PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

‘प्रसाद २’ को प्रचारमा कलाकारको साथ नपाउँदा के भन्छन् निर्देशक थापा?



पहिलोपोस्ट

‘प्रसाद २’ को प्रचारमा कलाकारको साथ नपाउँदा के भन्छन् निर्देशक थापा?

काठमाडौं: सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ आगामी शुक्रवारबाट प्रदर्शन हुँदैछ। यसैबिच, निर्देशक थापाले मुख्य कलाकारहरु अन्य फिल्मको छायाङ्कनमा व्यस्त हुँदा प्रसाद २ को प्रचारप्रचारमा कमी आएको गुनासो पोखेका छन्।

फिल्मको प्रचारप्रसारमा निर्देशक तथा प्राविधिकभन्दा कलाकारहरुको नै भूमिका बढी हुने सुनाउँछन् थापा।

‘हामी पर्दा पछाडिका मानिसहरु प्राविधिकहरु प्रमोसनमा लाग्ने होइन जस्तो लाग्छ। प्रमोसन पर्दामा आउने मानिसहरुले गर्ने हो। त्यही भएर त फिल्मको पोस्टरमा कलाकारहरुको फोटो राखिन्छ। नत्र त निर्देशक, लेखक र क्यामेराम्यानको फोटो राख्नुपर्ने हो। किनभने दर्शकहरु कलाकारहरुलाई हेर्न चाहन्छन। कलाकारको माध्यमबाट हाम्रो काम भनिएको हुन्छ। पर्दामा आउने मानिसहरु दर्शकसँग छिटो नजिक हुन्छन्। उनीहरुको कुरालाई दर्शकले छिटो लिन्छन्। हामीलाई त दर्शकले नचिन्न पनि सक्छन्,’ थापाले भने।

फिल्म खेलिसकेपछि कलाकारहरुले पनि कसरी फिल्मलाई दर्शकसम्म पुर्‍याउने भन्नेतर्फ सोच्नुपर्ने उनको भनाई छ।

उनले भने, ‘विभिन्न समस्याका कारण उहाँहरुले प्रचारप्रसारमा समय दिन सक्नु भएन होला। तर, कलाकार भइसकेपछि पर्सनल र प्रोफेसनल समस्यालाई थाती राखेर यो मेरो चलचित्र हो, यसमा मैले दु:ख गरेको छु र मैले गरेको मेहनेतलाई दर्शकसम्म पुर्याउनुपर्छ भन्ने जिम्मेवारी चाँहि कलाकारमा हुनुपर्छ।’

निर्माण टिम र कलाकारहरुले एकअर्कालाई सहयोग गर्दा मात्रै फिल्म क्षेत्रमा अगाडि बढ्न सकिने उनी बताउँछन।

‘फिल्ममा काम गर्दा कहिले कलाकार कमजोर हुनसक्छन्, कहिले निर्माता। समस्या हरेक ठाउँमा छन्। हामीले एकअर्काको कमजोरीलाई स्विकार गर्दै सहयोगी भावनाले अगाडि बढ्नुपर्छ। यसरी नै टिम राम्रो बन्छ र फिल्म क्षेत्र अगाडि बढ्छ,’ उनले भने।

दैनिक प्रचारप्रसार सेलाए पनि दर्शकहरु भने ‘प्रसाद २’ बारे जानकार भएकोमा उनी ढुक्क सुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell