PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

खेलाडी र व्यवस्थापनको आलोचना गरेका प्रशिक्षक कोन्टेले टोटेनहम छाडे



पहिलोपोस्ट

खेलाडी र व्यवस्थापनको आलोचना गरेका प्रशिक्षक कोन्टेले टोटेनहम छाडे
Getty Images

खेलाडी र क्लब व्यवस्थापनको आलोचना गरेका इङ्ग्लिस क्लब टोटेनहम हट्सपरका प्रशिक्षक एन्टोनियो कोन्टेले टोटेनहम छाडेका छन्। १६ महिना प्रशिक्षक सम्हालेका कोन्टेले आपसी समझदारीमा क्लब छाडेको बीबीसीले जनाएको छ।

कोन्टेले टोटेनहमले साउथह्याम्टनसँग निराशाजनक बराबरी खेलेपछि खेलाडीलाई 'स्वार्थी' भएको र व्यवस्थापनले केही सुधार नगर्न नसकेको आरोप लगाएका थिए।

'टोटेनहमको कथा उही छ। २० वर्षदेखि एउटै टिम मालिक छन् तर अहिलेसम्म केही जित्न सकेको छैन, किन?' उनले प्रश्न गरेका थिए।

उनले टोटेनहमको म्यानेजरको जिम्मेवारीमा बस्नु कठिन नहुने भन्दै 'टोटेनहमले प्रशिक्षक परिवर्तन गर्न सक्ने तर, त्यसले अवस्था परिवर्तन नहुने' स्पस्ट पारेका थिए।

'अहिलेसम्म म चुप लागेर बसेँ, तर अब बस्दिनँ। मैले आजको खेलमा जे देखेँ त्यो फेरि देख्न चाहन्नँ। यो समर्थकका लागि पनि अस्वीकार्य छ।' उनले भनेका थिए।

टोटेनहम लिगको शीर्ष चारभित्र रहेपनि अन्य सबै प्रकारको प्रतियोगिताबाट बाहिरिसकेको छ।

टोटेनहमको प्रशिक्षकको जिम्मेवारी अब हालका सहायक प्रशिक्षक क्रिस्टियन स्टेल्लिनीले सम्हाल्ने छन् भने पूर्व मिडफिल्डर रायन म्यासन उनको एसिस्टेन्ट हुनेछन्।

सम्बन्धित समाचार: बराबरीपछि 'स्वार्थी' भन्दै व्यवस्थापन र खेलाडीको आलोचनामा उत्रिए प्रशिक्षक कोन्टे: टोटेनहमले किन ट्रफी जित्न सकेन?

टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले १० वटा खेल अझै बाँकी रहेको र च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने अवसर अझै रहेको बताएका छन्। कोन्टेको बहिर्गमनसँगै सन् २०१९ मा माउरिसियो पोचेटिनोले क्लब छाडेयता चौथो प्रशिक्षकको खोजीमा हुनेछ। चेल्सी, इन्टर मिलान र युभेन्टसलाई लिग च्याम्पियन बनाउन सफल कोन्टेलाई टोटेनहमले सन् २०२१ को नोभेम्बरमा प्रशिक्षक नियुक्त गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell