले भनेका छन्।

माओवादीबाट विभाजन भएर बनेका ८ दलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

तीन वर्षअघि माघिका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने  अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो। त्यसपछि माओवादीधारका पार्टीहरुबिच छलफल बढेको छ। फागुन २१ गते माओवादी धारका विभिन्न ६ नेताले प्रचण्ड विरुद्ध मुद्दा चलाउने भन्दै अदालतले दिएको आदेशको बिरोध गरेका थिए। माओवादी केन्द्रले पनि विज्ञप्ति जारी गरेर अदालतको आदेशको विरोध गरेको थियो। २१ गते नै बालुवाटारमा बसेको ८ दलीय गठबन्धनको बैठकले पनि शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन कानुन बनाउन तयार भएको बताएका थिए।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल 'आहुति', नेकपा (माओवादी समाजवादी) अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले विज्ञप्ति जारी गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell