PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल



पहिलोपोस्ट

खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल
फाइल फोटो

काठमाडौं : नेपाली फुटबल टोली एक प्रकारले संक्रमणकालीन अवस्थासँग जुधिरहेको छ। सँधैजसो राष्ट्रिय टोलीमा देखिने अनुहारहरु एयरपोर्टमा खादा लगाएको सामान्य घटनाक्रम जस्तै देखिन थालिसकेको छ। यस्तोमा प्रशिक्षक पनि नयाँ हुँदा नेपाली टोली सन्तुलन बनाउन संघर्ष गरिरहेको छ।

पछिल्लो समय नेपाली टोलीले प्रधानमन्त्री थ्री नेशन्स कप खेलिरहेको छ घरेलु मैदान दशरथ रंगशालामा। अघिल्लो वर्षमात्र ४५ खेलाडीले प्रतिबन्ध ब्यहोरेको लाओस र फिफा वरीयतामा पछाडि रहेको भुटानलाई आमन्त्रण गरेर एन्फाले थ्री नेशन्स कप आयोजना गरेको छ

जसमा नेपालले पहिलो खेलमा लाओसमाथि २-१ को जित निकाल्दा दोस्रो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो। शुक्रवार फाइनल खेल हुँदैछ नेपाल र लाओसबिच। टिमभित्र समन्वय बनाउन संघर्ष गरिरहेको नेपाली टोलीलाई फाइनलमा प्रदर्शन सुधार्ने दबाब त्यतिकै छ।

‘नेपालसँगको पहिलो खेल राम्रो भएको थियो। फाइनलमा अझ राम्रो खेल्नेछौँ’, लाओसका प्रशिक्षक माइकल वाइसले बिहीवार फाइनल अघिको पत्रकार सम्मेलनमा भएका थिए, ‘हामी सधैँ नतिजा चाहन्छौँ। मैले एक वर्ष अघि लाओस आएर धेरै कुरा फेरेको छु। टिमलाई 'स्टेबल' बनाएको छु।’

उनले अघि भने : नेपालमा कोच आएको धेरै भएको छैन। धेरै खेलाडी बाहिरिएका छन्। घरेलु मैदानमा उनीहरु उपाधिका लागि ‘फेवरेट’ हुनेछन्।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पनि उपाधिका लागि खेल खेल्ने बताए।

उनले भने, ‘फाइनल इज फाइनल।’

नेपाली टोलीका कप्तान किरण चेम्जोङले चुनौतीपूर्ण समयमा नेपाली फुटबल रहेको भन्दै यो समयमा च्याम्पियन बन्नुले धेरै अर्थ राख्नुपर्ने बताएका छन्।

‘हामी मानसिक रुपमा तयार छौँ। केही 'टफ' हुन्छ भन्ने मलाइ लागेको छ’, चेम्जोङले भने, ‘फिफा डेमा नभए पनि हामी फाइनल पुगेका छौँ। यो उपलब्धि महत्वपूर्ण हुनेछ। अहिलेको सिनारियोमा जित्न महत्वपूर्ण छ।’

टिममा नयाँ खेलाडी धेरै भएकाले दिन प्रतिदिन सुधार गरेर लैजानुपर्ने अवस्था रहेको उनले बताए।

‘चुनौतीपूर्ण समय छ। मैले अस्ति पनि भनेको छु टिम सम्हालेर लैजानुपर्ने अवस्था छ’, उनले भने, ‘धेरै जसो खेलाडीले राष्ट्रिय टोलीमा धेरै खेलेको छैन। मेन्टल्ली जे छ त्यसलाई स्वीकार गर्नै पर्छ। हामीले दिन प्रतिदिन सुधार गर्दै लैजानुपर्नेछ।’

फाइनल खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित हुने एन्फाले जनाएको छ। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ।

थ्री नेशन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीलाई ५०० डलर गरी पुरस्कारमा ९५०० सय डलर खर्च हुने एन्फाले जनाएको छ।

यसको खर्च राष्ट्रिय खेलकुद परिषद्ले उठाउने छ। त्यस्तै, फिफाबाट आउने रकमबाट २५ सय डलर पनि प्रतियोगितामा खर्च हुनेछ। प्रतियोगिताका लागि १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell